बंगाल खाडीबाट मनसुन छिर्‍यो,१८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान

बंगाल खाडीबाट मनसुन छिर्‍यो,१८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २८, २०७८

काठमाडौं । मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपाल सामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविदले औंल्याएका छन् ।

‘बंगाल खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसम महाशाखाले बिहीबार ‘विशेष बुलेटिन’ निकाल्दै भनेको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयोे ।  

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिड महामारीले विगतभन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ,’ उहाँले भन्नुभयो , ‘गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ, यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’यो समाचार आजको राजधानी दैनिकमा छ ।