दिना सुवेदी | साहित्य | असार १२, २०७८
रङ्ग विहीन तस्वीर नै रङ्गीन लाग्छ
विनास्वार्थको बचपना नै प्यारो लाग्छ
गाली भित्रको स्नेह नै अपार लाग्छ
अमूर्त आकृति नै विशाल लाग्छ ।
बोली भन्दा मौनता नै भारी लाग्छ
भाका भन्दा आँखामा नै प्रेम जाग्छ
किताब भन्दा जिन्दगीका पाना नै गहन लाग्छ
चलायमान जिन्दगी पनि स्थिर लाग्छ ।
बल हुँदा समय त्यसै चिप्ली जान्छ
बल नहुँदा घडीको सूई नै ढिलो लाग्छ
समय आउला भन्दा भन्दै जीवन बिति जान्छ
हर क्षण जिउनुमा नै जिन्दगी सार्थक लाग्छ ।