बाबुहरि ज्ञवाली | जीवनदर्शन | साउन १७, २०७८
दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ।। ३८ ।।
अन्वय र अर्थ – अहं = म, दमयतां = दमन गर्नेहरूको, दण्डः = उन्मार्गमा लागेकालाई दमन गर्ने शक्ति, अस्मि = हुँ, जिगीषतां = विजय चाहनेहरूको, नीतिः = न्याय (सामादि उपाय), अस्मि = हुँ, गुह्यानां = गुप्त राख्न योग्य भावहरू मध्ये, मौनं = मौन, च = पनि, अस्मि = हुँ, ज्ञानवतां = ज्ञानवान्हरूको, ज्ञानं = ज्ञान, म हुँ ।
भावार्थ – दमन गर्नेहरूको म दण्ड हुँ, जयेच्छुहरूको म नीति हुँ, गुप्त राख्न योग्य भावहरूमध्ये म मौन हुँ, अति ज्ञानवाद्हरूको म ज्ञान हुँ ।
विशिष्टार्थ – 'दण्डो दमयतामस्मि'–दुर्दान्तहरूलाई शासन गर्न जति प्रकारका उपायहरू छन् ती मध्ये दण्ड म हुँ । साधक ! हेर, तिम्रो शरीरमा इन्द्रिय, इन्द्रिय ग्रा्हथ विषय, काम क्रोधादि जे जति अन्तःकरण वृत्तिहरू छन् यी समस्त दुर्दान्त हुन् । यी सबैलाई शासनमा ल्याउने उपाय एकमात्र प्राणायाम हो । अएव जति प्रकारका शासन उपाय छन् ती मध्ये प्राणायाम रूप दण्ड 'म' नै हुँ – जसको बलले सबै स्थिर हुन्छ, कैवल्य स्थितिको प्राप्ति पनि हुन्छ ।
'नीतिरस्मि जिगीषतां'–जयेच्छुहरूको नीति म हुँ । पर (अरू) लाई जसद्वारा आयत्त (अधीन) गरिन्छ त्यसैलाई नीति भन्दछन् । कर्मको कौशलको नाम नीति हो । यो कर्म नै चित्त पथमा प्राणको परिचालन हो । यसैमा अहंत्व प्रतिष्ठित छ । जिगीषु उसलाई भनिन्छ, जसले मायालाई जय गर्ने इच्छा गर्छ ।
मानव शरीरको एक एक अवयवमा भिन्न भिन्न अंग प्रत्यंग र लाखौं लाख रोमकूप विद्यमान छन् त्यस्तै नै एक भगवत् अवयवमा कोटि कोटि ब्रम्हाण्ड विद्यमान छन् । भगवान् विश्वरूपी हुनुहुन्छ, विना भगवान् दृश्यादृश्यको भित्र बाहिर केही पनि हुंदैन ।
'मौनं चैवास्मि गुह्थानां'–जगत्मा जति प्रकारका गोपनीय पद छन् ती मध्ये ब्रम्ह विलास रूप जुन तुष्टि हो, त्यसैलाई मौन भन्दछन् । अतएव त्यो मौन 'म हुँ ।
'ज्ञानं ज्ञानवतामहं' – ज्ञानीहरुको आत्माज्ञान पनि ”म” हुँ ।
यच्चापि सर्वभूतानां वीजं तदहमर्जुन ।
न तदस्ति विना यत् स्यान्मया भूतं चराचरम् ।। ३९ ।।
अन्वय र अर्थ – अर्जुन = हे अर्जुन ! यत् = जुन, च = अनि, सर्वभूतानां = सम्पूर्ण जगत्को, अपि = पनि, वीजं (प्ररोहरणकारणं) = उत्पत्तिको कारण छ, तत् = त्यो, अहं म नै हुँ, (यतः = जुन कारणले), मया विना = म विना, यत् = जो, स्यात् = होला, तत् = त्या,े चराचरं = चर अचर, भूतं = भूत प्राणी, न अस्ति = छैन ।
भावार्थ – हे अर्जुन ! सर्व भूतहरूको जुन बीज (प्ररोहणकारण) छ त्यो म हू, त्यस कारण चर अचर यस्तो कुनै भूत छैन, जुन म विना हुन सकोस् ।
विशिष्टार्थ – हे साधक ! यस स्थावर जंगमात्मक विश्वमा जे जति तिमी देख्दछौ त्यो सबै नै 'म' हो । म विना 'तिमी' भनेर केही पनि देख्न पाउने छैनौ । म बाहेक कसैको पनि पृथक् सत्ता छैन ।
नान्तोऽस्ति मम दिव्यानां विभिूतीनां परन्तप ।
एष तुद्देशतः प्रोक्तो विभूते र्विस्तरो मया ।। ४० ।।
अन्वय र अर्थ –परन्तप = हे परन्तप ! मम = मेरा, दिव्यानां = दिव्य, विभूतीनां = विभूतिहरूको, अन्तः = अन्त, न अस्ति= छैन, एषतु =यो त, विभूतेः = विभूतिको, विस्तरः = विस्तालाई, मया = मैले, उद्देशतः = संक्षेपले, प्रोक्तः = भनिएको हो ।
भावार्थ – हे परन्तप ! मेरा दिव्य विभिूतिहरूको अन्त छैन, त्यसकारण यस विभूति विस्तारलाई संक्षेपले भनिएको छ ।
विशिष्टार्थ–'परन्तप'– जसले अरूको बलया शक्तिलाई पीडन गर्ने शक्ति राख्दछ उसलाई परन्तप भन्दछन् । यी मायामय जति विभूतिहरू छन्, मायालाई दबाएर 'म' प्रतिपादन गर्न नसक्नाले यी सबैको अन्त गर्न सकिदैन । यी विभूतिहरूको किनारा छैन । तर पनि प्रधान प्रधान अलिकति भनिएको छ ।
'उद्देशतः' = उद्देश्य गरेर अर्थात् प्रधानको नाम लिंदा तज्जातीय समुदयलाई उद्देश्य गरिएको हुन्छ, त्यसकारण विभूति अनन्त छन् ता पनि संक्षेपले सबैनै भनिएको छ ।
यद् यद् विभिूतिमत् सत्वं श्रीमदूर्जितमेव वा ।
तन्तदेवावगच्छ त्वं मम तेजोऽश सम्भवम् ।। ४१ ।।
अन्वय र अर्थ – विभूतिमत् = ऐश्वर्ययुक्त, श्रीमत् = सम्पत्ति युक्त, ऊर्जितं = कुनै पनि प्रभाव बल आदि गुणले युक्त, यत् यत् = जुन जुन, सत्वं = वस्तु हुन्, तत् तत् एव = ती ती नै, मम = मेरो, तेजोंशऽसम्भवं = तेजोमय अंशबाट उत्पन्न, अवगच्छ = जान ।
भावार्थ – जे जति विभूतिमत्, श्रीमत् र तेज युक्त वस्तु देख्छौ तिनीहरूलाई मेरै तेजको अंश संभूत जान ।
विशिष्टार्थ – गुण, बल, प्रभाव, ऐश्वर्य सम्पत्तिले सज्जित जे छ त्यसलाई मेरै तेजको अंशद्वारा प्रकाशित जान ।
अथवा बहुनैतेन किं ज्ञात्तेन तवार्जुन ।
विष्टभ्याहमिदं कृत्स्वमेकांशेन स्थितो जगत् ।। ४२ ।।
अन्वय र अर्थ – अथवा = अथवा, अर्जुन = हे अर्जुन ! तव = तिम्रो, एतेन = उपर्युक्त प्रकारले वर्णन गरिएका, बहुना = धेरै कुराहरू, ज्ञातेन = जान्नाले, किं = के प्रयोजन सिद्ध होला ? (यस्मात् = त्यसकारण), अहं = म, इदं = यो, कृत्स्नं = सम्पूर्ण, जगत् = जगत्लाई, एकांशेन = सर्वभूतको आत्मरूप जुन मेरो एक अंश छ त्यसद्वारा, विष्टभ्य = दृढतापूर्वक धारण गरेर, स्थितः = रहेको छु ।
भावार्थ – अथवा हे अर्जुन ! यस प्रकारको बहुज्ञानले तिम्रो के प्रयोजन सिद्ध होला ? म यस समग्र जगत्लाई आफ्नो योग शक्तिको एकांशले धारण गरेर रहेको छु ।
विशिष्टार्थ – हे साधक (अर्जुन) ! यस अनादि अनन्तलाई सादि सान्तद्वारा अरू बुझ्न खोज्नु कुनै प्रयोजन छैन । यो निश्चय गरेर मान, यो विश्वकोष महतत्वबाट उत्पन्न भएको हो । असीम ब्रम्ह पनि महतत्वमा ठीक त्यस्तै हो जस्तो गाईको खुरलेबनाएको खोविल्टोमा पानीमा प्रतिविम्बित आकाशको छाया हो । त्यस्तै तिमी, हामी प्रभृति नाना भूतहरूमा पनि उही ब्रम्ह प्रभासित छ । जस्तो आकाशको गर्भमा सागरान्त पृथिवी अपार जलको घेराले यो द्वीप, त्यो द्वीप नामले छुट्याइएको भए ता पनि तल तलको जल भित्र सबै जल मिलेर एउटै छ, तर पनि अज्ञानताले गर्दा नानात्वको भ्रमले सबैलाई बुद्धिहीन बनाइदिएको छ । वास्तवमा एउटै मात्र छ त्यस्तै असीम ब्रम्हको एकांशमा मायाको घेराले छुटिृएको जगत् पृथक् पृथक् जस्तो भान हुन्छ ।
जबसम्म ज्ञान दृष्टिको विकास हुँदैन तबसम्म पृथक् भावले भगवत् सत्ता संझिने हुन्छ र तबसम्म मात्र बहुज्ञान रहन्छ । ज्ञान दृष्टिको विकास भएपछि अरू पृथक् दृष्टि रहदैन, बहुज्ञान पनि रहदैन, त्यसबेला एक दृष्टि या समदृष्टि रहन्छ, तब यो अखिल जगत् एक भगवत् अंश मानेर प्रत्यक्ष हुन्छ । जस्तो मानव शरीरको एक एक अवयवमा भिन्न भिन्न अंग प्रत्यंग र लाखौं लाख रोमकूप विद्यमान छन् त्यस्तै नै एक भगवत् अवयवमा कोटि कोटि ब्रम्हाण्ड विद्यमान छन् । भगवान् विश्वरूपी हुनुहुन्छ, विना भगवान् दृश्यादृश्यको भित्र बाहिर केही पनि हुंदैन । अतः श्रुतिले भन्दछ–'पादोऽस्य विश्वा भूतानि'।
अर्जुन (साधक) अव उपासनाकाण्डमा उन्नति लाभ गरेर दिव्यचक्षु प्राप्त गर्न उपयुक्त भएका छन्, त्यसकारण भगवान् (गुरुदेव) ले यस श्लोकमा उनलाई बहुज्ञान त्याग गरेर एक ज्ञानको अवलम्बन गर्ने आभास दिनुभएको छ । यहाँबाट नै विश्वरूप दर्शनको सूचना मिल्दछ ।
इति श्रीमद्भगवग्दीतासूपनिषत्सु ब्रम्हविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे विभूतियोगो नाम दशमोऽध्यायः ।
क्रमश
याे पनि
शरीरको शास्ता वा शासक : आत्मा र परमात्माको रमणकार्यको मिलन रूप
वादको प्रवर्द्धन : सत्यको निर्धारण गरी जिज्ञासा शून्यताको चरण
मोक्ष प्रतिपादक साम वेद भित्रको 'बृह साम' :आत्म साक्षात्कार स्थिर र चिरस्थायी हुने अवस्था
कवित्वको प्रारम्भ: मृत सञ्जीवनीको शक्तिले 'उशना' मृतकलाई पनि प्राण दान !