वार्ता र मुुठभेडको तयारी: बाइडेन प्रशासनको ‘इग्नोर’सँगै  अमेरिका–उत्तर कोरिया सम्बन्धमा पुनः तनाव !

वार्ता र मुुठभेडको तयारी: बाइडेन प्रशासनको ‘इग्नोर’सँगै  अमेरिका–उत्तर कोरिया सम्बन्धमा पुनः तनाव !

केशरमणि कटुवाल  |  विदेश  |  असार ०६, २०७८

उत्तर कोरियाली नेता किम जोङ–उन बेलाबेला अमेरिकाविरुद्ध कडा अभिव्यक्ति दिएर चर्चामा आउने गर्छन् । सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘बुढो मान्छे’ को संज्ञा दिएका उनले २०१८ को जुन १० मा सिंगापुरमा ट्रम्पसँग ऐतिहासिक वार्ता गरेका थिए । सन् २०१९ को फेब्रुअरीमा दोस्रो वार्ता र त्यसपछि उत्तर र दक्षिण कोरियाबीचका सीमा क्षेत्रमा समेत भेटेर छलफल गरेपनि अमेरिकासँग परमाणु हतियार निर्माण रोक्ने र अमेरिकाले आर्थिक प्रतिबन्ध फुकुवा गर्ने विषयमा ठोस प्रगति हुन सकेन । उत्तर कोरिया र अमेरिकाबीच लामो समयदेखि तित्ततापूर्ण सम्बन्ध रहँदै आएको छ । जसका कारण फेरि पनि कोरियाली प्रायद्वीपमा अशान्तिको वातावरण बन्ने खतरा देखिएको छ । यतिबेला फेरि किमले अमेरिकाविरुद्ध वार्ता र मुठभेड दुवैका लागि तयार रहनुपर्ने अभिव्यक्ति दिएका छन् । जसले गर्दा अमेरिकासँग सम्बन्ध थप चिसिने अनुमान गरिएको छ. 

 तनावको पृष्ठभूमि

कम्युनिस्ट पार्टीको शासन कायम रहेका विश्वका पाँच देशमध्ये एक हो, उत्तर कोरिया । सोभियत समाजवादी क्रान्तिको सफलतासँगै विश्वमा आएको कम्युनिस्ट लहर सोभियत सत्ताको अन्त्यसँगै कमजोर बन्यो । पुँजीवादी सत्तालाई अमेरिका नेतृत्वको पश्चिमा शक्तिको छाता मिलिरहे पनि सोभियत संघको अन्त्यसँगै कम्युनिस्ट सत्तामा विश्वव्यापी संकट पैदा भयो र समाजवादी व्यवस्थाविरुद्ध चौतर्फी हमला भयो । यही क्रममा धेरै देशमा समाजवादी सत्ता ढल्न पुग्यो । यद्यपि चीन, उत्तर कोरिया, भियतनाम क्युबा र लाओुसमा आज पनि कम्युनिस्ट पार्टीको नेतृत्वको सत्ता सञ्चालित छ । यीमध्ये उत्तर कोरियामा किमको परिवारवाद हाबी छ । 

चौतर्फी संकटबीच किमले पार्टीका शीर्ष नेतासँगको बैठकमा अमेरिकासँग वार्ता र मुठभेड दुवैका लागि तयारी गर्नुपर्ने बताएका छन् । त्यसमा पनि उनले आफूहरू मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने उल्लेख गरेका छन् ।

उत्तर कोरिया दोस्रो विश्वयुद्धको परिणामसँगै जन्मिएको हो । हिटलर तानाशाही व्यवस्था र जापानी साम्राज्यविरुद्ध दोस्रो विश्वयुद्धमा एक भएर लडेका अमेरिका र सोभियत संघबीच दोस्रो विश्वयुद्धको समाप्तिसँगै तनाव सिर्जना हुन पुग्यो । अमेरिकी कब्जामा रहेको कोरियाको दक्षिणी क्षेत्रमा निर्वाचन भएर दक्षिण कोरिया बनेपछि ९ सेप्टेम्बर, १९४८ मा उत्तर कोरिया स्थापना भयो । उत्तर कोरियालाई तत्कालीन सोभियत संघ र चीनको साथ थियो । सन् १९४८ मा उत्तर कोरियाबाट सोभियत सेना र १९४९ मा दक्षिण कोरियाबाट अमेरिकी सेना फिर्ता भएपनि यो देश सुरुदेखि नै शीतयुद्धको कोपभाजनमा पर्दै आएको छ । सन् १९५०–१९५३ सम्म भएको कोरियाली युद्धमा ठूलो क्षति भयो । यही युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङका छोरा समेत मारिएका थिए । १९५३ मा कोरियाली युद्ध सकिएपनि अझैसम्म युद्धविराम भएको छैन । स्थापनाकालदेखि नै उत्तर कोरिया पश्चिमा देशको निशानामा पर्दै आएको छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि सन् २०१८ र २०१९ मा दुई पटक उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गरे पनि त्यसपछि वार्ता अघि बढ्न सकेन ।

बाइडेन प्रशासनको ‘इग्नोर’ 

गत जनवरीमा जो बाइडेनले अमेरिकी नेतृत्व सम्हालेपछि उत्तर कोरियासँग संवाद गर्न सक्ने अनुमान गरिएको थियो । तर हालसम्म पनि अमेरिकाले उत्तर कोरियाबारे ठोस नीति बाहिर ल्याएको छैन । गत मार्चमा ह्वाइट हाउसले बाइडेनले किमलाई भेट्न नचाहेको पुष्टि गरेको थियो । यसबाट बाइडेन प्रशासनको उत्तर कोरिया नीति ट्रम्पको भन्दा फरक हुने अनुमान गर्न सकिन्छ । एकअर्कालाई धम्की दिँदै आएका ट्रम्प किमबीच २०१८ मा वार्ता भएको थियो । उनी उत्तर कोरियाली नेतासँग वार्ता गर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका थिए। अमेरिकाले प्योङयाङसँग सम्पर्कको प्रयास भएपनि सफल नभएको बताएको थियो । अमेरिका र पोर्चुगलबीच पछिल्ला करिब २ वर्षदेखिका सम्पर्कका प्रयासहरु सफल भएका छैनन् । उत्तर कोरियाको आणविक कार्यक्रम र व्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमले गर्दा दुई देशबीच लामो समयदेखि सम्बन्ध असहज छ । बाइडेन उत्तर कोरियाका लागि अमेरिकी नीतिको समीक्षा गर्ने बताएलगत्तै किमले पनि अमेरिकाप्रति आक्रामक नीति लिने संकेत दिएका थिए । उत्तर कोरियाले सन् २०१७ मा अमेरिकासम्म मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यही तनावबीच ट्रम्पसँगको वार्ताले अमेरिका–उत्तर कोरियाका साथै कोरियाली प्रायद्वीपमा लामो समयदेखिको ततावपूर्ण सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो । तर त्यसले सार्थकता पाउन सकेन । 

वार्ता र मुुठभेड दुवैको तयारी

उत्तर कोरिया यतिबेला कोरोना महामारीका कारण बाहिरी संसारको सम्पर्कभन्दा टाढा छ । अमेरिकी नाकाबन्दी र राष्ट्रसंघीय प्रतिबन्धका कारण कमजोर बनेको उत्तर कोरियाली अर्थतन्त्रमा कोरोना नियन्त्रणका लागि गरिएको सीमा नाका बन्दले झनै ठूलो प्रभाव पारेको छ । यसबीचमा उत्तर कोरियामा खाद्य संकटको अवस्था सिर्जना भएको छ । जुन कुरा पहिलो पटक किमले समेत स्वीकार गर्दै उत्तर कोरियामा खाद्य अवस्था चिन्ताजनक बनेको बताएका छन् । चौतर्फी संकटबीच किमले पार्टीका शीर्ष नेतासँगको बैठकमा अमेरिकासँग वार्ता र मुठभेड दुवैका लागि तयारी गर्नुपर्ने बताएका छन् । त्यसमा पनि उनले आफूहरू मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने उल्लेख गरेका छन् ।

बाइडेन प्रशासनबारे उनले गरेको यो पहिलो प्रत्यक्ष र कडा टिप्पणी हो । कोरियाली वर्कर्स वार्टीको बैठक प्योङयाङमा बसिरहेको छ । उत्तर कोरियाको सरकारी समाचारसंस्था केसीएनएले किमको भनाई उदृत गर्दैै भनेको छ, ‘हाम्रो देशको स्वाभिमान र स्वतन्त्र विकासको हितको रक्षा गर्नका निमित्त विशेषगरी मुठभेडको अवस्थाका लागि पूर्ण तयारी हुनुपर्ने आवश्यकता रहेको छ ।’ किमको टिप्पणी उनले देशले खाद्य अभावको समस्या भोगिरहेको औपचारिक रूपमा स्वीकार गरेको केही दिनपछि आएको हो । त्यसअघि उनले विदेशी कपडा लगाउने र विदेशी चलचित्र हेर्नेमाथि कडा कारबाहीको कानुन ल्याएका थिए । 

अमेरिकासँग तनावपूर्ण सम्बन्धबीच उत्तर कोरिया घरेलु मामिलाको समाधानको उपाय खोज्दै बाह्य संकटको सामना गर्ने तयारीमा देखिन्छ । राष्ट्रपतीय निर्वाचनअघि बाइडनले किमलाई ‘ठग’ को संज्ञा दिएका थिए । बाइडनको शपथ ग्रहण गरेको केही दिनपछि उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रसहित ठूलो स्तरको सैनिक परेड गरेको थियो । 

परमाणुतिर किमको ध्यान

अमेरिकासँगको तनावपूर्ण सम्बन्धका कारण उत्तर कोरियाले आफूलाई सुरक्षित राख्नका लागि परमाणु हतियार विकास गर्दै आएको छ । गत जनवरीमा उत्तर कोरियाली नेता किम जङ–उनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताएका थिए । वास्तममै बाइडेनको उत्तर कोरिया नीति पूर्ववर्ती ट्रम्प प्रशासनको भन्दा कठोर देखिएको छ । किमले सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । उत्तर कोरिया पानीमुनि चल्ने परमाणु जहाज (न्यूक्लियर सबमरिन) निर्माणको दिशामा अघि बढिरहेको छ । किमले भनेका छन्, ‘शत्रु शक्तिले उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म प्योङयाङले आणविक हतियार प्रयोग गर्दैन । उत्तर कोरियाली क्रान्तिका लागि सबैभन्दा ठूलो अवरोध र सबैभन्दा ठूलो शत्रु अमेरिका हो, त्यहाँ जो सुकै शक्तिमा आए पनि उत्तर कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन हुँदैन ।’ कडा आर्थिक प्रतिबन्धले पनि परमाणु हतियार विकासमा उत्तर कोरियाको गतिलाई रोक्न सकेको छैन ।