लोकसंवाद संवाददाता | कारोबार | साउन २८, २०७८
कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारले नयाँ उचाइ चुमेको छ । आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक ३१७९ को बिन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च बिन्दु हो । यससँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान पनि तोडिएको छ ।
बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर ५९१.१६ को बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि साढे १७ अर्ब रुपैयाँभन्दा बढी भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । आज विकास बैंक समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ ।
उत्पादन तथा प्रशोधन समूह १.४८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.४७ प्रतिशतले वृद्धि भएको छ ।
आज व्यापार समूह सर्वाधिक १.५१ प्रतिशतले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह १ प्रतिशतले घटेको छ भने आज जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत, अन्य समूहमा ०.४३ प्रतिशत र लघुवित्त समूहमा ०.१ प्रतिशतले गिरावट आएको छ ।
बिहीबार नेप्सेमा सूचीकृतमध्ये २२५ वटा कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा किनबेच भएका छन् ।
आज माथिल्लो तामाकोसीको सर्वाधिक ६२ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँ, एचआईडीसीएलको ४४ करोड रुपैयाँको कारोबार भएको छ ।
गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँ, अपी पावरको ४१ करोड ५४ लाख रुपैयाँ, अरूण भ्याली हाइड्रोपावरको ४० करोड ६९ लाख रुपैयाँ, अरूण काबेली पावरको ४० करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४० करोड २४ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ७ वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत तथा युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो ।
आज पाँचथर पावर, ओरियन्ट होटेल, सारथि नेपाल लघुवित्त र तारागाउँ रिजेन्सी होटलका शेयरधनीहरूले सर्वाधिक गुमाए । यी कम्पनीको शेयर मूल्य ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ ।