कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । “पछिल्लोे दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ”, निर्देशक डा खड्काले भन्नुभयो, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”
आइसोलेशनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।