काभ्रेपलाञ्चोकमा कांग्रेसका साढे नौ हजार क्रियाशील सदस्य थप

काभ्रेपलाञ्चोकमा कांग्रेसका साढे नौ हजार क्रियाशील सदस्य थप

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०३, २०७८

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । 

पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् । पार्टीको जिल्ला समितिले बीस हजार अर्थात् दोब्बर क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको थियो । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी हाल करीब दोब्बरको सङ्ख्यामा क्रियाशील सदस्य बनाइएको जनाइएको छ । पार्टीको जिल्ला कार्यालयका अनुसार नौ हजार २९२ क्रियाशील सदस्यले नवीकरण गरेका हुन् । 

पनौती नगरपालिकाको पाँच वटा वडाको नयाँ सदस्यता वितरण ढिलाइपछि उत्पन्न विवादका कारण करीब चार सय नयाँ सदस्यको विवरण पठाउन बाँकी रहेको कार्यालयका सचिव विनोद तिमल्सिनाले बताउनुभयो । काभ्रेपलाञ्चोकमा छ  नगरपालिकासहित १३ स्थानीय तह छन् । 

काभ्रेपलाञ्चोकमा रहेका क्रियाशील सदस्यको केन्द्रबाट स्वीकृत भई जिल्लामा आउन भने बाँकी छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि अभियानमार्फत सदस्यता दोब्बरबढी पु¥याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी बीस हजार पु¥याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताउनुभयो ।

 उहाँका अनुसार सदस्यताको सूची पठाइएअनुसार केन्द्रीय कार्यालयबाट स्वीकृत भई आएपछि जिल्ला कार्यसमितिमा नयाँ–पुराना गरी हाल करीब १९ हजार क्रियाशील सदस्य हुनुहुनेछ । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा २०७७ साल पुस महिनादेखि पुनःशुरु गरिएको थियो । केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फतसमेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । १३ औँ महाधिवेशनका बेला जिल्लाका दश हजार क्रियाशील सदस्यमध्ये मृत्यु भएकाबाहेक ९८ प्रतिशतले नवीकरण गरेको जनाइएको छ । 

पार्टीले गत १३ औँ महाधिवेशनमा भएकाबाट १४औँ महाधिवेशसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरेको थियो । कांग्रेस नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु दुई सय र नयाँ सदस्यताका लागि रु तीन सय तोकेको थियो ।  नेपाली कांग्रेस केन्द्रीय समितिको गत असार ४ गते सम्पन्न बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । निर्वाचन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । 

यस्तै,  प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २६ गते र प्रदेश अधिवेशन आउदो भदौ १ र २ गते निर्धारण गरिएको बताइएको छ ।