लोकसंवाद संवाददाता | समाचार | साउन २८, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेस गर्न दिएको आज अपराह्न ३ बजेको समयसीमािभत्रै सरकारमा दाबी गर्दै ४ दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख शेरचनलाई बुझाएको छ ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवं कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।
गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाहीसमेत छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।
लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच ८-८ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ । यससँगै गठबन्धनमा प्रस्ट बहुमत देखिएको र अब सोनाम मुख्यमन्त्री बन्ने पक्का जस्तै भएको छ ।