पहिला बाबा अहिले दादा

पहिला बाबा अहिले दादा

कैलाशकुमार सिवाकोटी  |  साहित्य  |  साउन १६, २०७८

हिजोआज घर सुनसान छ, निरस छ
भन्नुपरेको छ खोस्टामा पूरापूर रस छ ।
हाम्रा बा घरबाट विस्थापित हुनुभएको छ 
बाको स्थानमा दाइ स्थापित हुनुभएको छ । 

अहिले घरमा कसैले गीत गाउँदैन
उखान र चुट्किला कसैलाई आउँदैन 
कोही हाँस्दैन, कोही हसाउँदैन 
दाइको बोली छेउटुप्पो बुझिदैँन । 

बा भन्नुहुन्थ्यो—
ए भुराभुरी, ठीक्कका अनि बुढाबुढी !
पैसा बोक, जहाजको टिकट काट्नुपर्छ  
सरर्र पानी जहाजको स्वाद चाख्नुपर्छ । 
रेल चढ्नै पर्छ, चन्द्रमातिर बढ्नै पर्छ । 

अब सिलिण्डर बोकेर लखरलखर गर्ने होइन
वारिपारि गर्नलाई तुइनमा चढ्ने होइन ।
भाँडो बसाउनु, भकाभक पाइपले ग्याँस दिन्छ
अब देशले बिस्तारै दु्रत शैलीमा नयाँ गति लिन्छ । 

बा, हाम्रो बारिको पूरापूर नक्सा बनाउँन भन्दा 
मेसिन छँदैछ, नक्सा छापे भइगो नि भन्नुहुन्थ्यो 
सिघै भूमि ल्याउने भन्दै आलुको सङ्ख्या गन्नुुहुन्थ्यो । 
पछि मान्नुभयो, अरूलाई पनि मनाउनु भयो 
हेर्दाहेर्दै बुच्चेबाट चुच्चे नक्सा बनाउनु भयो । 

बा, बा नै हुनुहुन्थ्यो 
नाकाबन्दीमा आँखा जुधाउँने बाप्रति ठुलो आस थियो 
देब्रे, दाहिने, दक्षिण, बीच सबैको पूर्ण विश्वास थियो ।
बाले सम्मृद्ध अनि खुसी परिवारको गीत गाउँदा हाँसेको थिएँ  
पीडाले घेरिदाँ बाले जोगाउनुहुन्छ भनेर मजाले नाँचेको थिएँ । 

खोई कुन्नि बालाई के बिराम लाग्यो घर पनि बिग्रदै गयो 
स्वाभिमानको ओखती छोडेर बाले अहम्पनको दबाइ खानुभयो । 
भरिएर पोखिनुपर्नेमा बा भकभक उम्लिएर पोखिन थाल्नुभयो 
शुद्ध, वासनादारलाई फाल्दै धमाधम ढल र नालीलाई पाल्नुभयो ।

हेर्दाहैर्दै बाले पटकपटक 
जनताको घरमा, विधानमा आगो सल्काउनु भयो 
आफ्नै घरभित्र अराजकतालाई पल्काउनु भयो 
गतिलो मति पुनः दक्षिणतिर ढल्काउनु भयो । 
विश्वासको जगमा अविश्वास सल्काउनुभयो । 

जनताको मुखिया बा कि गजुरेल खुट्याउन गाह्रो भयो 
मदनकृष्ण, हरिवंशहरूको हुँदाखाँदाको जागिर गयो ।
नाङ्गै बनाएर आहा ! भनी फुक्र्याउँदा बा नाँच्नु भयो । 
यति राम्रो घर सकिँदा पनि बा मजासँग हास्नुभयो । 

मलाईमात्रै किन चिथोरिस् नभन्नु बा, 
अरूसँग त आस, विश्वास केही थिएन, त्यसैले बात मारिनँ 
फेल भइसकेकाले पनि तिनलाई चर्चायोग्यको पात्रमा पारिनँ । 
घुमिफिरी फेरि फेल भएका दाइले देखाउने रमिता हेर्नुपरेको छ 
कति भाग्यमानी यति गतिला बा र दाइलाई पालैपाले स्याहार्नुपरेको छ  ।