डा. सदानन्द कडेल | साहित्य | असार १५, २०७८
छुपुमाछुपु धान रोप्दै किसान, असारको पन्ध्रमा
धपक्कै बल्ने मुहार तिम्रो, बिर्साउने चन्द्रमा
साहामा हरिस जोतारा नारा, हल गोरु नारेर
कुलो र समाहा झारेर पानी, हिलाम्मे पारेर
कोही छन् साउदै कोही बाउसे लाउदै, पौरखी अपार
धान् रोप्दै खेतमा असारे भाखा, गाउँदैछन् रोपार ।
छुपुमाछुपु ....
बिउका मुठा फ्याँक्दिन्छ लाठे, दबदबे हिलोमा
लपक्कै गिलो छ्यापिन्छ हिलो, गुन्यु र चोलोमा
अन्जुली भरी उठाई हिलो, लाठेलाई निसान
कम छैनन् रोपार रमाइलो गर्न, अब्बल किसान ।
छुपुमाछुपु ....
घरबेटी आमा ल्याउदैछिन् खाजा, दही–चिउरा तरकारी
रोपेर मानो फलाउने मुरी, भर्दिने भकारी
किसानको पौरख सार्थक संधै, बगाउँदा पसिना
असारमा रोप्दा गरामा झुल्छ, मङ्सिरमा मसिना ।
छुपुमाछुपु ....
रोपेका बिउ कोपिला फूल्न, भूकम्प रोक्दैन
लहमा लह धान् बाला झुल्न, कोभिडले छेक्दैन
फर्केर आइदेउ परदेशी युवा, तिम्रो छ दरकार
अभाव हुन्न मल बिउ कहिल्यै, भन्देउन सरकार ।
छुपुमाछुपु ....