मनसुनको सुरुमै देशव्यापी बाढी पहिरोको वितण्डा र मेलम्चीको क्षति (प्रशासनको विवरणसहित)

मनसुनको सुरुमै देशव्यापी बाढी पहिरोको वितण्डा र मेलम्चीको क्षति (प्रशासनको विवरणसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०३, २०७८

कोरोना भाइरसको महामारीको सामना गरिरहेका नेपालीहरुमाथि एक्कासी मनसुनको बज्रपात आइपरेको छ । साताको सुरुदेखि नै नेपाल प्रवेश गरेको मनसुन देशैभर फैलिएको छ र ठूलो धनजनको क्षति गरेको छ । 

हरेक वर्ष बाढीपहिरोको उच्च जोखिम हुने सिन्धुपाल्चोकमा यसवर्ष पनि मनसुनको सुरुमै विपद् आइपरेको छ । लगातारको वर्षासँगै आएको पहिरोले थुनिएको मेलम्ची नदी एक्कासी फुट्दा मेलम्ची बजार डुबानमा परेकोछ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना चिनियाँ र तीन जना भारतीय नागरिक समेत छन् । मेलम्ची आयोजनामा काम गर्ने अन्य २ जन नेपाली समेत बेपत्ता छन्। निर्माणस्थलमा रहेका ७६ जनालाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्दार गरेर एक चिनियाँसहित ५ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

बाढीले मेलम्ची नगरपालिकाका करिब ६ सय र हेलम्बु गाउँपालिकाका ३०० गरी ९ सय प्रभावित बनेका छन् भने हेलम्बु गाउँपालिकाका ३ वटा र मेलम्चीमा एउटा झोलुंगे पुल, हेलम्बु गाउँपालिकामा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बाढीले बगाएको छ ।

हेलम्बु गाउँपालिका–१ नाकुत्ते भन्दा ५ मिटर माथिबाट पहिरो जाँदा मेलम्ची नदी थुनिएर ठूलो दह बनेको फुटेर बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थुनिएको मेलम्ची नदी एक्कासी पहिरोको माटोसहित बग्दा मेलम्ची बजार डुब्न पुगेको हो । 

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको पनि आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक उपलब्ध गराएको क्षतिको विवरण

 

 

 

बाढीले चार घर बगायो

गोरखाको चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ । अबिरल वर्षापछि नदीमा आएको बाढीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ । विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेका छन्।

उता म्याग्दीको मालिका गाउँपालिका–२ रुममा पहिरोले लघुजलविद्युत् परियोजनाको विद्युत् गृहसहित तीन वटा घर बगाएको छ । रुमका विभिन्न ठाउँमा करीब ३५ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । खहरेखोलामा रहेको २२ किलोेवाट क्षमताको लघुजलविद्युत् परियोजनाको विद्युत् गृहका साथै नहर र मुहानमा पनि बाढीले क्षति पु¥याएको छ । परियोजना बन्द हुँदा रुमका २५५ घरधुरी विद्युत् सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र दरबाङ र अन्य बस्ती जोड्ने सडक अवरुद्ध भएको छ । 
पहिरोपछि आएको बाढीले पात्लेखहरे लघुजलविद्युत् परियोजनाका प्राविधिक बस्ने दुईतले घर बगाएको छ । बेलीमा खेमबहादुर विकको दुईतले घर र एक वटा गोरुसहित गोठ बगाएको छ । रनबहादुर दर्जीको घर पहिराले पुरिएको छ । वडा कार्यालय पछाडिको पहिराले लुप्सीमा सात, बेलीमा तीन र हुन्नेपाखाकासहित वडाभर ३५ घरपरिवार विस्थापित भएका छन्।

जाजरकोटको जलजला पाटनमा सात बेपत्ता 

जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका–८ र ९ का सात जना बेपत्ता भएका छन् । मंगलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट दिलबहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र कृष्ण रोकाया बेपत्ता छन् । जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेका छन्।

चार जलविद्युत् आयोजनामा क्षति

अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ भने सञ्चालनमा रहेका अन्य तीन आयोजनामा आंशिक क्षति भएको छ । आयोजना सम्पन्न भएर सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर, १२ मेगावाट क्षमताको हिमालयन हाइड्रो(नार्माजुङ) र २५ मेगावाट क्षमताको अपर मादीमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द हुनुका साथै करोडौंको क्षति पुगेको छ । आगामी वर्ष विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको सुपर मादी आयोजना बाढीले सबैभन्दा बढी प्रभावित बनेको छ । आयोजनामा काम गर्ने १७० जना मजदूरलाई भने स्थानीयवासी, नेपाली सेनालगायतको पहलमा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सात अर्ब ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट एक अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ। आयोजनाको सुरुङबाहेक बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र अन्य सिभिल संरचनाहरु बाढीले बगाएको छ । 

निरन्तरको बर्षाका कारण मनाङ, डोटी, स्याङ्जा, पाल्पासहित धेरै जिल्लामा बाढी पहिरो गएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको छ । बुधबार साँझसम्मको तथ्यांकअनुुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ ।

सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । मनाङमा बाढीबाट ५३ घरमा पूर्ण र २६ घरमा आंशिक क्षति पुगेको छ । सदरमुकाम चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा झण्डै एक हजार प्रभावित भएका छन् । प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत राहत सामग्री पठाउन र उद्दार गर्न निर्देशन दिइएपनि प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेन । नासोँ गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंकमा समेत क्षति पुगेको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्गका विभिन्न सडकखण्डहरु अवरुद्ध बनेका छन् । यस्तै देशका विभिन्न जिल्लामा रहेका ग्रामीण सडक समेत बाढी पहिरोका कारण अवरुद्ध बनेका छन् । बाढी पहिरोकामा परेका सर्वसाधारण राहत र उद्दारको पर्खाइमा छन् ।