हजुर आमाको स्वर्ग जाने इच्छाको वेदीमा निर्दोष बालिकाको बली !

छुई : नवीन सन्दर्भ, रोचक उपन्यास

हजुर आमाको स्वर्ग जाने इच्छाको वेदीमा निर्दोष बालिकाको बली !

रूपक अलङ्कार  |  साहित्य  |  असार १८, २०७८

विषय प्रवेश :

पहिलो पटक छुई भएकी कन्यालाई बाबु वा दाइहरूले नदेखून् भनेर २२ दिनअन्तै लगेर राख्ने चलन थियो । बिस्तारै १५ दिनमा झर्‍यो । त्यसपछि ७ दिनमा झर्‍यो । झर्ने क्रम रोकिएको छैन । यो हाम्रो धादिङतिरको वस्तुस्थिति हो अन्यत्र पनि आफ्नै तालका नियम होलान्। यसपटक कोरोना लागेर म पनि १४ दिने क्वारेन्टाइनमा परे । छुट्टै कोठा, छुवाछूतको नियम अवस्था उस्तै पर्न गयो छुई भएजस्तो । यहीबेला घनश्याम पथिकद्वारा लिखित छुई उपन्यास हातमा पर्‍यो । मेरो अवस्था र उपन्यासको नाम चाहिँ मिलेकै हो ल ! सरसैयामा सुत्दा भीष्मलाई त्यति पीडा भएन होला जति पीडा कोरोनाको करौँतीले रेट्दा हुँदो रहेछ । यस्तो छट्पटीमा के पढ्नु पढ्न त । तैपनि दिन त कटाउनै पर्‍यो । जेनतेन पढेँ । यस्तो दु:खपूर्वक पढेको कुरो किन लुकाएर राख्नु  ? भनेर टिप्पणी गर्दै छु ।

घनश्याम पथिक :

घनश्याम पथिकलाई नेपाली साहित्यमा चिनाइरहनु पर्दैन । गजल र कविताका कृति त पहिले नै प्रकाशित छँदै थिए । विगत केही वर्षदेखि  यिनी भकाभक उपन्यास लेखिरहेका छन् । पहिलो उपन्यास युनिका नै दोस्रो सँस्करणको दौडमा लागिसकेकाले यिनको उपन्यास लेखनमाथिको सफलतामा धेरै जान्ने भएर बोल्नु खैरियत छैन । लेखनका अतिरिक्त यिनी क्याम्पस पढाउँछन् र सञ्चारमाध्यममा कार्यक्रम पनि सञ्चालन गर्छन् । पहिले पहिले त यिनी नाटकसाटक पनि खेल्थे अहिले भ्याउन छोडे क्यारे ! भ्याउन् पनि कसरी एउटो ज्यान दसतिर दौडिनुपर्छ । यिनको नाम मात्र पथिक होइन काम पनि पथिक नै हो किनभने यिनी बस्दैनन् । यिनको सिर्जनशीलता देखेर यिनका समकालीनहरूको त निद्रा हराम भएको छ नै  हामीजस्ता पछुवाहरूलाई नि छट्पटी बढेको छ । कोही हुन्छन् कविता लेख्न थालेपछि गजलको उछित्तो काट्ने। आख्यान लेख्न थालेपछि कविसित मुख बार्ने तर यिनमा त्यस किसिमको कृतघ्नता पाइन्न । उपन्यास लेख्दालेख्दै गजल भन्न पनि कुद्छन् कवि त यिनी पुरानै हुन् । यिनमा जस्तो प्रसन्न वदनसहितको व्यवहार, मित्रप्रतिको स्नेह र कर्मप्रतिको उत्साह सबैमा भेटिन्न । 

छुई उपन्यास :

२०७७ को अन्त्यतिर विमोचित उपन्यास छुई बडो मजाले पढियो । उपन्यासको सरलता र सहजताले नमजा हुनै दिँदैनन् । बजारमा उपन्यसलाई बाल उपन्यास, किशोर उपन्यास जस्ता विभाजन गर्ने चलन आएको छ । त्यसरी हेर्ने हो भने यसलाई किशोर उपन्यास भने हुन्छ । तर उपन्यासकार यस  किसिमको विभाजनको पक्षमा भएजस्तो लाग्दैन । हामी किन जान्ने बन्नु रु बजारशास्त्रले मागे जत्रो आकार यो उपन्यासको पनि छ पढ्नका लागि पाँच सात घन्टा छुट्याउनुपर्छ ।  छुट्टाछुट्टै शीर्षकमा हेर्दा अझ सजिलो होलाजस्तो लाग्छ ।

कथावस्तु :

उपन्यास लामो कथा नभएर जीवनको समग्रता हो भन्ने परिभाषा अब पुरानो भयो । उपन्यासकारहरूले जीवनलाई समग्रतामा मात्र होइन टुक्राटुक्रामा हेर्न थालिसके । पुरानो परिभाषालाई अतिक्रमण नगर्ने लेखकलाई कल्ले सम्झिन्छ र ! शीर्षकले यो उपन्यास सामाजिक हो कि जस्तो लागे पनि यो एक प्रेम कथा नै हो । हुन त प्रेम पनि सामाजिक विषय हो तर प्रेमलाई वैधता दिन समाजले बर्सौँ लागाइदिन्छ । जतिबेला प्रेमीहरू आफ्नै प्रेमको रापले जलिसक्छन् । छुई उपन्यास स्कुले विद्यार्थीहरूको प्रेम कहानी हो । खासगरी यस उपन्यासमा माध्यमिक तह कक्षा नौ र दसमा पढ्ने विद्यार्थीको सोचाइ र भोगाइको शल्यक्रिया गर्न खोजिएको छ । १४ र १५ वर्ष उमेरका किशोर किशोरीहरूमा आउने व्यावहारिक परिवर्तन, लैङ्गकि आकर्षण, यौनिक चिन्तन, बेफिक्री जीवनशैली,  भावनात्मक  आवेग,  अविवेकपूर्ण निर्णय, पाश्चात्तापपूर्ण निराशाजस्ता विषय यस उपन्यासमा आकर्षक ढङ्गले आएका छन्

छुई नै शीर्षक भएपछि त्यसैकोणबाट यस उपन्यासको पठन हुने हो भविष्यमा । आँखिर छुई र यसको बारानाप्रति उपन्यासकारको धारणा के हो त ? सहरमा भात पकाउनका गारोले बार्न पर्दैन भन्ने गाउँ पुगेपछि भिगी बिल्ली हुने अनि राती स्वास्नी रिझाउन झ्यालबाट पस्ने हामीजस्ता क्रान्तिकारीप्रति व्यङ्ग्य मात्रै त लेखकको उद्देश्य होइन होला । उनका पात्रहरूले समाजको लक्ष्मणरेखाभन्दा बाहिर एक पाइलो पनि टेकेका छैनन् ।

अपरिपक्व उमेरको प्रेमले परिपक्व सफलता दिनसक्दैन भन्ने विचारमा उपन्यासकार अडिएका छन् । कुरकुरे बैँसमा बहिकिनेले भन्दा उमेर पुगेपछि प्रेम गर्नेले सफलता पाउँछन् भन्ने कुरा अशोक र सबुको प्रेम प्रमाण हो । सस्तो भावुकता र आवेगको अन्त्य राजन ओलीको मृत्यु हो ।

नातिनीको गोडाको पानी खाएर स्वर्ग सुधार्ने हजुरामाको इच्छाको वेदीमा निर्दोष बालिका बली हुन पुग्छे । १६ वर्षमा बिहे भए तापनि लोग्नेको नपुंसकताका कारण टेस्टट्युब बेबीको शरणमा जानुपर्छ । उपन्यासका यी सन्दर्भहरू मजेदार छन् । उपन्यासलाई रोचक बनाउन कथानकलाई परिश्रमपूर्वक घुमाउने काम भएको छ । त्यो थाहा पाउन उपन्यासै पढ्नुपर्ने हुन्छ ।

पात्र र चरित्र

पात्रहरू गन्ने र नाम भन्ने हो भने धेरै नै छन् । उपन्यासले पात्र र तिनको अभिनय क्षेत्र  धेरै माग्छ पनि । हुन त पृष्ठसङ्ख्याको अनुपातमा उपन्यासले चर्चेको समय थोरै छ । विद्यार्थीजीवनको कथा भएकाले नाम मात्रका व्यक्तिहरू पनि थुप्रै छन् । त्यसो हुनु स्वाभाविक पनि छ । संयोग, जानुका, अशोक, सबु, राजन, हजुरी, प्रशान्तजस्ता चरित्रले कथालाई अघि बढाएका छन् । सकारात्मक चरित्रहरू धेरै हुनाले कथानकमा आउनुपर्ने जति उबडखाबड आएको छैन । जसका कारण आन्तरिक द्वन्द्व भेट्टाउनका लागि धेरै पानाहरू पल्टाउनुपर्छ । हाम्रो समाजमा भेटिने रिसराग, मायामोह, गुणदोषसहितका पात्रहरू उपन्यासमा अनुबन्धित छन् । पाठकलाई कुन मानिस सच्चरित्र हो र कुन मानिस दुष्चरित्र हो ? भन्ने प्रश्नको उत्तर ठम्याउन मुस्किल पर्छ । पात्रहरूलाई उपन्यासकारले यसरी लठ्ठ्याएका छन् कि छोरो जुन केटीका कारण मर्‍यो बाउ दायाँबायाँ नसोची उसैको आँगनमा माफी माग्न आइपुग्छ । कुनै पात्रलाई त उपन्यासकारले सारै पुलपुल्याएका छन् ।

स्वर्ग जाने इच्छाले सोरै वर्षको उमेरमा नातिनीको बिहे गर्न बाध्य पार्ने हजुर आमा, एकतर्फी पिरिममा पागल भएर आत्महत्या गर्ने राजन ओली, प्रेम गर्ने तर परिस्थितिसित जुध्न नसक्ने संयोग भाइ, परिवारको निर्णयमा खुरुखुरु नतमस्तक हुने जानकी अधिकारी, आफूबाट बच्चा हुँदैन भन्ने जान्दाजान्दै नादान कन्यासित घरबार गर्ने प्रशान्तेजस्ता पात्रहरूप्रति सहानुभूति र खेद बराबर हुने अवस्था उपन्यासमा सिर्जना भएको छ । यसले यस्तो नगरेर यस्तो गर्नुपर्थ्यो भन्न लगाउन सक्नु चाहिँ उपन्यासको विशेषता हो। कतिपय आख्यानकारले पाठकलाई खेल्न अलिकति पनि मैदान दिँदैनन् तर यस उपन्यासमा त्यस्ता स्थान प्रशस्त  छन् ।

परिवेश :

उपन्यासको प्रारम्भ त खाडीबाट हुन्छ यद्यपि छुई उपन्यास खाडी या कुनै विदेशी मुलुकको कथा होइन । कथा भन्ने रङमन्च खोज्दै उपन्यासकार खाडी पुगेका हुन् । यस कथालाई युरोप अमेरिका जहाँ लगेर सुरु गरे पनि बिगृने केही छैन । आँखिर डाइरी भेटेपछि संयोग भाइ उपन्यास छाप्न त नेपालै आउँछ । उपन्यासले दमक आसपासमा आसपास खेलेको छ । उपन्यासकारको थातथलो पनि त्यतै भएकाले त्यहाँको परिवेश वर्णनमा सहजता देखिएको छ । दमकको घामले पाठकलाई पसिना निकाल्छ । पानीले भिजाउँछ, आँपगाछी र बरगाछीले पङ्खा हम्किन्छन्, तर सामाजिक परिवेशको व्यापकताको कन्जुस्याइँले के नपुगे के नपुगेजस्तो लागिरहन्छ । कतिपय पात्रको घर देहातमा छ तर लहलह धान झुलेको फाँट गायब छ । बिघौँ जग्गा भएका पात्र छन् तर ती कहिल्यै खेतमा पस्दैनन् । रोपाइँ आयो होला, धान काटे होलान् । मेरो मतलब के हो भने कथाको परिवेश  दुबैतिर काँडेतार लाएर सोझो बाटो हिँडेको छ । परिवेशगत आयाम साँघुरो हुनाले दोहोरिरहने कक्षाकोठा र विद्यालय प्राङ्णको वर्णन कतै कतै उराठिलो नलाग्ला भन्न सकिन्न । दमक बाहेक धरान र काठमाडौँ उपन्यासको परिवेशका रूपमा आएका छन् । धरानबाट काठमाडौं आउँदा उपन्यासकार किन पोखरा गए ? यो चाहिँ मैले बुझ्न सकेको छैन । उसै त उपन्यासकारहरू कथा अघि नबढेपछि भैंसी भिरबाट गुल्ट्याउँछन् भनेर चियापसलमा हल्ला छ । कुनै प्रभावशाली घटना हुँदैन भने नयाँ  ठाउँ घुमेर उपन्यासमा नियात्रा थप्नु हुँदैन भन्ने मेरो विचार हो । औचित्यपूर्ण प्रयोग भने गर्न सकिन्छ ।

उपन्यासको पात्र एकपटक मुम्बई पुगे पनि आउटडोर निस्केको छैन । उपन्यासले बीस बाईस वर्ष खपत गरेको भए पनि मूल कथा चारपाँच वर्षको हो । प्रकृतिचित्रणमा न्यूनता र सामाजिकतामा अल्पताको आभास अवश्य पनि पाइन्छ । हरेक पाठक विद्यार्थीजीवनको सुखमय क्षण भोगेर आउने हुनाले उपन्यासको परिवेश आह्लादकारी भने छ नै । 

भाषा र शैली:

भाषा, शिल्प, शैली, प्रस्तुति जे भने पनि यिनमा लेखकको विशेष गुण सन्निहित हुन्छ । शिल्प र शैली लेखकको परिचय हो । पूर्वचर्चित कथामा आधृत उपन्यास पनि उत्तिकै लोकप्रिय भएका छन् त्यसका पछाडि लेखकको प्रतिभा नै मुख्य कारण हुन्छ । लेखकको प्रतिभा देखिने भनेकै उसको अभिव्यक्तिमा हो । अभिव्यक्तिको माध्यम भाषा हो त्यसैले भाषा कलात्मक हुनु कुनै पनि साहित्यको प्राथमिक सर्त हो । यस हिसाबले छुई उपन्यासको भाषा कस्तो छ त ? कुरो यही हो । आख्यानकार घनश्याम पथिकले छुई उपन्यासमा अत्यन्त सरल भाषाको प्रयोग गरेका छन् ।सरलताको रसले उपन्यासका वक्यहरू निर्थक्कै भिजेका छन् । सरल भाषाका तुलनामा रसात्मकताको कमी भने महसुस हुन्छ । गजल र कवितामा पथिकको जुन व्यङ्जनात्मक अभिव्यक्ति पाइन्छ त्यस्तो भाषिक सौन्दर्य उपन्यासमा पाइँदैन । कतै कतै त एकदम बालोपयोगी प्रस्तुति पाइन्छ । भाषा सरल हुनु आफैँमा सुन्दर पक्ष हो तर अभिधात्मक अभिव्यक्तिको प्राचुर्यले साहित्यिक सैन्दर्यलाई नाफा गर्दैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।

कथालाई आवश्यक मोड दिनका लागि कुन साँचो प्रयोग गर्ने भन्ने कुरामा पथिकले आफ्नो खुबी राम्रै प्रयोग गरेका छन् जुन उपन्यासको रोचक पक्ष हो । प्रारम्भ मै संयोगको अविवाहित अवस्था र डायरीको प्रसङ्गले औपन्यासिक रहस्यको पर्दा खोलिदिएका छन् । यसको विकल्प सोचेको भए नि हुन्थ्यो । यो तरिका अलि पुरानो पनि भइसक्यो ।

शीर्षक:

उपन्यासको शीर्षक छुई एकपदीय सङ्क्षिप्त नाम शब्द हो । शीर्षकमा नवीनताको अनुभूति हुनसक्छ पनि ।  महिनावारी, परसर्ने, रजोदर्शन, रजस्वला, मासिकधर्म, रजोवतीजस्ता अनेकौँ अभिधानले छुईलाई ग्रहण गर्न सकिन्छ । यो उपन्यासको नामकरण छुई किन भयो होला ? शीर्षक वस्तुपरक हुन्छ । पात्रपरक हुन्छ । लेखकको नामबाट हुन्छ । प्रतीकात्मक हुन्छ । यी मध्ये यो उपन्यासको नाम वस्तुपरक हो । उपन्यासको वस्तु छुई विषयक हो । छुईको सामाजिक, साँस्कृतिक र धार्मिक प्रभाव हिन्दु तागाधारी समुदायमा अत्यन्त जटिल किसिमको छ । सम्बन्धित व्यक्तिमा पर्ने मनोवैज्ञानिक प्रभाव त यसै विविधतापूर्ण हुने नै भयो ।

विशेषतस् साहित्यमा प्रेम नै बिकाउ हुन्छ । प्रेमका लागि १४ वर्षको उमेर परिपक्व त होइन । त्यसकारण धेरै जसो लेखकको नजरमा किशोर अवस्था र त्यसका जोखिमहरू पर्दैनन् । यसर्थमा उपन्यासकार पथिकले चुनेको विषय र सन्दर्भ महत्त्वपूर्ण छ । तर शीर्षकबाट पाठकले उपन्यासका विषयमा जुन अपेक्षा र प्राक्कल्पना गर्छ त्यतातिर उपन्यासकारको चिन्तन गएको छैन । छुईको एक पक्षमा लामा लामा बहस र विश्लेषणको आवश्यकता देखिन्छ तर उपन्यास कुनै एक पाटोको पनि समीक्षामा नलागी भुराभारी पिरतीमा लागेको छ । उपन्यास लेखिसकेपछि शीर्षक राखेको र शीर्षकलाई पुष्टि गर्न कतैकतै छुईको सन्दर्भ थपिएको हो कि भन्ने शङ्का गर्न समेत सकिन्छ । मेरो मतलब उपन्यासको मूलभूत विषयमा पात्रहरूलाई जसरी उभ्याउनु पर्ने हो त्यतातिर प्रयास कम भएको हो कि रु

अन्त्यमा :

स्कुले जीवनमा विभिन्न किसिमका घटना हुन्छन् । धेरै जसो घटना स्कुले जीवनसँगसगैँ मीठो स्मृतिमा परिवर्तन हुन्छन् । साथीहरूसँग झगडा पर्छ तर त्यही इख रहिरहन्न । मास्टरलाई मारिदिऊँजस्तो लाग्छ तर पछि त्यही मास्टरप्रति श्रद्धा जागेर आउँछ । यस्तो सबै मानिसको जीवनमा हुन्छ । तर कोही भने दस कक्षामा आँखा जुधेकी केटीलाई सम्झेर अर्धसिल्ली हुन पुग्छ । कसैले अफूलाई कुन हदको माया गर्दो रहेछ भनेर माया गर्नेकै हस्ताक्षरबाट थाहा पाउनु चाहिँ साँच्चै रोचक पक्ष हो र यही नै उपन्यासको शक्ति  हो ।

छुई नै शीर्षक भएपछि त्यसैकोणबाट यस उपन्यासको पठन हुने हो भविष्यमा । आँखिर छुई र यसको बारानाप्रति उपन्यासकारको धारणा के हो त ? सहरमा भात पकाउनका गारोले बार्न पर्दैन भन्ने गाउँ पुगेपछि भिगी बिल्ली हुने अनि राती स्वास्नी रिझाउन झ्यालबाट पस्ने हामीजस्ता क्रान्तिकारीप्रति व्यङ्ग्य मात्रै त लेखकको उद्देश्य होइन होला । उनका पात्रहरूले समाजको लक्ष्मणरेखाभन्दा बाहिर एक पाइलो पनि टेकेका छैनन् । बरु यसकै त्रासमा रुमल्लिएका छन् । यस सन्दर्भमा वैकल्पिक मार्ग समात्न सकेको भए उपन्यास अझै प्रशंसनीय र अविस्मरणीय हुने थियो कि !