कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, केके छन् एजेण्डा ?

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, केके छन् एजेण्डा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २८, २०७८

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी १६ भदौदेखि १९ भदौसम्म काठमाडौंमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन गत १२ साउनमा, गाउँ/नगरपालिका अधिवेशन १६ साउनमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउनमा तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा र प्रदेश अधिवेशन १-२ भदौमा निर्धारण गरिएको थियो । क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन् तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसको १३औँ महाधिवेशन २०-२३ फागुन २०७२ मा काठमाडौंमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद थप गर्नुका साथै सो म्याद पनि गत २० फागुनमा समाप्त भएपछि संविधानको प्रावधानअनुसार ६ महिना अवधि थप गरेको थियो । विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा ठूलो चुनौती छ ।