डा.भोजराज घिमिरे | साहित्य | साउन १६, २०७८
अमृत र बिख दुवैको सङ्गत बनी रह्यो
दुई नाउ पाउमा छन्, मनखत बनी रह्यो ।
बन्दै शिकारी रहने ‘हर्कत’ बनी रह्यो
पिउँदा रगत जुको भै आदत बनी रह्यो ।
भन्दिनँ म मेटिने छन् प्रिय, चोट प्रेमका
बद्लेर रूप दिल नै जब खत बनी रह्यो ।
के पो गरूँ म ‘बिचरो’, विद्या र बुद्धिले ?
धन मात्र जब यहाँको इज्जत बनी रह्यो ।
बेअर्थ हुन्छ जहिल्यै बेदाग हुनु तिमी
जब जून हरनजरमा अक्षत बनी रह्यो ।
के फाइदा गरिब हुनुमा भो भनूँ हजुर !
आफन्त चिन्नमा जब ‘मद्दत’ बनी रह्यो ।
‘तारा र जून’ जस्तो ‘शर्मालु’ किन रहौँ ?
सम्बन्ध जब शिखरझैँ उन्नत बनी रह्यो ।
चिट्ठी लेखेँ ‘खुसी’मा या ‘दु:ख’मा कुनै
भो आँसु नै मसी, तब लतपत बनी रह्यो ।
जब प्रेमिका थिएँ, थेँ गुञ्जन वसन्तकी
आमा भएँ म तब स्वर फतफत बनी रह्यो ।
भुल्दै नदी पुराना, रच्दै छ ‘तट’ नयाँ
मात्रै हृदय हजुरको भतभत बनी रह्यो ।
पिछलग्गुको ठुलो हुलमा ऊ हिँड्यो र त
‘ठिक’को विरोध गर्ने हिम्मत बनी रह्यो ।
मनमै सडेर रहने सायद छ त्यो नसिब
भन्दै छ, ‘सुख’ कहरले पर्वत बनी रह्यो ।
एक्लै सहूँ म कसरी प्रेमिल विरह अझै
बिस्फोट हुन्छु कि दिल, गारत बनी रह्यो ।
कति छटपटी हुँदो हो दिनभर त्यो जूनमा
जब ‘रात’मा प्रशंसाको ‘लत’ बनी रह्यो ।
के आस गर्नु त्यस्तो सरकारको कथन
झूटो कुरा जहाँ हरपल सत् बनी रह्यो ।
बद्लिन्छ के भनूँ खै हालत हजुर मेरो
आहत यहाँ स्वयम् नै आहत बनी रह्यो ।
बहरे मुजारे अखरब महजूफ