ज्ञानमित्र | समाचार | साउन २५, २०७८
नेपालमा भ्याक्सिनेसन प्रारम्भ हुँदा भारतको सेरम इन्ष्टिच्ट्युटद्वारा निर्मित कोभिसिल्ड भ्याक्सिनबाट भएको थियो । यस कम्पनीका झन्डै २३ लाख थान भ्याक्सिन नेपाल आएका थिए । पहिलो डोज लाएको केही सातापछि यस भ्याक्सिनको दोस्रो डोज लगाउनुपर्ने बाध्यात्मक अवस्थाबारे त्यसबेला नै हामी सबैलाई थाहा थियो । नेपाल आएको कोभिसिल्ड पुग नपुग १२ लाख व्यक्तिका लागि थियो ।
भ्याक्सिनेसन प्रारम्भ हुँदा देशमा यसप्रति आकर्षणको सट्टा विकर्षण देखियो । स्वास्थ्य जगतका फ्रन्ट लाइनर राष्ट्र सेवकबाट सुरु गरिएको भ्याक्सिनेसन कार्यक्रमप्रति स्वास्थ्य जगतकै विश्वसनीयता देखिएको थिएन । क्रमशः कोभिसिल्ड पत्रकार र अन्य वर्गमा वितरण गरियो । तत्कालीन सरकारले भारत सरकार एवं सेरम कम्पनीसँग थप १० लाख भ्याक्सिन किन्ने प्रस्ताव पठाइसकेको थियो ।
नेपाल सरकारले भित्रिएको झन्डै २३ लाख भ्याक्सिन पहिलो डोजका रूपमा यसको आधा संख्यालाई वितरण गरी बाँकी भ्याक्सिन दोस्रो डोजका रूपमा सुरक्षित राख्नुपर्थ्यो ।
संसारभरिबाट भ्याक्सिनबारे नकारात्मक टीका टिप्पणी र बहिष्कार विषयक कुरा प्रकाशमा आइरहेका थिए । नेपालकै कतिपय विद्वत् वर्ग भ्याक्सिन विषयक नाना नकारात्मक टिप्पणी गरिरहेका थिए । तत्कालीन सरकारमाथि आमजनमा भ्याक्सिनप्रति सकारात्मक सोचका साथै उनीहरूलाई भ्याक्सिन लिन प्रेरित गर्ने दायित्व थियो । सरकारले थप १० लाख भ्याक्सिन भारतबाट प्राप्त हुने आशा पनि राखेको थियो । यस कारण सरकारले भित्रिएको २३ लाख भ्याक्सिनलाई आधा जनसंख्यामा वितरित हुनसाथ रोक्ने प्रबन्ध गर्न सकेन ।
परिणाम स्वरूप सरकारले झन्डै १७ लाख मानिसलाई कोभिसिल्ड भ्याक्सिनको सुई आरोपित गरी दियो । सरकारलाई भारतबाट थप १० लाख भ्याक्सिन आउने विश्वास थियो, जसले गर्दा १७ लाखलाई भ्याक्सिनको पहिलो डोज दिँदासम्म सरकारले खोप केन्द्रमा आएका नेपालीलाई भ्याक्सिनबाट बञ्चित गरेन ।
तर, कोरोना सङ्क्रमणको दोस्रो लहरले फसाद ल्याइदियो । भारतमा बढेको तीव्र सङ्क्रमण दरले गर्दा भारतीय सर्वोच्च अदालतले भारत सरकारलाई भ्याक्सिन निर्यात गर्नमा बन्देज लागाइदियो । नेपालले पाउने आशा गरेको १० लाख थान भ्याक्सिन रोकियो ।
२३ लाख आएका भ्याक्सिन मध्ये १७ लाख थान पहिलो डोजका रूपमा वितरित भइसकेका थिए । दोस्रो डोजका लागि १७ लाख थान भ्याक्सिन आवश्यक थियो । तर सरकारसँग उपलब्धता भने जम्मा झन्डै ६ लाख थान मात्रै थियो। भनौँ सरकारलाई दोस्रो डोजका रूपमा झन्डै ११ लाख थान कोभिसिल्ड भ्याक्सिनको कमी हुन आयो ।
कोभिसिल्ड भ्याक्सिनको पहिलो डोज लिएका झन्डै ११-१२ लाख मानिसलाई दोस्रो डोज उपलब्ध भएको थिएन। यी ११-१२ लाख मानिस विगत लामो समयदेखि दोस्रो डोजको प्रतीक्षा गरिरहेका थिए ।
भ्याक्सिन लिएका व्यक्ति पनि सङ्क्रमित हुन्छन् बारम्बार सङ्क्रमित हुन्छन् । भ्याक्सिनको फन्डा यति मात्रै हो यदि यसले भ्याक्सिन लाएको व्यक्तिमा एन्टीबडी बनाएको छ भने त्यो व्यक्ति सङ्क्रमित हुँदा पनि माइल्ड अथवा माडरेट अवस्थामै निको हुन्छ। भनौँ त्यस व्यक्तिसँग भाइरस विरुद्ध लड्ने हतियार हुन्छ ।
छिमेकी देश भुटानले आफूसँग रहेका ऐस्ट्रेजेनेका भ्याक्सिन नेपाललाई दिने प्रस्ताव राख्यो। नेपाल सरकारले नमान्ने कुरै थिएन । यसैगरी जापान सरकारले पनि ऐस्ट्रेजेनेका भ्याक्सिनका केही लाख डोज उपलब्ध गरायो । दुवैले दिएको ऐस्ट्रेजेनेका भ्याक्सिन नेपालमा आई पुगेर आज देखि सरकारले कोभिसिल्डको पहिलो डोज लाएर दोस्रो खुराकका लागि पर्खी बसेका नेपालीका लागि भ्याक्सिन वितरणको व्यवस्था गरेको छ ।
सबैले संज्ञान लिए हुन्छ- आजदेखि वितरित हुने ऐस्ट्रेजेनेका भ्याक्सिन पहिलो डोजका रूपमा कोभिसिल्ड भ्याक्सिन लिई सकेकाहरूका लागि मात्र हो । यो नयाँका लागि होइन । तसर्थ पहिलो खोप लिएकाबाहेक अन्य कसैले खोप केन्द्र जानुपर्दैन ।
भ्याक्सिन लिन चाहने अन्य नेपालीका लागि देशमा चिनियाँ भ्याक्सिन भेरोसेल र अमेरिकी जोनसन एन्ड जोनसनको वितरण भइरहेको छ । शीघ्र नै देशमा फाइजरलगायत अन्य भ्याक्सिन पनि उपलब्ध हुनेछन् । पछिल्लो जानकारीअनुसार नेपाल सरकारसँग ३०-३२ लाख थान भ्याक्सिन उपलब्ध छ । थप भ्याक्सिन आउने क्रम पनि जारी छ ।
नेपालका सबै शक्तिशाली र शक्ति केन्द्रसम्म पहुँच रहेका व्यक्ति एवं समस्त नेपालीसँग विनम्र आग्रहका साथ चेतावनी पनि दिन चाहन्छु- आजदेखि प्रारम्भ भएको ऐस्ट्रेजेनेका भ्याक्सिनका लागि मरिहत्ते नगर्नु होला । यो फगत पहिलो डोज लगाएर बसेका व्यक्तिहरूका लागि हो । मानिलिऊँ, तपाईँले केही गरी ऐस्ट्रेजेनेकाको पहिलो खुराक लिने जुगाड लाउनुभयो र प्राप्त पनि गर्नुभयो । यसलाई तपाईँ आफ्नो सफलता नठान्नुहोला, यो तपाईँका लागि अभिशाप पनि साबित हुन सक्छ । कारण- ऐस्ट्रेजेनेकाको पहिलो डोज लिएपछि तपाईँलाई दोस्रो डोजका लागि यही भ्याक्सिन आवश्यक पर्छ ।
स्मरण गर्नुहोस्, झन्डै ११ लाख मानिस विगत लामो समयदेखि दोस्रो डोजका लागि पर्खी बसेका थिए । तपाईँले पहिलो डोजका रूपमा ऐस्ट्रेजेनेका भ्याक्सिन लिनुभयो भने ६-८ सातापछि तपाईँलाई दोस्रो डोजका रूपमा ऐस्ट्रेजेनेका भ्याक्सिन नै चाहिन्छ । लामो समयदेखि पर्खी बसेका ११ लाख मानिसलाई त भूटान र जापानको अनुकम्पाले दोस्रो डोज पाउने मौका मिलेको छ। तपाईँले छल, छद्म, सोर्स, फोर्स लगाई पहिलो डोज लिनुभयो भने रुनु न हाँस्नुको अवस्था आउन्न सक्छ ।
पहिलो डोजका रूपमा कोभिसिल्ड लिएका सबै मानिसले ऐस्ट्रेजेनेका भ्याक्सिनको नाम सुनेर शङ्का नलिनु होला । सबैले आफूलाई पायक पर्ने केन्द्रमा गई भ्याक्सिनको दोस्रो डोज लाउनुहोला । कोभिसिल्ड र ऐस्ट्रेजेनेका भनेका एउटै भ्याक्सिन हुन् । इड्ग्ल्याण्डको अक्सफोर्ड विश्वविद्यालयले बनाएको भ्याक्सिन नै कतिपय देशमा ऐस्ट्रेजेनेका र भारतमा कोभिसिल्डका नामले बनेको हो । यी दुवै फरक भ्याक्सिन होइनन् ।
स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयलगायत सबै सम्बन्धित वर्ग र व्यक्ति विशेषले हेक्का राखून्- पहिलो डोज लगाएर बसेका नेपालीलाई दोस्रो डोज वितरित नभएसम्म ऐस्ट्रेजेनेकाको एक थान भ्याक्सिन पनि यताउता हुनुभएन। ऐस्ट्रेजेनेकाको जति मात्रा आउन्न गइरहेको छ, त्यसबाट पहिला दोस्रो डोज पर्खिरहेका नेपालीले पाउनुपर्यो । त्यसपश्चात् मात्र २ डोजको हिसाब मिलान गरी ऐस्ट्रेजेनेकाको भ्याक्सिन अन्य मानिसलाई वितरण गरियोस् ।
नयाँ स्वास्थ्यमन्त्री र गृहमन्त्रीले खोप केन्द्रको व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने अतिआवश्यक भएको देखिन्छ। खोप केन्द्रमा भएको भद्रगोलले कोरोना संङ्क्रमण झनै बढाइरहेको छ । सामान्य जनले पनि भ्याक्सिन लिन जाँदा संयम र सावधानी अपनाउनुपर्ने नितान्त आवश्यक छ । याद राख्नुहोस्, भ्याक्सिन लिएको ३-४ सातापछि मात्रै यसले एन्टीबडी बनाउँछ । तर, यदि भ्याक्सिन लिन जाँदा खोप केन्द्रमै तपाईँ संक्रमित हुन पुग्नुभयो भने भ्याक्सिनले तपाईँलाई कुनै पनि सुरक्षा दिँदैन ।
एक डोज अथवा दुवै डोज भ्याक्सिन पाइसक्नुभएका महानुभावले पनि यो तथ्य आफ्नो हृदय र मस्तिष्कमा नमेटिने गरी अङ्कित गर्नुहोला- भ्याक्सिन कोरोना संक्रमणविरुद्ध रामवाण अथवा सञ्जीवनी औषधि होइन । पहिलो कुरा त अधिकांश भ्याक्सिनको एफिकेसी ७०-७५ प्रतिशतसम्म मात्र छ । यसको अर्थ भ्याक्सिन लिएका १०० जनामध्ये ७०-७५ जनामा यसले काम गर्छ, एन्टीबडी बनाउँछ । २५-३० जनामा भ्याक्सिनले कुनै प्रभाव पार्दैन । अब भ्याक्सिन लिएपछि तपाईँ ७०-७५ को वर्गमा पर्नुभयो कि २५-३० को वर्गमा पर्नुभयो ? मेडिकल जगतसँग यो जान्ने उपाय भए भने पनि तपाईँसँग यो जान्ने कुनै उपाय छैन ।
यसै तथ्यको आलोकमा भ्याक्सिनका दुबै डोज लिए पनि आफूलाई संक्रमण हुनबाट सुरक्षित नठान्नु होला । दोस्रो महत्त्वपूर्ण कुरा कुनै पनि भ्याक्सिन निर्माता कम्पनी अथवा वैज्ञानिकले भ्याक्सिनलाई कोरोना संक्रमण हुन नदिने उपाय हो भनी भनेका छैनन् । भ्याक्सिन लिएका व्यक्ति पनि संक्रमित हुन्छन्, बारम्बार संक्रमित हुन्छन् । भ्याक्सिनको फन्डा यति मात्र हो, यदि यसले भ्याक्सिन लाएको व्यक्तिमा एन्टिबडी बनाएको छ भने त्यो व्यक्ति संक्रमित हुँदा पनि माइल्ड अथवा मोडरेट अवस्थामै निको हुन्छ । भनौँ, त्यस व्यक्तिसँग भाइरसविरुद्ध लड्ने हतियार हुन्छ ।
सबै भ्याक्सिन वुहानमा देखापरेको कोभिड- १९ भाइरस स्ट्रेनका विरुद्ध बनाइएका हुन् । वुहानको भाइरस अनेकौँ पटक उत्परिवर्तित भएर विभिन्न भेरिएन्टका रूपमा आइसकेको छ । प्रत्येक नयाँ भेरिएन्टका विरुद्ध भ्याक्सिनको प्रभावकारिता घट्दै गइरहेको छ । अहिले देखिएको डेल्टा तथा डेल्टा प्लस भेरिएन्टका विरुद्ध भ्याक्सिनको प्रभावकारिता ४०-७० प्रतिशतसम्म कम भएको रिपोर्ट प्रकाशन भइसकेका छन् । हिजोको इङ्ग्ल्याण्डकै तथ्यांकअनुसार भ्याक्सिनका दुवै डोज लगाएका ५०० जनाभन्दा बढी व्यक्ति सिकिस्त भएर अस्पताल पुगेका छन् । भ्याक्सिन लगाएका नेपालीहरूले पनि आफूलाई संक्रमण हुन नदिने सबै उपाय अपनाउनुपर्ने आवश्यकत छ ।