कैलाशकुमार सिवाकोटी | दृष्टिकोण | असार १३, २०७८
समय जति अगाडि बढिरहेको छ, त्यति एकथरी मानिस 'मानिस' हुन नालायक बनिरहेका छन् । मानिस जति चेतनशील प्राणी हो, उति नै स्वार्थी पनि ! सकेसम्म,पाएसम्म अर्कालाई कज्याउने, आफू ठालु बन्ने ! यही कारण जीवित छः मानव कलङ्कको रूपमा रहेको जातीय विभेद ! जस्तो हुनुपर्ने त्यस्तो छैन, जस्तो नहुनुपर्ने हो, त्यस्तो छ । मानिस जन्मदा त समान, स्वतन्त्र र कानुनबाट संरक्षित भएको मानिन्छ । व्यक्ति, वर्ग, समूह वा समुदायका बिच धर्म, वर्ण, लिङ्ग, जात, जाति, पेशा, सम्पत्ति, राष्ट्रियता वा कुनै पनि आधारमा असमान वा फरक व्यवहार गर्नु नै भेदभाव हो भने समान व्यवहार गर्नु नै समानता हो ।
धार्मिक, सांस्कतिक, जातीय वा सामाजिक आधारमा हुने विभेद घृणित, निन्दनीय कार्य हो, जसमा व्यक्ति वा समुदायलाई समाजभन्दा पृथक राख्ने र नीच व्यवहार वा हेय दृष्टिकोण र व्यवहार अवलम्बन गरिन्छ । जातविशेषको आधारमा उचनीचको व्यवहार गर्ने, आत्मसम्मान र मर्यादामा आँच पुर्याउने खालका कार्य हुन्छ । धार्मिक, सांस्कृतिक जीवनमा सहभागी हुन नदिने, सार्वजनिक सेवा तथा प्रयोजनका वस्तुहरूको प्रयोग गर्ने वञ्चित गरिन्छ । यस्ता व्यवहार वा कार्यहरू सामाजिक रूपले गलत, नैतिक रूपले निन्दनीय र कानुनी रूपले गम्भीर सामाजिक अपराध हुन् । सभ्य समाजको लागि लज्जाको विषय हो । लोकतान्त्रिक प्रणालीप्रति गम्भीर प्रश्न पनि हो । कानुनी शासन, मानव अधिकारमाथि चुनौती पनि हो ।
धर्म र विभेद
समस्याको हाँगा, पात, छाम्ने, जरोमा नपुग्ने प्रवृति घातक बनेर आएको छ । अज्ञान, अल्पज्ञान, स्वार्थमा आधारित ज्ञान, तर्क, बहस, छलफल, व्यवहार, आचरण समस्या बन्दै आएका छन् । सरोकारवालाहरूले यसतर्फ अझै पनि विवेकको बिर्को बन्द गरी राख्ने हो भने यस्ता नियतिहरू ओहोरदोहोर गरिरहने छन् । घटनामा केन्द्रित भएर हामी प्रतिक्रियात्मक भइरहने छौँ । धर्म र धर्मशास्त्रलाई हामी साफसँग गाली गर्छौ तर जरोमा जाँदैनौ । धर्मलाई कर्मकाण्डमा सीमित गरिएको छ । धर्मलाई पूजापाठ गर्नु, मन्त्र भट्याउनु, चन्दन, टीका लगाउनु, मन्दिर धाउनु, गेरुवस्त्र धारण गर्नु, जनाइ लगाउनु, आपराधिक कर्म गरे पनि धेरथोर दान गरी पाप कटाउनुजस्ता अर्थमा अर्थ्याइएको छ ।
धर्म वा संस्कारका नाममा भट्याइने मन्त्रको अर्थ थोरैलाई मात्र थाहा हुन्छ । श्रवण गर्ने पनि सुन्नका लागि सुनिदिन्छ । अर्थ, सन्दर्भ, परिवेश के हो, ऊ प्रश्न गर्दैन । कहाँ, किन, कहिले, कसरी, कसको, कति आदि सवालको जवाफ खोजिँदैन । जिज्ञासु जमात पनि निराश बन्न पुग्छ । यसको अर्थ होः धर्मलाई ठगी खाने भाँडोको रूपमा प्रयोग गरियो, गरिँदैछ र गरिने पनि छ । भित्री तहसम्म डुबुल्की मार्ने हो भने धर्म र दर्शनको अर्थ यसभन्दा विल्कुल पृथक र व्यापक छ । धर्मलाई प्रचलन, परम्परा, न्याय, नैतिकता, कर्तव्य, चरित्र, आचरण मानिन्छ । मानिसले धारण गर्ने विचार, आचरण, जीवनशैली, दर्शन धारण गर्दछ, यही नै धर्म हो । हिन्दु सम्प्रदायमा प्राणी र ब्रह्माण्डको सम्बन्ध कायम, अधिकार, कर्तव्य, आचरण, व्यवहार, गुण, जीवन जीउने कला, नियम, कानुन आदि धर्म भनी बुझिन्छ ।
माथिल्लो र तल्लो भनिएको जातबिच मात्र होइन, दलित समुदायभित्र पनि मानिस बन्न धेरै बाँकी छन् । हिसाब–किताब सबैको हुनुपर्छ । अतः लडाइँ दलित र गैरदलितको होइन, मानवताविरुद्धको हो । समानताको होइन, समानता पुनर्स्थापनाको हो, जहाँ मानव चेतनाहरूको सामूहिक र सार्थक प्रयत्न आवश्यक छ ।
डा. युवराज सङ्ग्रौलाको भनाइमा ‘धर्म’ शिक्षित मानिसका बुझाइमा ‘राम्रा गुण, सिद्धान्त र ‘दार्शनिक मान्यताहरूको’ पुञ्ज हो । ‘धर्म’ एउटा गुणकारी संसारको सृष्टिमा सकारात्मक ज्ञानको प्रक्षेपण गर्ने माध्यम, संसारको सनातन अस्तित्वलाई अक्षुण राख्ने प्राकृतिक नियमहरूको संश्लेषण र प्रकृति (पदार्थ) र ज्ञान (चेतना) को समायोजन र अन्तर्विरोध वा अन्तर्सम्बन्धबाट जन्मिने विज्ञानको ‘समष्टि’ (Totality) हो वा संसारका सूक्ष्म र तटस्थहरूलाई बुझ्ने वा जान्ने दर्शनशास्त्र हो । ‘धर्म’ त्यसै कारण ‘धारण गर्न योग्य’ नियमहरूको सङ्ग्रह हो । धर्म आज हामीले बुझिरहेको ‘कर्मकाण्ड’ वा ‘संस्कार’ (rituals)नियम वा पद्धति होइन । धर्मलाई शाश्वत प्राकृतिक गुणहरूबाट निःसृत नियमहरूको ‘पुञ्ज’, पदार्थ र ज्ञानको संयोजन र अन्तद्र्वन्द्वबाट निःसृत विज्ञानका सिद्धान्तहरू, ज्ञान र विज्ञानको औचित्यता पुष्टि गर्ने अन्तर्निहित ‘सारपूर्ण र गर्भित’ मान्यताहरू, जसलाई ‘दर्शन’ भनिन्छ र सबै ‘ज्ञान’ लाई समष्टिमा अभिव्यक्त गर्ने अन्तर्निहित अवधारणाको रूपमा ग्रहण गर्ने गरिन्छ ।(फौजदारी न्याय प्रणाली नेपाली कानुनशास्त्रस् पूर्वीय कानुनी दर्शनका अकाट्य मान्यता र प्रभाव : नेपाली फौजदारी न्याय प्रणालीको आधुनिकीकरणको सन्दर्भ, पृ.५)
के विभेदको अपजस धर्मशास्त्रले नै बोक्नुपर्ने हो ? यस्ता तर्क कति न्यायोचित हुन्छन् ? हिन्दुहरूको आदर्श ग्रन्थ वेद, उपनिषदका केही प्रावधान हेरौँः शास्त्रीय भनाइ नै छः 'जन्मना जायते शूद्र कर्मण उच्चते' । अर्थात जन्मदा मानिस शूद्रको हैसियतमा जन्मछ, स्थान भने कर्मले निर्धारण गर्दछ । ऋग्वेदमा बिराट पुरुषलाई ‘बह्मा’ को नाम दिई मुखबाट बह्मा, पाखुराबाट क्षेत्री पेट वा जाँघबाट वैश्य र खुट्टाबाट शुद्रको जन्म भएको भनी उल्लेख गरिएको छ ।
ब्राह्मर्णेस्य मुखमासीद्बाहु राजन्यः कृतः । उरु तदस्य यद्वैश्यः पद्भ्यां शुद्रो आजायत । ( ऋगवेद १०/९०/१२) विडम्बना यसलाई पनि जातीय विभेदको रूपमा यदाकदा चर्चा गरिएको पाइन्छ । बिम्बको रूपमा प्रयुक्त यस सुक्तमा पुरुष भनेको लोग्ने मानिस नभई शक्तिको अर्थमा प्रयोग गरिएको हो । अयं निजः परो वेति गणना लघु चेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।। सङ्कुचित वा सानो चित्त भएकाहरू यो मेरो र यो तेरो हो भन्ने भावनाबाट ग्रसित हुन्छन् । उदार वा ठुलो हृदय भएकाहरूका लागि संसारमा सबै समान छन् । महोपनिषद्, (अध्याय ४, श्लोक ७१०) वर्णबारे भागवत गीतामा उल्लेख छः चातुर्वण्र्यं मया सृष्ट गुणकर्म विभागशः । गुण र कर्मको आधारमा चार वर्णको सुष्टि भएको हो । बुद्धको मतअनुसार-यस्स पार अपार वा पारांपारं न विज्जति ।वीतद्दरं विसंयुत्तंm—तमहं ब्रूमि ब्राह्मणं ।।३।।
जसको पार (आँखा, कान आदि छ इन्द्रिय) अपार (रूप, शब्द आदि छ विषय) र पारापार (म, मेरो) भन्ने छैन, जो भयरहित भएर अनाशक्त हुन्छ, उसैलाई म ब्राह्मण भन्दछु ।।३।। (भिक्षु अमृतानन्द (नेपाली अनुवाद), धम्मपद २०७०, आनन्दकुटी विहार संस्था, काठमाडौँ, पृ.१७२)
धर्तिमा गाली खाने शास्त्रमध्ये मनुस्मृति पनि एक हो भन्दा अन्यथा नहोला । विशेषतः महिला र दलित विरोधी स्मृतिको रूपमा चित्रण गर्ने गरिएको पाइन्छ । महिलालाई देवीको प्रतीक मान्ने मनुले के नारी र दलितप्रति यति निम्नकोटीका अपमानजनक वाणाी प्रकट गरेकै हुन् ? मानौ, मनुकै वाणी भए पनि के आजको असमानता, विभेद, अन्याय आदि तिनै सीमित भनाइका उपज हुन् ? यहाँ खराब पाटोलाई चोख्याउन खोजिएको होइन । समय कालखण्डमा उनका भनाइलाई विकृत र अपभ्रश बनाउदै ल्याइएको त होइन ? कतै बेलायती उपनिवेशवादको प्रहार त होइन ? यसमाथि पनि गम्भीर चीरफार गरौँ, जे छ त्यही निचोडबाट अगाडि बढौँ भन्ने हो ।
दक्षिण एसियाली लामो इतिहास, गौरवमय, आर्दश, समृद्ध परम्परा र संस्कृतिमाथि आगो सल्काउने काम बेलायती उपनिवेशबाट सन् १९२३ बाट सुरु भएको थियो । म्याकुलेको जेनरल कमिटी अफ पब्लिक एजुकेसन फन्ड नामक संयन्त्रमार्फत यी काम गराइएको थियो । भनिन्छः त्यसताका कतिपय महत्त्वपूर्ण दस्ताबेजहरू गायब गरियो । मनुस्मृति, चाणक्यको अर्थशास्त्र आदि ग्रन्थ हेरफेर गरियो । संस्कृत अव्यहारिक र फल अर्थात रोजगारी नदिने शिक्षा हो भन्दै फल दिने शिक्षाको रूपमा अङ्ग्री छिराइयो, साथमा उतैको रहन, सहन, संस्कृति, विचारधारा पनि । यही धारा वि.स. २०१२ सालमा नेपालमा पनि छिर्यो र २०२८ मा नयाँ शिक्षाको नाममा लागू भया, जुन हाम्रो चाहना थिएन, अरूकै थियो । यसतर्फ पनि घोत्लिन कि नघोत्लिने ?
फाइदाको खेती
संस्कृतमा ज्ञानलाई बह्मा र युद्धलाई क्षेत्र भनिन्छ । अतः युद्ध लड्ने क्षेत्री हुन्छ । बलियो, दह्रो जाँघ हुने परिश्रम गर्छ, ऊ वैश्य हो भने सबैलाई सहयोग गर्ने व्यक्ति शुद्र हो । जन्मको आधारमा सबै समान हुन्छन्, कर्मको आधारमा उनीहरू हैसियत निधारण हुन्छ । ब्राह्मण खलकका द्रोणचार्यका छोरा अस्वस्थामा युद्धकलामा पोख्त थिए, उनी क्षेत्री मानिए । क्षेत्री कुलका पर्शुराम शास्त्रमा पोख्त भएपछि ब्राह्मण हुन पुगे । शुद्रका छोरा चन्द्रगुप्त मौर्य योद्धा थिए, क्षेत्री भए । चाणक्यको भनाइ छः कोही व्यक्ति ब्राह्मण, क्षेत्री, वैश्य, शुद्रको गुण लिएर जन्मदैन । व्यक्ति जन्मेपछि उसले यी गुणहरू प्राप्त गर्दछ । समयकालान्तरमा यसलाई शासकले सत्ता टिकाउने भर्याङ बनाए । अरूको वकालत गर्नेले दोष धर्मशास्त्रमाथि थुपारे । खाइदेऊ कर्मकाण्डीहरूले धर्मशास्त्रमा हुँदै नभएका प्रसङ्ग जोडजाड पारेर आफ्नो दुकान चलाए । अहिले पनि ताल यही हो ।
जातीय विभेद र पश्चिमी जगत
कतै जातीय विभेद पश्चिमी उपहार त होइन ? यस समाजको एउटा विशेषतः शासकको हिस्सा सामान्यतया व्यवहारमा मानवताको पक्षमा उदार पाइँदैन । अरूलाई एउटा चीज पढाउँछ, अर्को चीज लदाउँछ । आफू असमानता पाल्छ, अरूलाई लखेट भन्छ र विद्वेषका बिज छर्छ । बेलायती उपनिवेशवादले दिएको एउटा गतिलो उपहार यही हो । शिक्षा सुधारको नाममा मनुस्मृतिमा जातीय विभेद विषय वा प्रसङ्ग उल्लेख हुनु, प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायतमा वर्ष दिन बिताउनु, स्वदेश फर्केपछि मुलुकी ऐन, १९१० आउनु र त्यसमा जातीय विभेदले प्रशस्त स्थान पाउनु के संयोगमात्रै हो वा यसभित्र अरू केही पाकेको छ ?
विशेष हैसियतमा दलित
भारतीय अध्येता विजय रामास्वामीका अनुसार-‘विश्वकर्मा भनेका असल कालीगढ र डिजाइनरहरू हुन्, जो ब्रह्माका छोरा पनि हुन्, जसले रावणका लागि लंका, राधाकृष्णका लागि द्वारका, इन्द्रका लागि स्वर्गलगायत विश्वजगतको भौतिक निर्माण गरे । यसका अतिरिक्त उनले देवादानवहरूका हातहतियार तथा देवहरूका लागि उड्ने रथहरूको समेत निर्माण गरे । (सरोजदिलु विश्वकर्मा, सौर्य अनलाइन, २०७६ माघ २४)
राजकुमार दिक्पालका अनुसार- विश्वकर्मा (उही) अनुसार पृथ्वीनारायण शाहका कालमा उनलाई साथ सहयोग दिने श्रमिक तथा शिल्पी समुदायका अगुवाहरुमा बिसे नगर्ची र येखाजङ्गसँगै कालु सार्की, जसवीर कामी तथा मनिराम गाइनेको योगदान पनि महत्वपूर्ण रहेको छ । तीमध्ये कालुले सैनिकले लगाउने छालाको टोपी, तोपको दाप, खुँडा, खुकुरी, धनुकाँड सुरक्षित राख्ने झोला, बन्दुक बोक्ने पेटीजस्ता छालाका सामग्री बनाउँथे । यस्तै जङ्गल फाँडेर गोल बनाई फलामका खुँडा, खुकुरी, तरबार, कटारी, छुरी, भाला, धनुकाँड जस्ता हतियार बनाउने काम जसवीर कामीले गर्थे । मणिराम गाइनेले चाहिं विभिन्न भागमा डुलेर गीत गाउँदै पृथ्वीनारायण शाहको पक्षमा सुराकी गर्थे ।
‘जङ्गबहादुर राणाको आदेश थियोः कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि विग्रन्छ । कारखाना पनि बिग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु वडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन् ।’ (असार ६, २०७७, हिमालखबर)
अब के ?
सिघासिधी कुरा हो, हामी खालेखाले विचारका छौँ । एउटा भन्छौँ एउटा गर्छौँ अर्को । ‘किन’ बाट कारण नखोतली तथ्यमा जाँदैनौँ । अपराधी ती शासक हुन्, जसले जनचाहनाभन्दा पनि आफ्नो इच्छा अनुकूल कानुन कोरे । विभेदलाई सत्तामा टाँसिने सूत्र बनाए । पछिल्लो चरणमा कानुनलाई कागजमै सीमित राखे, व्यवहारको कसीमा उतारेनन् । दोषी ती हुन्, जसले धर्मको आडमा धर्मशास्त्रको अपव्याख्या गरी जातीयताको खाडल खने र खनिरहेका छन् । उग्रनारा वा विचार बर्खे भेल हुन्, एकछिन गडगडाउँछन् । हेर्दा मजा लाग्छ, सुन्दा आउँछ तर त्यहाँ विनासको बिउ छोडिसकेको हुन्छ । जबसम्म यस्ता भेलको पक्षमा गीत गाइन्छ, बुझे हुन्छ, जानीनजानी हामी पीडिकका मतियार हौँ, पीडितका शत्रु हौँ ।
समस्या जहाँ छ, यदि त्यहाँ बजाइँदैन भने हुने तमासा नै हो, हानीनोक्सानी नै हो । विडम्बना हामी केहीलाई त्यसो गर्न नैतिकताले दिँदैन किनकि हामी कसैले अह्राएका, भाडामा लगाएका वा खटाएका भरिया हौँ । यसको असली मन्त्र भनेको जनताविनको जिन्दगी सोच्नसम्म सक्दिनँ भन्दै उनीहरूलाई रुवाउने हो । कानुनी शासनकै नाममा कानुन सिध्याउने हो । शान्तिकै आवरणमा युद्धको आगो सल्काउने हो । आफैँ विचार गरौँ, दुवैतिरका यी र यस्ता असतीहरूको विचार र व्यवहारको पछाडि कहिलेसम्म कुदिरहने हो ?
अब इतिहास जे थियो, त्यही रूपमा हेरिनुपर्छ, न कि अनुकूलता र प्रतिकूलतामा ! हिजो परिचय कर्मले निर्धारण गर्थ्यो । प्रायः थरहरू स्थान विशेष, पद विशेषमा आधारित थिए । बाजेबाबुको थर (पोखरेल, पौडेल, आचार्य, खरेल ...आदि) आधारमा जन्मदा ब्राह्मण, अनि शूद्र (दमाई, कामी, सार्की ...आदि) हुनुपर्ने न कुनै नियम थियो । माथिल्लो र तल्लो भनिएको जातबिच मात्र होइन, दलित समुदायभित्र पनि मानिस बन्न धेरै बाँकी छन् । हिसाब–किताब सबैको हुनुपर्छ । अतः लडाइँ दलित र गैरदलितको होइन, मानवताविरुद्धको हो । समानताको होइन, समानता पुनर्स्थापनाको हो, जहाँ मानव चेतनाहरूको सामूहिक र सार्थक प्रयत्न आवश्यक छ । अतिवादमाथिको निर्मम प्रहार ढिला भइसकेको छ ।