देउवाले मागे विश्वासको मत (पूर्ण पाठसहित)

देउवाले मागे विश्वासको मत (पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गर्नुभएको हो ।

देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताउनुभयो । देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

यस्तो छ देउवाको मन्तव्य

माननीय सभामुख महोदय,

प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुर्नस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भइरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाइ दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । ईतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय के.पी. शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ भयो ।

केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ । मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु ।

माननीय सभामुख महोदय,

अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ । दैनिक रुपले संक्रमण बढी रहेको छ । मानिसहरुको मृत्यु भइरहेको छ । म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

अस्पतालमा उपचार गराइरहनुभएका सबैको शीघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु ।

माननीय सभामुख महोदय

हामी याँहा उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलिय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बीचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन । ती आवश्यक पनि छन ।

तथापी हाम्रा केही साझा चुनौती, उद्देश्य र गन्तव्य छन । जस्का लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ । कोभिड—१९ हाम्रो तत्कालको चुनौती हो । गरीबी, वेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन् । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बीचमा सहकार्य र सहयात्राको आवश्यकता छ ।

सभामुख महोदय,

हामी सबैसंग आ–आफ्ना अनुभवहरु छन । माननीय के.पी. शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नुभएको छ । उहाँले गर्नुभएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । उहाँको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ । देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बीच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशील रहने छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होइनौं बरु हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ ।

सभामुख महोदय,

संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलिदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जीवन्त र क्रियाशील बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिँड्न जरुरी छ ।

सभामुख महोदय,

म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु ।

धन्यवाद !