बन्दीपुर समाचार  : पिप्ले–बन्दीपुर सडक कालोपत्र गरिँदै

बन्दीपुर समाचार  : पिप्ले–बन्दीपुर सडक कालोपत्र गरिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २८, २०७८

तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो । सडक विभागको  छ करोड र गाउँपालिकाको तीन करोड ६० लाख गरी नौ करोड ६० लाखको लागतमा असार महिनाभित्र सम्पन्न गर्ने कालोपत्र कार्य शुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । 

सडकको दायाँबायाँ एक/एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम शुरु भएको छ । उहाँले भन्नुभयो, “नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्र गर्न लागिएको छ ।” 

सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक छ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उहाँले बताउनुभयो । पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करिब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने पाँच किलोमिटर छ मिटरको सडक हुनेछ । 

दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनःनिर्माण गर्ने योजना छ ।
 
प्रत्येक वडा कार्यालयसम्म कालोपत्र 

बन्दीपुर गाउँपालिका मातहत रहेका छवटै वडा कार्यालयमा कालोपत्र पु¥याउने गरी काम गरेको छ । हरेक वडा कार्यालयमा कालोपत्र गर्ने अभियानअनुरुप वडा नं ६ मा जाने मार्गको करिब पाँच किलोमिटर कालोपत्र गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताउनुभयो । उक्त वडा जाने सडकको बीच भागमा केही कालोपत्र गर्न बाँकी रहेकाले तुरुन्तै सम्पन्न गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं ५ मा जाने सडक पृथ्वीराजमार्गअन्तर्गत पर्ने याम्पाबाट फराकिलो बनाई कालोपत्र गर्दै थुम्कासम्म पुगेकाले अबको केही दिनमा सम्पन्न हुने उहाँले बताउनुभयो । बाँकी चार वडामध्ये केही वडामा पुगिसकेको र कुनैको अन्तिम चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । 

दुवै खुट्टा भाँच्चिएका सञ्चारकर्मीलाई सहयोग

दुवै खुट्टा भाँच्चिएर उपचारमा रहनुभएकी सञ्चारकर्मी सुनिता डोटेल भण्डारीलाई बिहीबार नेपाल प्रेस युनियनले आर्थिक सहयोग गरेको छ । युनियनद्वारा सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरी जम्मा भएको ६२ हजार १२० बिहीबार बैंकमार्फत सहयोग गरेको हो । सुनिता घरको छतबाट खसरे दुवै खुट्टा भाँच्चिएर हाल काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारत रहेको र ठूलो रकम खर्च भएकाले चहराइरहेको घाउमा मल्हम लगाउने कार्य गरिएको नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अमराज नहर्कीले जानकारी दिनुभयो ।

युनियनले बिहीबार नै एक प्रेस विज्ञप्ति जारी गरी सहयोग सङ्कलनका क्रममा रकम प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गरेको छ । साथै घाइते सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । युनियनमा आबद्ध सञ्चारकर्मीसँग रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो । 

त्यसैगरी नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पनि सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरिरहेको छ । महासङ्घले हालसम्म करिब ४० हजार सङ्कलन भइसकेको शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिनुभयो । सङ्कलन अभियान जारी रहेकाले सङ्कलित रकम छिट्टै हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।