लोकसंवाद संवाददाता | समाचार | जेठ २८, २०७८
दार्चुला । भारतले दुई दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ स्थित कल्जु क्षेत्रको बाटो भत्किएको हो । व्यासको घोडेटो बाटोमा ५।६ वर्षयता भारतीय सडकका कारण क्षति पुग्दै आएको छ ।
‘व्यासको घोडेटो महाकाली किनारैकिनार भएकाले भारतले सडक खन्दा नदीको बहाव नेपालतर्फ सरेको छ,’ कल्जुका नरेन्द्र धामीले भन्नुभयो, ‘अहिले हामीलाई गाउँ जान बाटो बन्द भएको छ । दुम्लिङ–कल्जु आवतजावत गर्न सकिएको छैन ।’ उहाँका अनुसार सडक चौडा बनाउने क्रममा विस्फोट गराउँदा ठूलो पहाड खसेर बाटो पुरिएको हो । बाटो अवरुद्ध हुँदा व्यासको छाङरु र टिंकर आवतजावत समेत बन्द भएको छ । चट्टान खस्दा मंगलबार केहीबेर महाकाली नदीसमेत थुनिएको स्थानीयले बताए । भारतले अतिक्रमित नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाउन ठाउँ–ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्दै आएको छ ।
भारतीय सडक महाकालीभन्दा आधा किलोमिटर उचाइमा छ । नेपाली बाटो भने नदीभन्दा २० मिटर माथि पर्छ । पारिबाट खसेका ढुंगा नदी साँघुरो भएकाले वारिसम्म झरेर बाटो पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार प्रहरी चौकी दुम्लिङबाट करिब दुई सय मिटर उत्तरी क्षेत्रमा पर्ने कल्जु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । घोडेटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।