विश्व बैंक, डा. प्रेम संग्रौला र सुकीधुकी

नियात्रा

विश्व बैंक, डा. प्रेम संग्रौला र सुकीधुकी

जया राई  |  साहित्य  |  साउन २३, २०७८

संसारका धेरै मानिसहरूको सपनाको देश अमेरिकामा होलिडे मनाउने क्रममा मेरो दोस्रो पटक यात्रा हुँदै छ भने श्रीमान्‌जीका लागि पहिलो हुँदै छ । हाम्रो यो भ्रमण २२ नोभेम्बरदेखि ७ डिसेम्बरसम्मको जम्मा १६ दिनको मात्र छ । 

हामीले त्यहाँ पुगेर कताकता घुम्ने र कोको साथीभाई भेट्ने भन्नेबारेमा पहिले नै सूची बनाए पनि त्यसअनुसार हुन सकेन । तर, बुद्धिजीका साथीहरू आङ फुरी लामा, कुसुम राई र डा. प्रेम संग्रौला सबैलाई पूर्वयोजनाअनुसार नै भेट्ने अवसर मिल्यो । कृष्ण धराबासी दाजु निकै अगाडिदेखि नै नेपालमा भएकाले चाहेर पनि सूचीमा पार्न सकिएन ।

यी सबै जनालाई एक बनाउने माध्यम हो, कृषि विकास बैंक । यी सबै कृषि विकास बैंकका समकालीन कर्मचारीहरू हुन् । आजको यस यात्रा संस्मरणमा उनका साथी डा. प्रेम संग्रौला, जो विश्व बैंक, वासिङ्टन डीसीमा कार्यरत छन्, उनलाई नै सिल्भर स्प्रिङबाट वासिङ्टन डीसीमा भेट्न जाँदाको रमाइला पलहरूको वर्णन गर्दै छु । 

डा. प्रेम संग्रौलालाई भेट्न जाने मिति उनले नै फोनमा दिए, ३ डिसेम्बर बिहीबार साढे १० बजेपछि । 

आज ३ डिसेम्बर बिहीबार । आकाश खुला छ, सफा छ, कलिला घामका किरणले अग्ला रूखको टुप्पामा लालिमा पोतिएको छ । सबै पातहरू झरेर नाङ्गिएका रूख बिरुवाहरू चिसाले काठ्याङ्ग्रिएका छन् । यसपालि हिउँ ढिलो झर्‍यो भन्नुहुन्छ दिदी । तर, हिउँ नपरे पनि बिहान–बेलुका तुसारो परेर भुइँ सेताम्मे भएको छ । 

जाडोको आक्रमण कम्ता छैन । खाली हिउँ मात्र नपरेको त हो नि ! ब्रेकफास्ट खाएर तयार हुँदै गर्दा काठमाडौंबाट आमा र बहिनी संगीताले फोन गरेर अलिक अलमलियौँ । 

जहाँ हामी बसेका छौँ, त्यहाँबाट वासिङ्टन डीसी पुग्न त्यति टाढा नभए पनि बस र रेलको यात्रा गर्नै पर्छ । कारमा जाँदा दिदीलाई डीसीको जेलिएको बाटोले जहिले पनि दुःख दिएर घुमाउने भएकाले आज कारमा नगएर लोकल बस वा रेलमा जाऔँ भन्ने उनको राय छ ।

बससम्म पुग्नका लागि हामी ५ मिनेटको दूरीमा कारमा जानुपर्छ । कारको सिसामा लागेको बाक्लो तुसारो पखाल्न समय लाग्ने नै भयो । करिब ५ मिनेटको यात्रापछि सडक छेउमा कार पार्क गर्दै गर्दा व्यागमा यसो छामेँ, मेरो पासपोर्ट त छैन । बुद्धिजी कार राम्ररी पार्क नगर्दै निस्केर अगाडि सरासर हिँडिहाले । 

यो सानो गाउँ अलिक गैरी परेका, हातले सम्याएर बनाएको जस्ता सानासाना पाखाको भित्तोमा अडिएर ठडिएका साना रहरलाग्दा लभस्टोरी घरहरू । मन भन्छ, यतै बसौँ । मोहनी लगाउँछन् यी सुन्दर दृश्यहरूले । चिसाले कठ्याङ्ग्रिएका नाङ्गा रूखहरू र सडकका दुवैै किनारा छपक्कै सेतो तुसारोले विभिन्न आकार बनाएको पहँेला कपासको थाकले, गलैँचा ओच्छ्याएजस्ता । 

भुइँमा चरमचरम टेक्दै हामीलाई पनि नपर्खिई सरासर अगाडि बढेर उनलाई भन्नु भन्दाभन्दै अलिक पर पुगे । मैले दिदीलाई भनेँ, ‘दिदी, घर फर्काैं होला पासपोर्ट लिन, भरे बाटोमा सोधखोज भएमा झमेला होला ।’

दिदीले केही नभनी कार फरक्क घुमाइन् । हामी ५ मिनेटका लागि फेरि घर फर्कियौँ । त्यही बाटो हो, खाली छ, ट्राफिक छैन । मिलिक्कै नै फेरि फर्कियौँ । 

त्यो करिब ५ मिनेटको समयमा उनले फोटो खिचिसकेछन् । फर्केर हेर्दा हामीलाई नदेखेपछि, ‘कुन गतिमा हिँडेछन्’ भन्दै बस स्टपमा पुगेछन् । बस स्टपमा पनि हामीलाई नदेख्दा अत्तालिँदै कार पार्क गरेकै ठाउँमा आउँदै गरेको हामीले देख्यौँ । त्योबेला जाडोले कठ्याङ्ग्रिए पनि उनमा देखिएका ठाडा कान, हस्याङफस्याङ देख्दा हामी २ दिदीबहिनी मरीमरी हाँस्यौँ । 

उनी जङ्गिए, ‘कता गएको ? यता पनि छैन, उता पनि छैन ।’

मैले भनेँ, ‘पासपोर्ट घरैमा छुटेछ नि त !’

उनी फेरि जङ्गिए, ‘हेर, बेहोसी !’

क्षणभरमा नै उनको पारो अलिक तल झरेको छ । अब फेरि त्यही बाटो, तिनै सुन्दर घर, तिनै पहेँला, सुनौला पातका पत्रपत्रमा तुसारोको कृष्टल बाटाहरूलाई नियाल्दै, चिर्दै बस स्टपमा पुग्छौँ । 

मोटर वेमा रहेको बस स्टपमा, सडकमा कुदेका कारका ताँती, चौडा सडक ३ लहर आउने, ३ लहर र जाने कुनाको बस स्टमा अरू पनि यात्रुहरू बस कुर्दै छन् । त्यसमा हामी पनि थपियौँ । केही क्षणमा एक तल्ले नीलो रङको बस रोकियो । 

यत्रो ठूलो विश्व बैंकको आडमा रहेको यो सानो पार्कमा ओझेलमा परेर होला, सडक मानिसहरूका लागि आश्रयस्थल जस्तै रहेछ । एक जना मानिस झोला रुङेर बसेको थियो । अर्को मानिस चिसो फलैँचामा कोट ओढेर सुतेको छ । अर्कोचाहिँ चुरोटको लामोलामो सर्को तान्दै आफ्नो ठूलो सुटकेसको आडमा ऊ आफैँसँग हराइरहेको छ । 

अफ्रिकन मोटे ड्राइभर छ । लन्डनमा जस्तो ड्राइभरको सेफ्टीका लागि बन्द क्याब छैन, खुला छ । पैसा हाल्नका लागि टोकरी पनि छ र स्मार्ट कार्डका लागि मिटर रिडर मेसिन पनि छ । 

हामी स्मार्ट कार्ड मेसिन रिडरमा छुवाउँदै भित्र छिर्‍यौँ । पछाडि पसे बुद्धिजी । दिदी र मैले पनि सिट पाएर बस्यौँ । बस घुइँकिँदै छ । बसका प्यासेन्जरहरू चढ्दै, झर्दै गर्छन् । बसका यात्रुहरू अफ्रिकन, एसियन र स्पेनिस मिश्रित छन् । बसलाई रोक्नका लागि लामो पहेँलो डोरी अगाडिदेखि पछाडिसम्म तन्किएको छ । त्यो डोरीलाई तान्दा घण्टी बज्दोरहेछ, जो ड्राइभरको माथि बस्छ । 

अमेरिकाको ड्राइभरले कार देबे्रतिर बसेर चलाएको देख्दा अलिक अप्ठ्यारो लाग्छ । २० मिनेटजतिको यात्रा भए पनि बीचबीचमा रोकिँदै गएको बसले लय र तालमा रोकिएझैँ लाग्छ । 

दाहिनेपट्टिको बस स्टपका यात्रुहरू बसको पर्खाइमा तुसारोको चिसोलाई बेवास्ता गरेर बसेका छन् । कुनै बस स्टपमा यात्रुहरूका लागि रङ्गीचङ्गी कुर्सीहरू राखिएको रहेछ । मेरा आँखाहरू हरेक बस स्टपलाई उत्सुकतासाथ हेर्छन् । 

क्रिसमसको सिजन हो, टाढा छैन, नजिकै आउँदै छ । रङ्गीचङ्गी घरहरू दुलही जस्तै बत्तीको सोह्र शृङ्गारले सजिएका छन् । ती सारा रमिता देखाउँदै हामी चढेको बस नम्बर के६ले हामीलाई फोट् टाथन स्टेसनमा पुर्‍यायो । यो अरू पनि धेरै बसहरूको लास्ट स्टप रहेछ । यहीँबाट अब रेलको टिकट पनि लिँदै छौँ ।

अब मेट्रो चढेर मेटो सेन्ट्रल स्टेसनमा जाँदै छौँ । बिहानको यात्रा भएकाले रेल अलिक भीड नै छ । अमेरिकी ट्रेन स्टेसनहरू र रेलहरू ठूलाठूला, भन्नाले ढ्वाङ्ग्रे लाग्छन् मलाई । हाम्री उषा दिदीलाई बेलायतका रेल साँघुरा लाग्छन् रे ! यिनै कुरा गर्दै हामी सिटमा बसेका छौँ । 

झ्यालबाट देखिने दृश्य तिनै हुन् । रूखका बचेखुचेका पातहरू रातै भएर सजिएका छन् । यी रङ्गिएका मनमोहक दृश्य हेर्न फेरि अर्को पटक अमेरिका भ्रमण गर्न मन छ । रेल आफ्नो गतिमा दौडिरहेको छ । 

मेट्रो सेन्ट्रल स्टेसन डीसी एरियाको ठूलो जङ्सन स्टेसन रहेछ, रोकियो । निस्किएर हामीले एच१८ स्ट्रिट खोज्नु छ, जहाँ विश्व बैंक अवस्थित छ । 

ठूलो स्टेसनमा ३ तल्ला स्केलेटर चढ्दै बाहिर निस्कियौँ । हामी ३ जना स्टेसनबाहिर निस्केर स्ट्रिट एच१८ खोज्न थाल्यौँ । स्टेसनको बाहिर सडकमा फूल बेच्दै गरेको गोरा मोटेलाई सोधेको, उसले दाहिने हात उठाएर ‘उता हो’ भनेर देखायो । हामी त्यतैतिर लाग्यौँ । 

दिदीलाई अलिक गाह्रो भइरहेको छ । उनले हामी गएदेखि एक दिन पनि आराम पाएकी छैनन् । अलिक खोच्याङखोच्याङ गर्दै हिँडेकी छन् । मलाई आज उनलाई लिएर आएकामा पश्चात्ताप भएको छ । भोलि काम छ, आज दिनभर दिदीलाई घिस्याउँदै हिँड्दै छौँ । श्रीमान्‌जी फटटाफट हिँड्दै अगाडि, म उनको अलिक पछि, दिदीचाहिँ अलिक तलै । 

सडकमा चलेका ट्राफिकले मलाई दिक्दार लागेको छ । हामी सडक पेटीबाट हिँड्दै जाँदा १० मिनेटजति हामी हिँडिरहेका छौँ । आगाडि–पछाडि हुँदै एउटा पार्कमा पुगेर रोकियौँ हामी । परैबाट हामीले खोजेको स्ट्रिटको नाम भएको सडक भेटियो । श्रीमान्ले फोन गरिसकेका छन्, साथीलाई हामी नजिकै छौँ भनेर । 

यत्रो ठूलो विश्व बैंकको आडमा रहेको यो सानो पार्कमा ओझेलमा परेर होला, सडक मानिसहरूका लागि आश्रयस्थल जस्तै रहेछ । एक जना मानिस झोला रुङेर बसेको थियो । अर्को मानिस चिसो फलैँचामा कोट ओढेर सुतेको छ । अर्कोचाहिँ चुरोटको लामोलामो सर्को तान्दै आफ्नो ठूलो सुटकेसको आडमा ऊ आफैँसँग हराइरहेको छ । 

डिसेम्बर महिनाको चिसो मौसम, त्यसमा पनि खुला आकाशका ती यात्रीहरू भएको सानो पार्क पनि त्यहीँ छाडेर हामी विश्व बैंकको भवनतिर लाग्यौँ । 

भित्र पसेर रिसेप्सनभित्रको लाइनमा बसेका छौँ । सुरक्षा व्यवस्था कडा रहेछ । त्यसका लागि आफ्नो परिचयपत्र, पासपोर्ट अथवा अरू नै कार्ड केही चाहिनेरहेछ । बिहान छुटेको पासपोर्ट लिन घर नफर्केको भए विश्व बैंकको आँगन टुलुटुलु हेरेर मैले फर्किनुपर्ने थियो होला । लिएर आएको ठीक भयो । आफैँ खुसी भएँ ।

रिसेप्सन डेस्कमा पुग्नु अगाडि लामो लाइन छ । धेरै काउन्टर भएकाले हाम्रो पालो आउँदा नआउँदै हामीलाई लिन पे्रम संग्रौला देखापरे । मैले सोचेको भन्दा धेरै भिन्न थिए उनी । मैले पहिलो पल्ट भेटेँ उनलाई तर मेरो श्रीमान्का लागि करिब ३५ वर्षपछिको भेट थियो ।

उनीहरू जागिरको सिलसिलामा कृषि विकास बैंकका कर्मचारी थिए, त्यसबेलाका समकालीन साथी । उनीहरूको त्यो आत्मीयता विश्व बैंकको रिसेप्सन डेस्क अगाडि बाँधिएको अँगालोमा नै देखियो । त्यसबेला छुटेका उनीहरू अहिले भेट हुँदाको त्यो दृश्य वास्तवमा अति नै मार्मिक थियो । 

दुवै जनाका हात फैलिएका थिए अनि अंकमालमा बाँधिएका थिए । हामी २ दिदीबहिनीले त्यो आत्मीयताको फोटो खिचेर कैद गर्‍यौँ । उनीहरू दुवैको मुहारमा खुसी, हर्षको सीमा अपरम्पार थियो । 

त्यो मिलनको मीठो क्षणपछि उनी हामीतिर फर्किए, परिचय भयो । उषा दिदीसँग उनी परिचत रहेछन् नै । नौली म नै थिएँ, परिचय भयो । उनको भद्रपन, शालीनता त्यहाँ अपार थियो । 

त्यहाँ अल्मलिएर रहने ठाउँ थिएन, धेरै मानिसहरूकोे आवतजावत भइरहने । भेट्नेलाई लिन माथिबाट आउनुपर्ने रहेछ अथवा आफैँले आफ्नो परिचयपत्र देखाएर जानुपर्ने । साथमा भएका झोला सेक्युरिटीले मेसिनमा हालेर हेरेर चेक हुने रहेछ । काउन्टरबाट क्षणभरमा नै हाम्रो फोटो खिचेर टेम्पोररी आइडी कार्ड तयार भयो ।

हामी लिफ्टभित्र लाग्यौँ । सायद यो तेस्रो तल्ला थियो, एउटा ठूलो पटाङ्गिनीमा पुग्यौँ, जहाँ लहरै सीडीमा मिलाएर राखिएका लालुपाते र गोदाबारी फूलका गमलाले मनमोहक बनाएको छ । त्यो दृश्यमा रमाउँछौँ, चारैतिर अग्ला भवनको बीचको तल्लाको यो पटाङ्गिनीमा मानिसहरूको आवतजावत पातलो छ । बाहिरको उज्यालो जस्तै भित्र बलेका बत्तीले झलमल छ । 

त्यसै त चाडको तडकभडक, त्यसमा पनि त्यो बत्तीको झिलिमिली । हामी त्यो विश्व बैंकको पटाङ्गिनीमा हामी फोटो खिच्दै कैद गर्न थाल्यौँ । सिङ्गल, जोडी, त्यो कुना, यो कुना, त्यो गमलाको कुना, त्यो गमला, कता पो बाँकी भयो होला र ! फोटो सेसन धेरै भयो । 

थाके क्यार, अलिक छेउको बेन्चमा बसेर परपरको दृश्य हेर्दै २ जना साथीको धेरै पहिलाका दिनको पोका पन्तुरा खोलिन थाले । हामी दिदीबहिनी पनि उनीहरूसँगै ‘नोस्टाल्जिक’ हुन्छौँ । झापा, धनकुटा, भोजपुर, गाईघाट, सोलु धेरै ठाउँको अतीत अहिले विश्व बैंकको आँगनमा छताछुल्ल भएर वर्तमानमा माला भएर उनिँदै थिए । 

अरू साथीहरूको विकास, सफलता, को कहाँ पुगे ? केही त परलोक भएको खबर र तीतामीठा अनुभूति साटासाट भयो । हामी २ दिदीबहिनी ती पुराना साथीको मित्रताको पोका पन्तुरा खोलिँदै जाँदाको उनीहरूको अनुहारका भावभङ्गिमा हेरेर अतीतका ती दिनहरूको गाथा सुन्दै गयौँ । ती २ मित्रको कुरा सुन्दा एउटा सुन्दर माला जस्तै लाग्यो । मिठास, छ, माधुर्य छ ।  कुनै संगीतको झङ्कार सुनेझैँ लाग्यो ।

लन्चको समय भएर होला, त्यो विशाल पटाङ्गिनीमा बिस्तारै चहलपहल हुन थाल्यो । 

हामी पनि लन्च खान जाने कुरा भयो । हामीलाई लागेको थियो, बढी भनेको २० मिनेट, त्योभन्दा बढी समय त्यहाँ नलिने । तर, हाम्रो समय डेढ घन्टा भइसकेछ । खाना नखाई फर्किन विश्व बैंकले दिएन, उनको आग्रह अस्वीकार गर्न सकेनौँ । उषा दिदीले भन्नुभयो, ‘संग्रौला सर, तपाईंको जागिरमा धक्का लाग्ला नि !’ 

उनले भने, ‘होइन, सधैँ यस्तो हुँदैन, त्यति टाढाबाट साथी आउनुभएको छ ।’ 

मैले ल्याएको मेरो उपहार दिने बल्ल अवसर मिल्यो । मेरा ३ वटा कृति एकै साथ दिन पाएँ । उनी पहिलो व्यक्ति उनै हुन्, उनलाई मेरो ३ वटै पुस्तक उपहार दिएँ । एउटा लेखकले अर्को लेखकलाई दिने उपहार योभन्दा अरू के होला र ! फोटो खिचेर त्यो क्षणलाई समात्ने काम दिदीकोे क्यामराले कैद गरेको छ । 

अघि आएको बाटो हुँदै एक तल्लामुनि हामी फुडकोटतिर झर्‍यौँ । त्यो त झन् ठूलो पटाङ्गिनी पो रहेछ । हरेक महादेशको खाना, इन्डियन, चाइनिज, अमेरिकन, अफ्रिकन, हरेक खाना आफैँले लिन सकिने । छानेर पैसा तिर्न काउन्टरमा पुग्दा उनले नै तिरे । त्यो आतिथ्य न्यानो थियो ।

मैले लिएको सलाद अलिकति पास्ता, वेगल अनि कोदो उसिनेको जस्तो अफ्रिकन खाना र सुप । स्वादिलो खाना । टेबलमा भेला भएर खाना खाँदै गफिँदै छौैँ । मानिसहरू सलहझैँ फुडकोर्टमा छन् । संसारभरका मानिसहरू आएर काम गर्ने विश्व बैंकको यो फुडकोर्टमा संसारका मानिसहरूको खाना तयार हुन्छ । 

संसारका मानिसको रमिता हेर्दै खाना सकेर फेरि फर्कियौँ । यत्रो विश्व बैंकको मुख्यालयमा कुन कता छ, केही पत्ता छैन, हामी उनको पछिपछि छौँ । उनले ट्वाइलेट लगे अनि फेरि हामी एक तल्लामा अडिएर अघिकै पटाङ्गिनीमा आयौँ । 

खोकिलाबाट निकाल्दै दिनुभयो संग्रौलाजीले, ‘यो मेरो पनि एउटा पुस्तक, हाम्रो घरमा पालेका चराहरूको बारेमा लेखिएको, खण्ड काव्य’ भन्दै । 

चराको कथा, प्रेमले दिएको त्यो कृति प्रेमले नै स्वीकार गरेँ । दिदीका लागि पनि ल्याइदिए । मनमनले पढेँ । पुस्तकको नाम ‘सुकीधुकी ।’ कतै शिशिर–वसन्तको जस्तो हो कि लाग्यो ।

त्यो अघि आएकै बाटो हुँदै बाहिरसम्म पुर्‍याउन आए संग्रौलाजी । बिदाईको कसिलो अंकमाल, फेरि भेट्ने बाचाका साथ मित्रताको कसिलो सम्बन्ध कसेर गुडबाई भइयो । अघिको त्यो चिसो पार्कमा फर्किन्छौँ । उनी अझै हामीतर्फ हेर्दै रहेछन् । मायाको बिदाई पनि कस्तो न्यानो ! हामीले फर्केर फेरि बिदाको हात हल्लायौँ । 

हामी फेरि बिहान आउँदाको बाटो सरासर आउँदै छौँ । आजको यो यात्रा अति नै रमाइलो र अविष्मरणीय भयो । 

उनको ‘सुकीधुकी’ खण्डकाव्य कहिले खोल्ने होला भन्ने लागिरहेको छ । मेट्रोमा आउँदा पढ्दै आएँ, २ घर पालुवा चराको बारेमा लेखिएको शोककाव्य पढ्दा मेट्रो यात्रा छोटिएको पत्तो भएन । अतिमार्मिक, पढ्दा आँसु पनि झर्न छाड्दैन, पुस्तक बन्द पनि गर्न सकिँदैन । 

डायस्पोरा नेपाली साहित्यको भण्डारमा गहकिलो कृति ‘सुकीधुकी’ खण्डकाव्यले कोशेढुंगाको रूपमा स्थान अवश्य नै ओगटेको छ ।

आजको हाम्रो यात्रा यसरी नै ‘सुकीधुकी’सँग टुंगियो ।
                                                     

हालः बेलायत