लोकसंवाद संवाददाता | कारोबार | साउन २४, २०७८
माथिल्लो तामाकाेसी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेसनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउनका लागि महत्त्वपूर्ण मानिएको उक्त सवस्टेसन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकाेसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेसनको क्षमता २२०/१३२ केभीको छ । 'सवस्टेसन आज चार्ज भई काठमाडौंसम्म बिजुली जोडिएको छ । यस आयोजनाका लागि अर्को महत्त्वपूर्ण सफलता हो', श्रेष्ठले भने । उनका अनुसार ढल्केबरपछि यो सवस्टेसन अर्को ठूलो हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु-काठमाडौं प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताए ।
कुल ४५६ मेगावाट क्षमताको तामाकाेसीका हाल ४ युनिट संचालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ । अन्य २ युनिट पनि छिट्टै संचालनमा ल्याइने तयारीे छ ।
उक्त सवस्टेसनमा १०० केभी क्षमताको ४ वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये ३ वटा नियमित संचालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकाेसीको बिजुली हाल खिम्ती-ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । यो आयोजना झण्डै ११ वर्षपछि सम्पन्न भएको हो ।
सुरुवाती लागत ३५ अर्ब रुपैयाँ भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर ८४ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । यस आयोजनाले स्वदेशी लगानीमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।