किसान

किसान

रेजिना आपगाईँ  |  साहित्य  |  असार १२, २०७८

आँगनका डिलमा बसेर
आकाशका सेता
बादलका ढिकाहरू नियाल्दै
उसको प्रतीक्षामा हुन्छु म ।
जब आकाशमा कालो बादल
सलबलाउन थाल्छ
र उच्च स्वरले असारे गीत
गाउँन थाल्छन्  भ्यागुताहरू
यो मनमा त्यसै त्यसै
आशाका तारहरू बज्न थाल्छन् ।

म एकै नजरमा पढ्न सक्छु
बादलको गति र रूपरेखा
गड्याङगुडुङ गर्दै जब आकाशबाट
बर्सन थाल्छन् पानीका थोपाहरू
त्यो मेरो जिन्दगीकै सबैभन्दा
सुखद पल हुन्छ
र उत्सव मनाउँन थाल्छु म ।

खरले छाएको मेरो सानो झुपडीको
मक्किएको  छानोले थेग्न सक्दैन
पानीको बहाव
र पस्छ भल मेरो मझेरीमा ।
आधा शरीर मात्र ढाकिएका
मेरा कलिला नानीहरू
रुँदै मेरो छेउमा आउँछन्
अँगेनामा बल्दै गरेको आगो
भलले निभाइदिएपछि
बादल जस्तै अध्यारो मुख लगाएर
आउँछिन् उनी पनि,
मेरो दौराको फेर समाएर
रुँदै गरेका नानीहरूको
आँसु देख्दा पनि,
आफ्नै घरको छानो चुहिएर
मझेरीसम्म पानीको भल
बग्दा पनि
मेरो मन खुसीले गदगद हुन्छ
किनभने म किसान हुँ
र पानी किसानको प्राण हो ।

म काँधमा हलोजुवा बोकेर
हल्लुडमा गोरू नार्छु
र अविराम जोत्न थाल्छु गैरीखेत।
म भूमिरजमा एकैदिन
विश्राम गर्छु ।
यो त मुरी फलाउन
मानो छर्ने बेला हो ।
भोकभोकै खेत हिल्याई
असार पन्ध्रमा दहीचिउरा खान्छु म
यहाँ असार रोपेर
मंसिर फलाउनु छ मलाई
अनि भर्नुछ अन्नले भकारी
र रुँदै गरेका मेरा नानीहरूको
ओठमा हाँसो ल्याउनु छ मलाई

किसान पौरख र कर्म हो
किसानको  कुनै रङ र जात हुँदैन,
लिङ्ग र वर्ण हुँदैन
किसान किसान हो,
मानवहरूको अन्नपूर्ण ।
किसानको श्रम र पसिना
मानिसहरूको प्राण ।
त्यसैले
पृथ्वीको सबैभन्दा सुन्दर
प्राणी हो किसान  ।

 

 तेह्रथुम ।