लोकसंवाद संवाददाता | समाचार | असार २५, २०७८
चितवन । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५:३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।
गाई काट्ने तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए । गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो ।