लोकसंवाद संवाददाता | समाचार | साउन ११, २०७८
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको सनाखत सुरु भएको छ ।
सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
निर्वाचन आयोग स्रोतले जसपाका कार्यकारिणी समिति सदस्यहरूको ‘हेड काउन्ट’ सुरु भएको बताएको छ । जसपाको आधिकारिकतासम्बन्धी निर्णय आजै आउन सक्ने निर्वाचन आयोग स्रोतको भनाइ छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको चरणमा छ । विभाजनपछि आधिकारिक दल कसको हुने भन्ने लडाइँ निर्वाचन आयोगसम्म पुगेको थियो ।
आयोग पटक पटक छलफल र बहसपछि अन्तिम निर्णय लिने तयारीका क्रममा दुवै पक्षमा खुलेका कार्यकारिणी सदस्यलाई हस्ताक्षरका लागि आयोगमा बोलाएको हो । आयोगमा भेला भएर जसको पक्षमा बहुमत सदस्य देखिन्छ, त्यही पक्षले पार्टीका आधिकारिता पाउनेछ ।
पार्टीको नाम, झण्डा र निर्वाचन चिह्न पाउने पक्ष आधिकारिक हुन्छ । अर्को पक्षलाई आयोगले नयाँ पार्टी दर्ता गर्न आह्वान गर्नेछ ।
निर्वाचन आयोगबाट आधिकारिकताका लागि उपेन्द्र यादव पक्ष अहिलेसम्म बलियो देखिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३२ जना यादवको पक्षमा खुलेका छन् ।
सोमबार बिहान हस्ताक्षरका लागि उनीहरू रिसोर्टबाट सिधै आयोग पुगेका छन् । कार्यकारिणी समिति र सांसदको संख्या ४० प्रतिशत पुग्ने अवस्थामा महन्थ ठाकुर पक्षमा देखिएको छैन ।