लोकसंवाद संवाददाता | समाचार | साउन २७, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनबारे शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच आज दिउँसो छलफल हुने भएको हो ।
बुधबार देउवाको निजी निवास बूढानीलकण्ठमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।
निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएपछि कांग्रेसभित्र पार्टी वैधानिकता जोगाउन भन्दै विभिन्न विकल्पमाथि छलफल भइरहेको छ । वरिष्ठ नेता पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने पक्षमा छन् ।
सभापति देउवाले नयाँ कार्यतालिकाबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाएका छन् । केन्द्रीय समिति बैठक अघि कार्यतालिकाबारे पार्टीभित्र समझदारी बनाउन शीर्ष नेताहरूबीच छलफल हुन लागेको एक नेताले बताए ।
कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउन देउवा, पौडेल र सिटौलालाई जिम्मा दिइएको थियो । तर, उनीहरूबीच मापदण्डमै सहमति नजुट्दा सदस्यता विवाद कायमै छ ।