लोकसंवाद संवाददाता | समाचार | जेठ ३१, २०७८
काठमाडौं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा समेत भईरहेको महाशाखको भनाइ छ । महाशाखाका अनुसार सोमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षाको पनि संभावना रहेको छ। आगामी २४ घण्टा देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।