डा.अस्मिता रायमाझी | दृष्टिकोण | साउन २६, २०७८
अधिकांश मानिसहरू क्यान्सर निको नहुने रोग भन्ने ठान्छन् । हिजो आज क्यान्सर रोगको उपचारमा धेरै प्रगति भइसकेको छ र केही किसिमका क्यान्सर निको पार्न सकिन्छ । पूर्णतया निको नहुने शरीरभित्र फैलिइसकेको क्यान्सर रोगलाई पनि औषधि प्रयोग गरेर नियन्त्रण गर्न संभव छ अहिले । क्यान्सर रोगबाट पीडित बिरामीहरूको शारीरिक र मानसिक कष्टलाई नियन्त्रण गरेर जीवन अवधि लम्ब्याउनुका साथै बिरामीहरूलाई खुसी तुल्याउन यस रोगका विशेषज्ञहरू केही हदसम्म सफल भएका छन् ।
क्यान्सर रोगलाई नियन्त्रण गर्न विशेषज्ञहरूले धेरै किसिमका औषधिहरू पत्ता लगाइसकेका छन् । यस रोगलाई निको पार्न औषधिहरूको खोजमा वैज्ञानिकहरू लागिपरेका छन् र भविष्यमा उनीहरू सफल हुन सकून् भनेर आशा गर्न सकिन्छ । वैज्ञानिकहरूको सोचबाट नयाँ औषधिहरूको खोज र उपचार विधिको विकास भएर क्यान्सर रोगलाई निको पार्न संभवाना हुन्छ । क्यान्सर रोगको उपचारमा योगदान पुर्याउने यी चिकित्सकहरूले कहिले र कसरी औषधिहरूको आविष्कार गरे भन्ने विषयमा पाठकलाई अवगत गराउने उद्देश्यलेले यो छोटो लेख तयार पार्ने जमर्को गरेकी छु । क्यान्सर रोगका औषधि पत्ता लगाउने विशेषज्ञहरूको छोटो विवरणले उनीहरूलाई सम्मान गरेको ठानेकी छु ।
सुरुमा क्यान्सर रोगको उपचार शल्यक्रिया र रेडियोथेरापीद्वारा गरिन्थ्यो । केमोथेरापी अर्थात् औषधिहरूद्वारा गरिने उपचार सन् १९४० देखि सुरु भएको हो । दोस्रो विश्वयुद्धमा जर्मनहरूले शत्रुलाई मार्न 'मस्टार्ड ग्यास' प्रयोग गरेका थिए । पछि लडाइँमा मर्ने सिपाहीहरूमा सेता र राता रक्त कोषिकाहरू कम भएको कुरा पोस्टमोर्टम रिपोर्टले देखाएको थियो । यसरी चाँडोचाँडो विभाजन हुने क्यान्सर रोगका कोषिकाहरूमा 'मस्टार्ड ग्यास'ले ज्यादा असर पार्ने कुरा मुसाहरूमा अध्ययन गरेर प्रमाणित भएपछि यसलाई सर्वप्रथम डा. स्टेवार्ट फ्रान्सिस अलेक्जेण्डरले क्यान्सर रोगमा सन् १९४२ मा प्रयोग गरेका थिए ।
क्यान्सर रोग अर्थात् ट्युमरमा कोशषिकाहरू चाँडोचाँडो विभाजित भएर छोटो अबधिमा नै ट्युमरको आकार ठूलो हुन्छ । मस्टार्डबाट उत्पन्न गरिएको औषधिले क्यान्सरका कोषिकाको वृद्धिमा नियन्त्रण गरेर ट्युमरको आकार घटाउन सफल भयो । यसरी 'नाइट्रोजन मस्टार्ड'को प्रयोग क्यान्सर रोगमा गरिन थालियो ।
डा. स्टेवार्ट फ्रान्सिस अलेक्जेण्डर (१९१४-१९९१)
'ल्युकेमिया' नामक रगतको क्यान्सर प्राय: गरेर केटाकेटीहरूमा पाइन्छ । यस रोगमा रगतका सेता कोषिकाहरूको संख्या बढेको हुन्छ । मानिसको 'बोन म्यारो'बाट रगतका कोषिकाहरू बन्छन् । हरियो सागसब्जी र फलफूलमा पाइने 'फोलोट'लाई भिटामिन बी१ पनि भनिन्छ । यसको दैनिक आवश्यकता ४०० माइक्रोग्राम मानिएको छ । गर्भावस्थामा यो भिटामिनको कमी भएमा भ्रुणको मष्तिस्क र स्पाइनमा प्रभाव पर्छ ।
'फ्लोट'ले रगत बनाउने भएकाले बच्चाहरूको क्यान्सरमा सम्भावना देखेर डा. सिड्नी फार्बरले यसको प्रयोग ल्युकेमिया भएका केटाकेटीहरूमा गरेका थिए । ल्युकेमियामा फोलिक एसिडले नियन्त्रण गर्नुको साटो रोगलाई बढाएको पाइयो । यही सिद्दान्तलाई अनुकरण गर्दै फारबरले 'एन्टी फोलेट'को प्रयोग गरे । 'एन्टी फोलेट'ले फाइदा गर्न सक्ने यो औषधिको प्रयोग बच्चाहरूको क्यान्सरमा उपयोगी साबित भयो ।
डा. सिड्नी फार्बर (१९०३-१९७३)
एन्टिबायोटिकहरूको प्रयोग
दोस्रो विश्वयुद्धपछि क्यान्सर रोगमा विभिन्न किसिमका एन्टिबायोटिकहरूले के कस्ता असर पार्छन् भनेर अध्ययन गरिएको थियो । यही अध्ययनका क्रममा 'एक्टिनोमाइसिन डी'लाई विशेष गरेर बच्चाहरूको क्यान्सर रोगमा प्रयोग गर्न सकिने तथ्य पत्ता लागेको थियो । यसरी पत्ता लागेको 'मस्टार्ड एजेन्ट', 'एन्टी फोलेट' र 'एन्टिबायोटिक'का आधारमा यसले ट्युमरमा कहाँ गएर काम गर्छ भन्ने पत्ता लगाएपछि यही समूहका विभिन्न केमोथेरापीको संश्लेषण भयो ।
'टेक्सोल'को प्रयोग
स्तन, अण्डकोष, फोक्सो, पेट तथा धेरैथरिका क्यान्सर रोगमा 'टेक्सोल' नामक औषधिको प्रयोग गरिन्छ । यसको खोजमा वनस्पतिविज्ञ डा. आर्थर स्टेवार्टको ठूलो योगदान छ । यी वैज्ञानिकले लौठ सल्लाको रूखको बोक्रालाई नेसनल क्यान्सर इन्ष्टिच्युटमा अध्ययन गर्न पठाएका थिए । २ वर्षसम्म त्यहाँ २ जना सायनशास्त्री डा. मनसुख वानी र डा. मोनरो वालले अध्ययन गरेर टेक्सोलको क्यान्सर रोगमा उपयोगिताबारे पत्ता लगाए । यसरी पत्ता लगाइएको टेक्सोल केमोथेरापी धेरै प्रभावकारी साबित भयो ।
क्यान्सर रोगमा टेक्सोल प्रभाबकारी भएको कुरा सन् १९३० मा पत्ता लागेको भए तापनि यसलाई प्रयोगमा ल्याउन करिब ३० वर्षजति लाग्यो । आण्डकोषको क्यान्सरमा 'प्याक्लिटेक्सल'को प्रयोग सर्वप्रथम सन् १९९० मा भएको थियो । क्यान्सर रोगमा टेक्सोलको आजको दिनसम्म उल्लेखनीय प्रभाव रहेको पाइन्छ र यसमा माथि उल्लेख गरिएका वैज्ञानिकहरूको ठूलो योगदान छ ।
डा. मनसुख वानी (१९२५-२०२०)/डा. मोनरो वाल (१९६०-२००२)
एन्थ्रासाइलिन ग्रुप
प्राकृतिक रूपमा उत्पादन गरिएको केमोथेरापीमा यस समूहका केमोथेरापी पनि पर्न जान्छन् । यसअन्तर्गत 'डोक्सोरुबिसिन', 'डाउनोरुबिसिन' र 'एपिरुबिसिन' पर्छन् । यो 'स्ट्रेप्टोमाइसेस' भन्ने ब्याक्टेरियाबाट उत्पादन गरिन्छ । सर्वप्रथम 'स्ट्रेप्टोमाइसेस प्युसेस' भन्ने ब्याक्टेरियाबाट उत्पादन गरिएको थियो । यस केमोथेरापीलाई सन् १९७४ मा प्रयोगमा ल्याउन स्वीकृति प्राप्त भएको हो । यसको खोज डी मार्को र सहकर्मीहरूबाट इटालीमा भएको हो । यसको प्रयोग पनि स्तन, पेट, पाठेघर, फोक्सो, पिसाबथैली, रगत आदि धेरैथरी क्यान्सरमा हुँदै आएको छ ।
सिस्प्लाटिन
सिस्प्लाटिन नामक केमोथेरापी धेरै किसिमका क्यान्सर रोगमा प्रयोग गरिन्छ । यस औषधिलाई केमोथेरापीको रूपमा प्रयोग गर्न सकिने कुरा डा. बर्नेट रोजनबर्ग नामक रसायनशास्त्रीले एउटा अध्ययनबाट पत्ता लगाएका हुन् । त्यसबेला रोजनबर्गले ब्याक्टेरियामा इलेक्ट्रिक फिल्डको अध्यययन गरिरहेको थिए । यही अध्ययनको क्रममा ब्याक्टेरियाहरू ३०० गुणा विभाजन हुन सक्ने तर 'प्लाटिनम इलेक्ट्रोड'द्वारा करेन्ट पास गर्दा विभाजन रोकिने कुरा उनले पत्ता लगाए । यसरी कोषिकाहरूको विभाजन प्लाटिनमले रोक्न सक्ने जानकारीको खोज आकस्मिक थियो । यही सिद्धान्तलाई अनुकरण गर्दै डा. मिसेल पेरोनले सन् १८४५ मा पहिलो पटक सिस्प्लाटिन संष्लेषण गरे । सिस्प्लाटिनलाई क्यान्सर रोगमा प्रयोग सन् १९७८ देखि गर्न थालियो र यो केमोथेरापी क्यान्सर उपचारमा एउटा आशाजनक उपलब्धिको रूपमा साबित भयो ।
डा. बर्नेट रोजनबर्ग (१९२६-२००९)
यहाँ उल्लेख नगरिएका क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अन्य धेरै औषधिहरू पनि उपलब्ध छन् । केमोथेरापी लिने क्यान्सरका विरामीहरूले ओंकोलोजिस्ट अर्थात् क्यान्सर रोगका विशेषज्ञहरूसँग आफ्नो रोगको विषयमा बिस्तृत छलफल गर्नु अतिआवश्यक छ ।
केमोथेरापी गराउँदा कसरी र कति समय गराउने विषयमा पनि आफ्नो चिकित्सकसँग जानकारी लिनु राम्रो हो । प्राय: गरेर बिरामीको अवस्था हेरेर हप्तामा एक पटक वा प्रत्येक ३ हप्तामा एक पटक प्रयोग गरिन्छ । ३ हप्तामा प्रयोग गरेको औषधि ६ पटकसम्म र हप्ता दिनमा प्रयोग गरेको औषधि १२ पटकसम्म प्रयोग गरेपछि क्यान्सर रोग नियन्त्रणमा ल्याउन सकिन्छ । केमोथेरापी प्राय: २ वटा वा त्यसभन्दा बढीको संयोजनमा प्रयोग हुन्छ । कुनै बेला एउटा मात्र पनि प्रयोग हुन्छ । यो सबैको राम्रो सल्लाह क्यान्सर रोग विशेषज्ञ डाक्टरले रोग भएको अंग, स्टेज र अवस्था हेरेर दिन्छन् ।
अहिलेको समयमा केमोथेरापी मात्र नभई इम्म्युनोथेरापीको विकास भइरहेको छ, जसअन्तर्गत हाम्रो शरीरको आफ्नै प्रतिरोधात्मक क्षमतालाई इम्म्युनोथेरापीले क्यान्सर कोषविरुद्ध लड्न सहयोग पुर्याउँछ । यसको विकासले कतिपय क्यान्सर उपचारमा धेरै राम्रो प्रगति हासिल गरेको छ ।
हर्मोनथेरापी
हाम्रो शरीरमा भएका ग्रन्थीहरू, अण्डकोष, पाठेघरबाट विभिन्न किसिमका हर्मोनहरू उत्पन्न हुन्छन् । हाम्रो शरीरको विकासका लागि यी हर्मोन अतिआवश्यक छन् । केही किसिमका क्यान्सरको उपचारमा हर्मोनको पनि प्रयोग गरिन्छ । १९औँ शताब्दीमा डा. जर्ज थोमस बिट्सनले गरेको अध्ययनअनुसार स्तन क्यान्सर भएकामा अण्डकोष निकालेर फाल्दा स्तन क्यान्सरमा सुधार भएको देखिएको थियो । यसरी हर्मोनको उत्पादनमा कमी आएर स्तन क्यान्सर निको भएको देखिएपछि यही अध्ययनलाई आधार मानेर प्रोस्टेट क्यान्सरमा पुरुषको अण्डकोष निकाल्दा क्यान्सरमा नियन्त्रण भएको पाइयो । पछि शल्यक्रिया नगरी खाने हर्मोनथेरापीको पनि विकास भएर प्रयोगमा ल्याइएको छ ।
डा. जर्ज थोमस बिट्सन (१८४८-१९३३)
अन्त्यमा, क्यान्सर रोगको उपचारमा उल्लेखनीय प्रगति भए तापनि अझै विज्ञहरूले पत्ता लगाउनुपर्ने धेरै कुराहरू छन् । सोच र खोजका धनी वैज्ञानिकहरू भविष्यमा क्यान्सरको अझ प्रभावकारी उपचार विधिहरू अविष्कार गर्न सफल होऊन् भन्ने कामना गरौँ ।
(नेपाल क्यान्सर हस्पिटलमा कार्यरत लेखक क्यान्सर विशेषज्ञ हुनुहुनुछ ।)