सविता बराल | साहित्य | असार १०, २०७८
हाँस्छन् शैल, मनुष्य पल्लवित छन्, बोल्छन् शिला गौरव
इन्द्रेनीमय जात, धर्म, थरले छर्छन् सुधा सौरभ
यस्तो सृष्टिकला अमूल्य निधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्नँ जननी आएँ म आएँ अब ।
मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
रोदी, मादल, धाननाच, जितिया बन्धुत्वका रक्षक
गाऔँ गान ‘सयौँ थुँगा...’ सँगसँगै आमा म आएँ अब ।
टोपी, बक्खु तयार छन्, सडकमा नाङ्गा नरोऊन् कतै
किंकर्तव्यविमूढ बन्न नपरोस् भोकाहरूले अझै
यार्चागुम्बु, चिराइतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ, म आएँ अब ।
मेरा पाउ समृद्ध छन्, शिर उँचो, छाती खुला निर्मल
सीमामा बलभद्रका कलमले गर्दै छु हस्ताक्षर
साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौला द्वार सुशान्तिका, प्रगतिका खोलेर आएँ अब ।
बोकी माथ म विश्वसाथ नउठे के काम यो शैलको
कोसीझैँ अविश्रान्त बग्न नसके के अर्थ यो सैरको
मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमा निचोर्न पसिना आमा म आएँ अब ।
ताप्लेजुङ, हाल: मध्यपुर थिमी न. पा.- ३, कौशलटार, भक्तपुर
राष्ट्रिय कविता महोत्सव, २०७८ को तृतीय कविता