देवीप्रसाद घिमिरे | साहित्य | साउन ०९, २०७८
गोठमा गाइभैँसी उग्राइरहेका टाट्नाभरि लहरै बाख्राहरू घाँस खाइरहेका छन्, उता स्थानीय रातोभाले टोलै थर्काउने गरी 'कुखुरी काँ' गर्दै पखेटा फटपटाइरहेको हुन्छ । बिहानको घामको झुल्कोसँगै मानिसहरू आ–आफ्ना काममा व्यस्त देखिन्छन् । दुईजना गाईभैँसी पालो गरी गरी दुहेर दूध जम्मा गर्दैछन् । दूध संकलन गर्ने गाडी आएर कुरिरहेको छ । गुँडमा परेवा घुरिरहेको छन् । घरवरिपरि रङ्गीचङ्गी फूलहरूमा भमरा भुनभुनाइरहेका छन् । प्रभातीय आनन्दमा चराहरू आ–आफ्नै धुनमा गुनगुनाई रहेका छन् ।
बारीभरि थरीथरीका मौसमी फलफूलहरू पाकेका छन् । बेमौसमी तरकारी खेती लोभलाग्दो देखिन्छ । मानिसहरू एकाबिहानै देखि आ–आफ्ना काममा व्यस्त छन् । कोही गाईभैँसीको दूध व्यवस्थापनमा लागेका देखिन्छन्, कोही पाकेका फलफूल टिपेर प्याकिङ गर्न व्यस्त छन् । कोही घाँस खोलेको व्यवस्थापनमा जुटेका छन् । अर्गानिक तरकारी फलफूलको माग बजारमा निकै बढेकाले व्यापारीहरू गाडी लिएर आँगनमै आइपुगेका छन् ।
त्यो घर नै एउटा आधुनिक प्राकृतिक कम्पनी हो जहाँ आएपछि पौष्टिकताले भरिपूर्ण प्राङ्गारिक मलमात्र प्रयोग गरिएको किटनाशक औषधीको प्रयोग नभएको, गाईको गहुँतले विषादीको प्रयोग व्यावस्थापन गरेको, त्यस कृषि लाइब्रेरीमा मानिसहरू एकपटक घुमेपछि उनीहरूको सोचाइ नै फरक पर्न थाल्छ । आफ्नो घरपरिवार नै बिर्सिएर त्यँहाको आधुनिक कृषि व्यावस्थापन हेरेर रमाउँछन् ।
हिजोसम्म उब्जाउ भएन खानै पुगेन भन्दै भातखाने खेत बेचेर विदेशमा भुक्तमान खपिरहेका युवाहरू आज आफ्नै गाउँमा, आफ्नै ठाउँमा रोजगारी पाएर फुलेल भएका छन् । देशका कुना कुनाबाट त्यो अत्याधुनिक कृषिप्रणाली अवलोकन गर्न, त्यस आधुनिक अक्कलको नक्कल गर्न मानिसहरू आउँछन् । आइनै रहन्छन् । कोही विचार साट्न आउँछन् कोही कुरा काट्न आउँछन्, कोही भाउ ढाँट्न आउँछन्, कोही फलफूल चाट्न आउँछन् ।
हरेक दिन त्यस घरमा चहलपहल बढिरहेको देखिन्छ । कोही परिश्रमको फल मिठो हुन्छ भन्दै प्रोत्साहित गर्छन् । कोही प्रगति हेर्न नसकेर जल्छन् । कोही त्यो समृद्धिमा रमाउँदा रमाउँदै खुसीले ढल्छन् । जुनार, सुन्तला, कागती, अनारको व्यवस्थित खेतिले आशारामको कर्म आशालाग्दो बनेको छ र भरपर्दाे बनेको छ । पहिले पनि त्यो घरमा फलफूल राम्रैसँग फस्टाएको हुन्थे । व्यवस्थित खेतीपाती नभए पनि वारीभरि बोटविरुवा बगैँचा हुन्थे । पाकेका फलफुल आफूखुशी टिपेर खान पाइन्थ्यो ।
आशारामका हजुरबुवा नन्दलाल अत्यन्तै परिश्रमी हुनुहुन्थ्यो । गाउँलेहरू सबैजना काफ्ले बाका हातमा जादु छ । उहाँले छोए पछि ढुङ्गा पनि टुसाउँछ । फलफूलको त के कुरा भयो र भन्दै तारिफ गर्नेहरू धेरै थिए । एउटी छोरी र नातिनीलाई राम्ररी पालेर बसेका काफ्ले बालाई गाउँमा नचिन्ने कमै थिए । चाडवाड पूजाआजा तीर्थवर्तहरूमा चढाउने फलफूल माग्न राम्रै भिड लाग्थ्यो ।
सकारात्मक सोचका धनी काफ्ले बा फलफूल, गाईवस्तुलाई अत्यन्तै माया गर्थे । उनका हातमा एक प्रकारको जादु नै थियो । आज ती नै बाको नाति आशारामले गाउँमा कृषिक्रान्ति भित्र्याकाले गाउँको नाम नै आशाको बगैँचा रहेको छ । साँच्चै नै आशाको बगैँचामा निरन्तर समृद्धिका फूलहरू फुलिरहेका, लटरम्म फलफूल झुलिरहेका, पर्यटकहरू लट्ठ परेर त्यो दृष्य फोटोमा कैद गर्दै डुलिरहेका देखिन्छन् ।
काफ्ले बाले एक्ली बिधुवी छोरीको र नावालक नातिको संरक्षणको जिम्मा आफैँले लिएर त्यो गाउँमा आएका थिए । जजमानी गरेर पेटपालो गर्ने उनी फुर्सदको समय सधैँभरि बारीमा हुन्थे । फलफूल रोप्ने गोड्ने काममा उनले आफूलाई भुलाउँथे । निरन्तर परिश्रम गरेर आशाका फूलहरू फूलाउँथे, दिनभरी गाईभैँसी रनवन डुलाउँथे । बिहान बेलुकाको आफ्नै खेतबारीमा निरन्तर माटोसँग रमाउँथे ।
बहुबाली प्रथाको विकासले जमिन बारैमहिना उत्पादनशील बनायो, कही न केही उब्जाइरह्यो । उचित समय उचित मूल्य पाएर व्यापारी दङ्ग परेर सुन्तला, कागती, अनार, जुनार, एबोकार्ड जस्ता फलफूलले पाँच वर्षमै आशाराम आशा साहुको नामले समाजमा प्रसिद्धि कमाउन सफल भएको देखेर सबै अवाक भए ।
आँप, कटहर, सुन्तला, जुनार, अनार बारीभरि फलाउँथे । त्यतिखेर फलफूल बेच्ने चलन थिएन । घरमा आउनेलाई खुसी साथ त्यो फलफूल बाँड्न पाउँदा अत्यन्तै रमाउथे । यिनै निस्वार्थ पौरखी काफ्ले बाको नाति आशारामले आज गाउँमा परिवर्तन सम्भव छ, पाखुरीमा तागत, हातमा सीप, मनमा जाँगर हुनेले आफ्नै माटोमा, पसिना रोपेर समृद्धि रोप्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । एउटा टुहुरो नातिलाई आफूले सिधोपिठो खाएर दुःख जीलो गरेर सहरमा पढाए, हुर्काए बढाए । नाति ठूलो भएपछि सरकारी जागिरे भएर पाल्ला ।
बुढेसकालको सहारा बन्ला भनेर सारै दुःख गरे । आफ्ना हजुरबाको इच्छा पूरा गर्दै आशारामले सहरमा राम्रोसँग पढ्यो, स्नातक तह पढ्दा पढ्दै उसले आमा गुमायो । त्यसको छ महिना नपुग्दै हजुरबुवा गुमायो । अचानक फैलिएको महामारीले आशारामलाई एक्लो बनायो । हातमा प्रमाणपत्र बोकेर आशारामले सहरका प्रायः सबैजसो कार्यालय चाहार्यो । बायो–डाटा बुझायो तर सधैँ–सधैँ निराशा मात्र हात लाग्यो । कारण थियो अनुभवविना जागिर नपाइने, जागिरै नखाई अनुभव नहुने यी दुई ध्रुव उसका लागि आकाशको फल आँखा तरी मर् भने जस्तै भए ।
उसलाई अब विदेश जाने तीव्र इच्छा शक्तिले पिरोल्न थाल्यो । भएको गैरीखेत बेचेर विदेशिएको आशारामले त्यहाँ पनि भने जस्तो काम पाएन । ऊसँग कामको अनुभव थिएन । नेपाल गए कपाल सँगै बर्मा गए कर्म सँगै भने झैँ भयो । उसले बल्ल तल्ल एउटा कृषि फारममा चौकीदारी गर्न थाल्यो । आफूले काम गर्ने ठाउँमा उसले दुई वर्षमा निकै काम सिक्यो । उसले टनेल खेती गर्ने विधि, खेतिपाती र पशुपालनको महत्त्व सम्बन्धि राम्रै ज्ञान प्राप्त गर्यो । केही पैसा पनि कमायो र फेरि आफूले पढेको सहरमा फर्किएर केही गर्ने उदेश्यले भौतारिन थाल्यो ।
पसल गर्ने कि फेरि जागिर खोज्ने कि के गर्ने भन्ने द्विविधामा भौतारिँदै गर्दा एकजना गुरुले उसको व्यघ्र मनास्थिति शान्त पार्दै उत्तम खेती मध्यम व्यापार निर्घिणी चाकरीश्च भन्ने प्रेरणात्मक कथा सुनाए । सहरमा जागिरको आशै नगर बाबु ! यहाँ मनसुनअनुसार भनसुन गर्ने मान्छे भए मात्र जागिर पाइन्छ । यहाँ योग्यता विज्ञताको कदर हुँदैन । मोटो कोसेली र पान सुपारी टक्रयाउन नसके जागिर कक्रयाउन सकिँदैन । जान्नेलाई श्री खण्ड नजान्नेलाई खुर्पाको बिँड जस्तै हो सहर । सहरको कहर काटेर कलकलाउँदो जीवनका रहरहरू मार्नुभन्दा अब श्रमको सम्मान गर्दै हरित कृषि क्रान्तिमा लाग्नु पर्छ । आफ्नो जन्मस्थल कर्मस्थलले तर्पांको स्पर्श खोजेको छ । अब पसिनाको मूल्य चुकाउने समय आयो. । माटोले तपाईको ममता मागेको छ ।
बलियो साथ मागेको छ दरिलो हात मागेको छ । युवाका वरिष्ठ पाखुरी मागेको छ बाबु ! आफूले आफैलाई विश्वास गर्नुस्, आफ्नो पहिचान आफैँ बनाउनुहोस् । अब तपाईका अमूल्य पसिना आफ्नै बाँझो जमिनमा पोख्नुस् । अब तपाई स्वरोजगार बन्नु पर्छ । रोजगारी खोजेर हिँड्ने होइन स्वयं रोजगारदाता बन्नु पर्छ । अब बाँझो जमिन खन्नुपर्छ र विस्तारै विश्वासका बेर्ना उमार्न थाल्नु पर्छ । तपाईँले उत्पादन गरेको बस्तुले यो स्वार्थी सहर पाल्नु पर्छ । व्ब्युँझनुहोस् थोरै निन्द्रारुपी भ्रमबाट, चाल्न थाल्नुहोस् पाइलाहरू । हामीले आफ्नो गाउँ आफैँ बनाउनुपर्छ । आफ्नो भाग्य आफ्नै कर्मयोगले लेख्ने हो । अल्छी मानिस भोकै मर्छ तर श्रम गर्ने मानिस कहिल्यै भोकै मर्दैन ।
आफूभित्रको हिम्मतलाई उमार्नुहोस् सीपलाई सजाउनुहोस तपाईंको जोश र जाँगरले माटोमा लडिबुडी गर्न पायो भने, तपाईंको पसिनाले माटो सिञ्चन गर्यो भने त्यहाँबाट समृद्धिका बेर्नाहरू उम्रन थाल्ने छन् । फक्रन थाल्ने छन अनि सुखले तपाईंलाई गम्लङ्ग अँगालो हाल्ने छ ।तपाईँ यो सहरको मरुभूमिमा काकाकुलझै छटपटाउनुभन्दा फर्किनोस गाउँ, पोख्नृुहोस् पसिना, गर्नुहोस् सिर्जना अनि फक्रन्छ अनि फुल्छ विश्वास तब साकार बन्छ समृद्ध नेपाल सुखी नेपालीको चाहना ।
यहाँ के छैन र हिमालको उच्चता, महाडको विकटता तराईको विराटताभित्र प्रत्येक ढुङ्गामा कलात्मक पानढिकी कुदेर नथाक्ने झरना, औषधीजन्य जडिबुटी जरुवाको चिसो पानी, यार्सागुम्बाको चमत्कारी शक्ति, जरुवाको अमृतसमान पानीले आफूलाई सिञ्चन गर्नुहोस् । अब कृषि क्रान्तिमा अगाडि बढ्नुहोस् यो जागिरको चक्कर आज अहिल्यै यसै क्षण त्यग्नुहोस् ।श्रम रोप्नुहोस् धर्तीले सिर्जना दिन्छ । अब भ्रम त्यागेर श्रममा लागौँ ।
युवाका जादुमयी पाखुरी, परिश्रमी हात र दरिलो साथ माटोले मागेको छ । हामी मरुभूमिमा पराधीन भएर श्रम बेच्न बाध्य छौँ तर यो प्रकृृतिको भूस्वार्गमा हाँसी हाँसी श्रम रोप्न किन लजाउँछौ । तपाईसँग हजार अवसरहरू छन् समयमै पहिचान गरेर सदुपयोग गर्नुहोस् । तपाई ममता छर्नुहोस् माटो मुस्कुराइदिन्छ । श्रम रोप्नुहोस् धरतीले सिर्जना दिन्छ । त्यही सिर्जनाको उत्साहले तपाईंलाई सिर्जनशील बनाउँछ । सम्पन्नताको बाटो चिनाउँछ । अनि तपाईंको वारि पारि टारीभरि सिर्जनाका फूलहरू मुस्कुराउन थाल्छन् ।
झाँगिन्छ समृद्धि फैलिन्छ गाउँगाउँमा अनि हातमा काम पेटमा माम पाएपछि को जान्छ खाडीको घाम ताप्न । हुँदैन, छैन, पाइनँ, भेटिनँ, दिएन भन्दै अरूको लहै लहैमा लाग्नुभन्दा, हुन्छ गर्छु, सकिन्छ, फुल्छ, फल्छ, सम्भव छ भन्ने चिन्तन गरौँँ परिवर्तन सम्भव छ । परिवर्तन सँगसँगै समयलाई साथ दिन समृद्धि टुप्लुक्कै आइपुग्ने छ । गुरुका कुरा सुन्दा सुन्दै आशारामले आफ्ना हजुरबालाई सम्झायो, हिजोको आफ्नो जन्मस्थल सम्झायो । त्यहाँको उर्वरा माटो सम्झियो र आफ्नो गाउँ आर्फैँ बनाउने निधो गरेर लाग्यो गाउँतिर । पहिले त उसलाई सबैले बौलाएर आएछ यो आशाराम त भने ।
त्यत्रो पढेको मान्छे आखिर खेतीपाती नै गर्नुपथ्यो नै भने हिजो सहरमा त्यत्रो पैसा खर्च किन गरेको भन्दै कुरा काट्नेहरू कोठा, चोटा, हाटबजार, मेलापात, ढिकीजाँतो, हिटी धारो पानाी पँधेरो जता ततै आशारामका कुरा काट्ने उसलाई निरुत्साहित गर्ने हतोत्साहित बनाउने काम मात्र हुन्थ्यो । जीवनमा बाउन्न हन्डर त्रिपन्न ठक्कर खाएर जीवनका कहालीलाग्दा कहरहरूमा आफ्ना रहरहरू बन्दकी राखेर कर्म पथमा अगाडि बढेको आशारामलाई कसैले रोक्न सकेन, कहिले छेक्न सकेन । कसले आफ्नो पुख्र्याैली पचास रोपनी बाँझो जग्गा खनजोत गर्यो ।
अल्पकालीन तथा दीर्घकालीन कृषि प्रणालीभित्र बहुबाली व्यवस्थापन गर्न सर्वप्रथम जरुवाको पानीको मुहान संरक्षण गर्यो । त्यसपछि बनमारा झार भेला गरेर ब्रिकेट (कोइला) बनाउने कला गाउँमा सिकायो । बारीमा समयअनुसार मौसमी तरकारीबाली लगाउन टनेलहरू बनायो । उन्नत जातका आँप, लिची, सुन्तला जुनार, अनार, कागतीका बिरुवा ल्याएर प्राविधिकको परामर्शअनुसार व्यवस्थित खाल्डा खनेर रोप्यो, समय समयमा उचित हेरचार तथा गोडमेल गर्यो । उसले केही जमिनमा, रुद्राक्ष अबोकार्डाेसमेत लगायो ।
व्यवस्थित कृषि व्यवसाय सञ्चालन गर्न गाउँका युवाहरू भेला गरेर आफैँले तालिम दियो र सीपसहितको रोजगारीको व्यवस्थापन गर्यो । सहकारीबाट आर्थिक सहयोग लिएर बाख्रापालन गाईभैँसी पालन सुरु गर्यो । अर्गानिक एवं बिषाधी प्रयोगविनैका ताजा र पौष्टिक फलफूल र तरकारी उत्पादन गर्न थाल्यो । उसले उत्पादन गरेका हरेक बस्तुको माग अत्यधिक बढ्न थाल्यो । सहरदेखि गाडी लिएरै आशाकृषि फाराम सोध्दै व्यापारीहरू आउन थाले । गाउँका जिज्ञासुहरू नियमित धाउन थाले ।
आशारामको अक्कलको नक्कल गर्दै अरूहरूले पनि वैज्ञानिक एवं खेती प्रणाली प्रारम्भ गरे । आज यो गाउँको नाम नै फेरिएर आशाको बगैँचा रहेको छ । स्वदेशी मात्र हैन विदेशीसमेत आएर यो रमणीय बगैँचाको फोटो क्यामरामा कैद गर्न व्यस्त देखिन्छन् । आज आशारामको वार्षिक आम्दानी करोडभन्दा माथि पुगेको छ । खाडीमा जान लागेका पच्चीस जना युवाहरूलाई रोजगारी दिएको छ ।
गाउँमा सुनजस्तै धान फल्यो, मोती जस्तै मकै । गहुँ, कोदो, फापर, जुनेलो पनि फस्टाउन थाल्यो । यहाँका सिँउडीमा समृद्घि फलेर ड्रयागनफुड घरघरमा रमाउन थाल्यो । यहाँको कदम (ज्याट्रोपा) को तेलले गाडी चल्न थाल्यो । यहाँका बेसीमा तोरीबारी भरी भुनभुनाउने माहुरीहरू समृद्घिका सपनाहरू जम्मा गर्दै अमृतरस सञ्चयमा व्यस्त देखिन थाले । हरियालीभित्र खुसीयाली पोख्दै कोइली स्वर गाउन थाल्यो । झ्याउँकिरी भन्ज्याङमा बाटो छेकेर आफनो झङ्कार गुन्जाउन थाल्यो । सुन्तला र कागती लटरम्मै फलेर समृद्विका कथा साकार पार्न थाले ।
आधुनिक पशुपालन व्यवसायले गोठालाहरू सुसेली हाल्दै गाई भैँसी खसी–बाख्रा पाल्न थाले । चिस्यानमा खोल्सीमा अम्लिसो र अलैँचीले समृद्घिका कथा हाल्न थाल्यो । नाङ्गा डाँडाहरूमा चियाका पोथ्राहरूले चिहाउन थाले । एभोगार्ड, किबी, अङ्गुर, ड्रयागनफुडले किसानमा उत्साह जगायो, गरिबीलाई भगायो । कृषिमा क्रान्ति किसानलाई शान्ति, अल्छेलाई भोक, कुरौटेलाई जोक बन्न थाल्यो । हिम्मतका पहाडहरू ठडिन थाले । युवाका पैताला स्वदेशमै अडिन थाले । प्रत्येक ढुङ्गामा कला कोरिन थाल्यो । सिर्जनाले पहाड फेरिन थाल्यो । मत्स्यपालन, फलफूल खेती, तरकारी खेती मौरी पालन, व्यवस्थित बाख्रापालन अत्याधुनिक तरकारी खेती एकैपटक फस्टाएको देखेर अल्छीहरू आहारिस गर्न थाले ।
जिज्ञासुहरू त्यो समृद्घिका अक्कलको नक्कल गर्न थाले । युवाको कोमल स्पर्शले माटोपानी हास्न थाल्यो, बाली बनेर झुल्न थाल्यो, जताततै सुगन्धको फूल फुल्न थाल्यो । श्रमको कदर भयो र श्रमिक रमायो, आफनो माटो, आफनो पाँटा, आफनो बाटो आफैँ कमायो अनि त समृद्घिले लय समायो । निराशा र लज्जा टाढटाढा भाग्यो । उत्साह मुसुमुसु हाँस्दै घरघरै डुल्न थाल्यो । अब त मेरै बारीमा समृद्घिको फूल फुल्न थाल्यो । आशारामको उत्साह अझैँ बढ्न थाल्यो । उसले आफूले सिकेको ज्ञान निस्वार्थ अरुलाई बाँड्न थाल्यो ।
आशाराम आज अगुवा किसान, प्रेरक व्यक्तित्वको रूपमा चिनिएको छ । खेर गएको खोल्सीमा अलैची, अम्लिसो लगायो, बारीभरी अदुवा, अकबरे खुर्सानी रोप्यो, मौसमअनुसारको तरकारी उत्पादन गर्यो । प्राङ्गारिक मलका लागि पशुपालन गर्यो । बहुबाली प्रथाको विकासले जमिन बारैमहिना उत्पादनशील बनायो, कही न केही उब्जाइरह्यो । उचित समय उचित मूल्य पाएर व्यापारी दङ्ग परेर सुन्तला, कागती, अनार, जुनार, एबोकार्ड जस्ता फलफूलले पाँच वर्षमै आशाराम आशा साहुको नामले समाजमा प्रसिद्धि कमाउन सफल भएको देखेर सबै अवाक भए ।
सकारात्मक सोच लिएर निरन्तर माटोमा पसिना बगाउन सके समृद्धि अवश्य फुल्ने रहेछ भन्ने प्रमाणको रूपमा आशाराम देखियो । गरे के हुँदैन, तर सकारात्मक, सिर्जनात्मक र रचनात्मक काम गरौँ । दाम कमाउन कहीँ जानु पर्दैन । अथाह सम्भावना यहीँ छ, हामीभित्र जाँगर चाहिन्छ, सीप चाहिन्छ, तत्परता चाहिन्छ । परिवर्तन सम्भव छ । यातायातको सुविधा पुगेको पानी बिजुली बत्ती जोडिएको अन्धविश्वासको भ्रम तोडिएको मेरो गाउँमा समृद्धिको फूल फुल्न थालेछ । आशाराम आफ्ना गुरु र ‘हजुर बा’को तस्बिरमा श्रद्धाका दुई थुङ्गा फूल चढाउँछ र मुसुक्क मुस्कुराउँछ ।