राष्ट्रपतिले अस्वीकार गरिन् महान्यायाधिवक्ताको शपथमा उपस्थिति

राष्ट्रपतिले अस्वीकार गरिन् महान्यायाधिवक्ताको शपथमा उपस्थिति

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०१, २०७८

नवनियुक्त महान्यायाधिवक्ता खम्महादुर खातीको शपथ ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन अस्वीकार गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीको शपथ अस्वीकार गरेपछि शपथ सर्वोच्च अदालतमा हुने भएको छ । 

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार साँझ महान्यायधिवक्तामा नियुक्त गर्नुभएको थियो । महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ गराउने चलन थियो तर यस पटक भने राष्ट्रपतिले उक्त अभ्यास तोड्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ गराएपछि बधाईसमेत नदिएकी राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता खातीको शपथमा समेत अनुपस्थित भएपछि राष्ट्रपतिले वर्तमान सरकारसँग सम्बन्ध बिगार्न चाहेको विश्लेषण हुन थालेको छ ।

संविधानको संरक्षकसमेत मानिएकी राष्ट्रपतसले संवैधानिक व्यवस्थाको पटक पटक उल्लंघन गरिरहनुभएको आलोचना भइरहेका बेला सरकारसँग 'जोरी खोज्ने' काम फेरि गरेको विश्लेषकहरू बताउँछन् । यसले राष्ट्रपति पदको गरिमामा नै प्रश्न उठ्न थालेको चिन्ता उनीहरूको छ ।