मणि राई | साहित्य | साउन ०९, २०७८
वाचन नै गर्नुपर्यो किन ?
अतिरञ्जनामा लेखिएको
जृशंसताले भरिपूर्ण
त्यो किते पाखण्डी इतिहास
यही भएरै
आजभन्दा झण्डै अढाइ सय वर्षपूर्व
यो गोरखा राज्यको करकमलबाट
मेरो नाक र कान
कीर्तिपुरमा दयापूर्वक काटिएको थियो
त्यो महासगरमा
गोरखालीहरुको रगत पिउन व्यग्र भइका
उनीहरुको खुनी तरवारहरु
मेरो कान र नाकमा रेटिंदा
आफ्नै परिविार र पासाहरु
टुलुटुलु हेर्दै मलाई
रोइरहेथे उनीहरु
बगेथ्यो भारि रगतको भेल
आज त्यही विकृत मेरो अनुहार
डुलाउँदैछु यो दुनियाँ सामु
अहिले स्वजनहरु सोध्ने गर्छन् मलाई
खोइ तिम्रो नाक ?
खोइ त तिम्रो कान ?
निस्पन्द छु तापनि
विवश छु जवाफ दिन
कीर्तिपुरे विजित पक्ष म
गोरखालीहरुको सैन्य एकीकरणको खातिर
निशर्त चढाइदिएँ
मेरो नाक र कान
साँक्षी छ बल्खु खोला
साक्षात्कार छ चोभारको साँगुरो गल्छी
जुन गल्छी छितोल्दै
बगेको थियो
श्रापित कीर्तिपुरेहरुको रगत
किन कपट घुसेको छ दक्षिणकालीको मानभित्र ?
किन सत्य बोल्न अनिच्छुक छन् ?
पशुपतिका भट्ट र पण्डितहरु
सिंहदरबारको अगाडि चोरी औंला ठडाउँदा
राष्ट्रिय एकता प्रदीप्त हुने भए
सर्नुपर्थ्यो नि किन नागर्जुनमा बसाइँ
तर यस कटुवालहरुको सरहदभित्र
लुटिएका निर्दोष नाक र कानहरुको आजतक भएको छैन र सनाखत
त्यसै गरेर
अनि नुवाकोटको लडाइँमा पराजय हुँदा
जयन्त राना मगरको
जिउँदै उसको छाला छिल्दा
मलाई सहाराको याचना गर्दै दारुण भएर चिच्याइरहेको थियो ऊ
निरीह चेहराले
हेरिरहेँ उसलाई मैले केवल टुलुटुलु
अहिलेसम्म पनि
जयन्त राना मगर र मेरो
भएको छैन सनाखत ।
अरुण–७, भोजपुर