युगीन प्रतिध्वनि

युगीन प्रतिध्वनि

निरन्जना कुमारी चन्द ‘निरू’  |  साहित्य  |  असार १०, २०७८

अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै                                       
भस्मासुर र भाइरसका पटकपटकका विश्वयुद्घहरू                                                        
र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका                                                            
युगीन त्रासदीहरूमा                                                                                      
छातीमा अड्याएर जीवन                                                   
पिइदिऊँ घामका लप्काहरू
छाइदिऊँ शीतलता 
सँगालेर जूनका टुक्राहरू
लाइदिऊँ माला
उनेर गुराँसका थुँगाहरू।

विशाल हृदयहरूको खानी
विश्वभूगोलको एक टुक्रा मेरो देश
धावा दिएर गाउँछ गीत वीरताको
र उचालेर चन्द्रसूर्य
म लगाउँछु सिँदुर
भुइँको एक चिम्टी माटो उठाई
गाउँछु गीत सगरमाथा उचाइको।

छोडेर विध्वंसका अस्त्रहरू
आत्मज्ञान विस्फोट गराई कोहिनुर उज्यालामा
गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको
विश्वब्रह्माण्डभर गुन्जाएर बुद्घका मन्त्रध्वनिहरू
उडाइदिऊँ सेता परेवाका जोडीहरू
रोग भोग शोक अनेक सन्नाटाहरू मेटाएर
छरिदिऊँ मानवताका सम्यक् बीजहरू।

आऊ श्रमका पुजारीहरू!
पौरखी जिजीविषा फुलाएर
फिजाइदिऊँ दायित्वका नवरङ्ग आकाशभरि
समृद्घिका आशातीत रङ्गहरू इन्द्रेणीमा
पोतिदिऊँ धर्तीमा झिकाएर
चिहानबाटै जुरमुराएर
बिहानबाटै ब्युँझिएर
रोपिदिऊँ समानताका सुन्दर बोटहरू।

जीवनका अफ्ठ्यारा आँधीहुरीहरूमा
मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै
खेलिदिऊँ पौँठेजोरी सतिसाल भएर।

उठ ए झुपडीका ताता मान्छेहरू!
सल्काइदिऊँ चिराक मूच्र्छना जगाएर
जाग ए किनारीकृत निन्याउरा मान्छेहरू!
बुलन्द गराइदिऊँ दबाइएका आवाज
पुरिदिऊँ गहिरा खाडलहरू।
                      
 

बाँसगढी ८,बर्दिया

राष्ट्रिय कविता महोत्सव २०७८ को तृतीय कवित