लोकसंवाद संवाददाता | समाचार | साउन २७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले २८ साउन दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो ।
तर, प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेका हुन् । कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको छ ।