जुनु दिव्य राना | साहित्य | साउन २३, २०७८
तिम्रो कोमल पाउहरु चुमेर
तिम्रो हत्केलामा अश्रुले पखाल्ने
मेरो सपना संगै
निश्चल
कलिलो लवजको स्पंदनले
छाती निचोरिएर हृदयको समुन्द्र छल्किन्छ ।
एक जननी
ममताको पुकार छल्किएको
मैले कसलाई देखाउँ र !
यो मस्तिष्क नमस्तक बन्छ
आत्मा उद्देलित उस्तै।
म तिम्रो मम्मि !
नजन्मिएको मेरो तिमि रगत हौ
मलाई तिम्रो जन्मकल्पनाले पगाल्छ
गर्भको शुखको कल्पनाले पोल्छ
रातले झस्काउँछ
तब तिमिलाई छातिमा समेट्छु
र रगतमिश्रित मातृत्वको धारा कल्पनामा मै पिलाउँदै हुन्छु ।
अदभूत भाग्यशाली हुन्छु
जब तिमिलाई काखमा समेटेर
तिम्रो कलिलो स्पर्श महशुस गर्छु नि
तब अनेक सकस
अनिद्रा भोक भुल्छु
र भौतिकजन्म दिन सकिन त के भो
मेरो आत्मामा जन्मिसकेको छौ
र प्राण रहुन्जेल बांँच्ने छौ ।
म तिम्री मामु हुँ !!