जसपा तनाव: अध्यक्ष यादवले ठाकुर खेमालाई गरे यस्तो अपिल

जसपा तनाव: अध्यक्ष यादवले ठाकुर खेमालाई गरे यस्तो अपिल

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २१, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर खेमालाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन् । 

उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा बाहिर रहेकालाई पुनः पार्टीमै फर्कन अपिल गरेका हुन् । 

'विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नुपूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नुभएका वा अन्यत्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिनाहिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किएर अग्रगमन र बैकल्पिक शक्ति निर्माणको महान् अभियानमा साथसाथै अगाडि बढ्नुहुन हार्दिक अपिल गरिन्छ', विज्ञप्तिमा भनिएको छ । 

महन्थ ठाकुरले भने निर्वाचन आयोगले यादव खेमालाई दलको मान्यता दिनुले आफूहरू मर्कामा परेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका छन् । रिटमा बुधबार सुनुवाइ गर्दै अदालतले १५ दिनभित्र कारण देखाऊ आदेश जारी गरेको छ ।