एलिसा ढुङ्गाना | साहित्य | साउन १६, २०७८
आमा !
अब सुसाउनु पर्दैन तिमीले
सल्लाको रुखझैँ एकनासले दुःखको सुस्केरा
बगाउनु पर्दैन तिमीले
सुनकोसीझैँ अविरल आँसुको नदी
परदेश गएका सन्तानहरूका नाममा
गर्नुपर्दैन देवी–देउराली भाकल ।
अब गाउँहरू उदास हुने छैनन्
सुन्दर र शान्त बस्तीलाई
तुवाँलोले ढाक्ने छैन
भोक अनि रोगले थलिने छैनन् मनहरू
निर्जन बनिरहने छैनन् रन–वनहरू
हो, सुन फल्ने खेत–बारीहरूमा
वनमाराको झाडी मौलाउने छैन ।
हाम्रा स्वप्निल आँखामा
कहिल्यै लाग्ने छैन कालो बादल
हाम्रा गतिशील पाइलाहरूमा
खडा हुने छैन कुनै अवरोध
निर्वाध हाम्रा यात्राहरू
सार्थक गन्तव्यतिर लम्किरहने छन्
अब साकार हुनेछ हाम्रो सपना !
सार्थक हुनेछ हाम्रो परिकल्पना !
बञ्जर जमिन र उजाड बगरहरूमा सुन
र, भीरपहराहरूमा सञ्जीवनी बुटी फल्ने छन्
अक्कर काटेर/पहाड फोरेर/ सुरुङ खनेर
गाडीहरू गुड्नेछन्/ रेलहरू दगुर्ने छन्
नदीका भँगालाहरूबाट झलमल
निस्किनेछन् करोडौँ प्रकाश १