लोकसंवाद संवाददाता | समाचार | साउन ०३, २०७८
प्रधानमन्त्री शेरवहादुर देउवाले आइतबार नै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री देउवाले पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिन लाग्नुभएको हो ।
विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भएको बताइएको छ । आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने स्रोतले जानकारी दिएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाउनुभएको छ । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २७१ सांसदमध्ये १३६ जनाको समर्थन आवश्यक हुन्छ ।
कांग्रेस र माओवादी केन्द्रसँग ११० सांसद छन् । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेकाले प्रधानमन्त्रीको पक्षमा १२७ सांसद हुने देखिन्छ ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि सत्ता पक्षीय गठबन्धनमै रहेकाले एमालेको माधव नेपाल खेमाका ८ जना सांसदले विश्वासको मत दिएमा देउवाको सरकार जोगिने देखिन्छ ।