लोकसंवाद संवाददाता | समाचार | साउन ०३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभएको छ ।
सामाजिक संजालमा लेख्दै उहाँले देउवालई विश्वासको मत दिन अन्य सांसदलाई पनि आग्रह गर्नुभएको छ भने अरूले नदिए पनि देउवालाई समर्थन गरेर हस्ताक्षर गर्ने २३ जना सांसदले भने विश्वासको मत दिनुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, 'हामीले ७६(५)को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका हौँ । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदनकर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ ।'