आशिष पौडेल | अन्तर्मन्थन | साउन ३०, २०७८
नेपालमा यातायात व्यवसायलाई व्यावसायिक तथा सांगठनिक रूपमा विकास तथा बिस्तार गर्ने श्रेय होमप्रसाद अधिकारीलाई जान्छ ।
एउटा बसमार्फत यातायात व्यवसायमा प्रवेश गर्नुभएका अधिकारीले त्यसबेला यातायात व्यवसायमा रहेको भारतीय व्यवसायीको दबदबालाई निस्तेज मात्र होइन, समाप्त गरेर यातायात व्यवसायलाई नेपालीको हातमा पुर्याउनुभयो ।
यातायात व्यवसायलाई व्यवसायीको नाफा तथा हकहितका लागि मात्र उपयोग नगरेर यसलाई व्यावसायिक बनाउने काम पनि गर्नुभयो अधिकारीले ।
संविधानमा संघ, संगठन खोल्न पाउने व्यवस्था भए पनि पञ्चायतकालमा असम्भव जस्तै मानिएको संगठन खोल्ने कामलाई उहाँले २१ दिन सत्याग्रह गरेर सम्भव तुल्याएर देखाइदिनुभयो । नेपालको यातायात व्यवसायलाई अन्तर्राष्ट्रिय रूपमा बिस्तार गरेर अन्तर्राष्ट्रियकरण गर्ने कामसमेत उहाँले गर्नुभयो ।
यातायात व्यवसायीहरूको संस्थालाई २५ वर्ष सफल नेतृत्व गरेर नेतृत्व हस्तान्तरण गर्नुभएका अधिकारी यातायात व्यवसायका ‘भीष्म पितामह’ नै मानिनुहुन्छ ।
पारिवारिक अवस्था
उहाँका बुबाका ६ जना दाजुभाइ । त्यसबेला राणाकालमा उहाँको परिवार राणाको सहयोगीका रूपमा थिए । उहाँको ठूलो बुबा खरिदार तथा वकिल । कान्छो बुबा पनि वकिल । उहाँको बुबा भने ठूलो कान्छो अर्थात् कान्छोभन्दा माथिको ।
उहाँको बुबाको मूल पेसा भने कृषि । तर, कृषिबाहेक बुबाको सामान्य व्यापार पनि थियो । आमा भने विशुद्ध गृहिणी । गृहिणी नै भने पनि खेतीबारीमा सहयोग गर्ने भन्ने कुरा त सामान्य नै रह्यो ।
जन्म तथा बाल्यकाल
उहाँको जन्म २००६ सालमा पोखराको पस्नाममा भएको हो । उहाँको मूल घर हालको पोखरा महानगरपालिका वडा नं.- ५ पस्याङ । उहाँका २ दाजुभाइ तथा ५ दिदीबहिनी । उहाँ भने जेठो छोरा ।
उहाँको बाल्यकाल अरू बालकको जस्तो धुमधाम चकचक गर्दै खेलेर बितेन । घरको जेठो छोरो भएका कारण पनि सानैदेखि उहाँले बुबाको व्यापारमा सघाउनुपर्यो ।
तर, त्यसो भन्दैमा बाल्यकाल केही चकचक नगरी, खेल्दै नखेली भने बितेन उहाँको । सामान्य खेलकुद र चकचक भने भए उहाँको बाल्यकालमा पनि ।
स्कूलमा भने उहाँको प्रिय खेलका रूपमा फुटबल रह्यो । फुटबलको प्रतिस्पर्धामा उहाँ विद्यालयमा कहिले पनि दोस्रो हुनुभएन । भलिबल तथा एथ्लेटिक्समा पनि उहाँ अब्बल नै हुनुहुन्थ्यो । यस्ता प्रतिस्पर्धामा पनि उहाँ प्रथम नै हुनुहुन्थ्यो ।
साहित्यिक कार्यक्रममा पनि उहाँको रुचि थियो । आफ्ना रुचिबाहेकका अन्य साथीहरूको खेल तथा क्रियाकलापमा पनि उहाँले व्यवस्थापन तथा प्रचारप्रसार राम्रै गर्नुहुन्थ्यो ।
जनपक्षीय सांस्कृतिक कार्यक्रममा पनि उहाँको राम्रै रुचि थियो । नारायणगोपाल तथा राल्फाको सांस्कृतिक कार्यक्रममा पनि उहाँको उत्साहजनक सहभागिता रहन्थ्यो ।
प्रारम्भिक शिक्षा
उहाँको प्रारम्भिक शिक्षा पोखराको बाराही माध्यमिक विद्यालयबाट सुरु भएको हो । पहिलो प्रावि हुँदै मावि स्तरसम्म उक्लिएको हो विद्यालय ।
प्रावि तहमा पढ्दा डेस्क-बेञ्चको व्यवस्था थिएन । बिहान आफू बस्न लिएर गएको सुकुलको चकटी बेलुका लिएर फर्कनु पर्थ्यो । भोलिपल्ट फेरि उही चकटी बोकेर स्कूल जानुपर्थ्यो ।
निमावि तहमा पुगेपछि अवस्था केही सुध्रियो । पछि उक्त विद्यालय निर्माण गर्न उहाँहरूले पनि जंगलबाट काठ, पात ल्याउनुभएको थियो ।
३ वर्ष अगाडि उहाँ फेरि सार्वजनिक यातायात केन्द्रीय महासंघको अध्यक्ष हुनुभएको छ । भर्खर गत २३ जेठमा मात्र उहाँले सबै महासंघको एकता गरेर नेतृत्व अन्य युवालाई हस्तान्तरण गरेर सार्वजनिक यातायात केन्द्रीय महासंघको प्रमुख संरक्षक हुनुभएको छ, जुन पद उहाँलाई महाधिवेशनले निर्वाचनबाट पारित गरेर प्रदान गरेको हो ।
उहाँको बुबा सामाजिक रूपमा सहयोगी र सानोतिनो व्यापार पनि गर्ने हुनाले कर्कट पाता खरिद तथा अन्य ढुंगा-माटो तथा निर्माण सामग्रीका लागि पनि सहयोग गर्नुहुन्थ्यो ।
उहाँ पढाइमा भने त्यति अब्बल विद्यार्थी होइन । त्यसो भनेर खत्तम नै पनि होइन । फेल कहिल्यै हुनुभएन । ठीकै विद्यार्थी भन्नुहुन्छ उहाँ आफूलाई । उहाँको रोल नम्बर ७ देखि १५ का बीचमा हुन्थ्यो ।
बसाइ भने उहाँको पहिलो बेञ्चमा नै हुने गर्थ्यो । त्यसबेला एउटा कक्षामा सामान्यतया ३०-४० जना विद्यार्थी हुन्थे । महिलाहरूको संख्या भने १०-१२ मा सीमित थियो । स्कूलको सांस्कृतिक कार्यक्रम तथा नृत्यमा उनीहरूको सक्रिय सहभागिता रहन्थ्यो ।
फुटबल, भलिबललगायत अन्य सांस्कृतिक कार्यक्रमका साथै साहित्यिक कार्यक्रममा पनि लोभलाग्दो सक्रियता तथा सहभागिता रह्यो ।
‘सहभागिता मात्र होइन, पुरस्कृतसमेत हुनाले सबैको माझ आकर्षणको केन्द्र रहिन्थ्यो’, उहाँ भन्नुहुन्छ ।
उहाँ ४ वर्ष विद्यालयको छात्र संघको अध्यक्ष पनि हुनुपर्ने हुनाले खासै त्यस्तो नरमाइलो वातावरण रहेन । उहाँ भन्नुहुन्छ, ‘तर, सरहरू भने अत्यन्तै कडा हुनुहुन्थ्यो । नपढ्ने, गृहकार्य नगर्ने अल्छी विद्यार्थीले राम्रै दण्ड पाउँथे ।’
उहाँ बाराही माविको स्काउट तथा रेडक्रस शाखामा पनि हुनुहुन्थ्यो । विभिन्न विद्यालयमा रेडक्रसको जुनियर सर्कल तथा स्काउटको ट्रुप पनि खोल्दै हिँड्ने गर्नुहुन्थ्यो उहाँ ।
विद्यालयमा कुनै पनि काम हुँदैन र गर्न सकिँदैन, नगरौँ भन्ने काम उहाँबाट भएन । हामी सक्छौँ र हामीले गर्ने हो भनेर उहाँहरूले विद्यालयका विभिन्न कार्यक्रम सहज र सरल ढंगले सम्पन्न गर्नुभएको छ ।
उहाँले २०२५ सालमा एसएलसी दिनुभएको हो । त्यसबेला एसएलसीमा ३२ जना सहभागी थिए । ३ जनालाई छाडेर बाँकी सबै पास भए । उहाँले भने तेस्रो डिभिजनमा पास गर्नुभएको हो एसएलसी ।
पृथ्वीनारायण क्याम्पस पढ्दा
एसएलसीपछि उहाँ पृथ्वीनारायण क्याम्पस जानुभयो पढ्नका लागि । उहाँ पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदको उम्मेदवारसमेत हुनुहुन्थ्यो ।
क्याम्पसम हुँदा पनि उहाँले महिला छात्राबास, पुस्तकालय, शौचालयलगायतका निर्माणका काम गर्नुभयो ।
प्राथमिक उपचारको तालिम लिएका कारण फस्र्ट एड बक्स बोकेर उहाँ घरघरमा उपचारका लागि जानुहुन्थ्यो । उहाँले ४ वर्ष प्रौढ कक्षा पनि सञ्चालन गर्नुभयो ।
त्यसबेला पृथ्वीनारायण क्याम्पस भर्खर बन्दै थियो । जर्ज जोन क्याम्पस चिफ हुनुहुन्थ्यो । त्यसबेला गुरुहरू धेरै भारतीय हुन्थे । पोखराको एक मात्र क्याम्पस भएको हुनाले विद्यार्थी संख्या अधिक नै थियो ।
राजनीतिक चेतना तथा पढाइ दुवैका दृष्टिले क्याम्पस चर्चित थियो । सोमनाथ अधिकारी, खगराज अधिकारी जस्ता चर्चित राजनीतिक हस्तीहरू हुनुहुन्थ्यो त्यसबेलाका विद्यार्थी ।
पञ्चायतकालका चर्चित नेता राधेश्याम अधिकारी त्यसबेलाका अर्थशास्त्रका उम्दा शिक्षक हुनुहुन्थ्यो । उहाँलाई सरुवा गरेको विरोधमा क्याम्पसमा ठूलो हडतालसमेत भयो । पछि फेरि उहाँलाई क्याम्पसमा ल्याइयो ।
उहाँले आफ्नो औपचारिक शिक्षा भने प्रवीणता प्रमाणपत्र तहभन्दा माथि लैजाने जाँगर चलाउनुभएन ।
यातायात व्यवसायतर्फ
उहाँले २०२५ सालमा एउटा गाडी किनेर आफ्नो यात्रा यातायात व्यवसायतिर मोड्नुभएको हो । त्यसबेला भारतीयहरूको दबदबा थियो यातायात क्षेत्रमा । सरकारले पनि नेपाली व्यवसायीलाईभन्दा भारतीयलाई बढी संरक्षण गर्थ्यो ।
उहाँको गाडी पोखराबाट बुटबल हुँदै भैरहवा चल्थ्यो । त्यसबेला बस व्यवसायी समिति बुटवलको उहाँ बोर्ड मेम्बर हुनुभयो, जुन हाल पश्चिमाञ्चल बस व्यवसायी समितिको रूपमा परिचित छ ।
२०२५ सालदेखि प्रारम्भ भएको उहाँको यातायात व्यवसाय तथा व्यवसायीको हकहिततर्फको कदम आज पर्यन्त जारी नै छ ।
त्यसबेला पनि समितिमा ७०० गाडीहरू थिए । अन्यत्र खासै बाटो थिएन । यात्रुहरू खासै हुँदैनथे । एकतर्फी यात्रा जस्तै हुन्थ्यो । दुवैतर्फको खर्च उठाउने काम सामानले गर्थ्यो।
यातायात व्यवसायी नै बन्छु भनेर उहाँले गाडी किनेको भने होइन । उहाँको व्यापार पोखरामा । व्यापार गर्न सामान ल्याउने भनेको भैरहवा र बुटवलबाट । आफ्नो एउटा गाडी भयो भने सामान ल्याउन सजिलो हुन्छ, अरूबेला यात्रु पनि बोक्ने भन्ने हिसाबमा उहाँको यात्रा यातायात व्यवसायतर्फ मोडिएको थियो ।
त्यसबेला गाडीको दाम थियो ६७ हजार रुपैयाँ । ६० प्रतिशत लगानी बैंकले गर्थ्यो, बाँकी ४० प्रतिशत भने आफैँले बेहोर्नु पर्थ्यो ।
यातायात व्यवसायी भइसकेपछि विभिन्न क्षेत्रका व्यवसायीसँग भेटघाट हुने क्रम बढ्यो । एउटा राष्ट्रिय स्तरको संगठन चाहिन्छ भन्ने कुराको महसुस भयो ।
नियम, कानुन, विधान केही थिएन । सीडीओ, अञ्चलाधीशको आदेशमा चल्थ्यो सबै कुरा । उपसचिवले विभाग चलाएर बसेको अवस्था थियो ।
यी सबै कुरालाई व्यवस्थित गर्नुपर्छ र यातायात व्यवसायीको हकहित पनि सुनिश्चित गर्नुपर्छ भनेर उहाँहरूले २०३६ सालमा राष्ट्रिय स्तरको नेपाल यातायात व्यवसायी संघ निर्माण गर्नुभयो ।
मुलुकभरिबाट प्रतिनिधित्व भएको थियो त्यसबेला । २७ जनाको केन्द्रीय समिति निर्माण भएको थियो ।
प्रशासनको निगरानीमा रोटरी क्लब थापाथलीमा कार्यक्रम भएको थियो । संगठन निर्माण गर्नु भनेको त्यसबेला एकदमै गाह्रो कुरा थियो । त्यसबेलाको संविधानमा पनि संघसंस्था खोल्ने अधिकार त थियो तर अञ्चलाधीशले दर्ता गर्न नै मान्दैन थिए ।
कर्णेल श्रीप्रसाद बुढाथोकी त्यसबेला यातायात सहायकमन्त्री हुनुहुन्थ्यो । उहाँले नै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसपछि पनि सरकारले विधान बनाउन मानेन । र, विशाल आन्दोलन भयो ।
त्यसपछि गृह मन्त्रालयले ५ मन्त्रालयको विधान समन्वय समिति बनायो । समितिले ३ महिना लगाएर सरकारी तवरबाटै विधानको मस्यौदा तयार गर्यो । यति गर्दा पनि सरकारले दर्ता गर्न मानेन ।
त्यसपछि राजाको सवारी भएको धनकुटा सवारी शिविरमा उहाँले संगठन दर्ता गरी पाऊँ भनेर २१ दिन सत्याग्रह नै गर्नुभयो ।
‘विधान बनेको ४ वर्ष बित्यो, संविधानमा संघसंस्था दर्ता गर्न पाउने व्यवस्था छ तर कसैले दर्ता गरिदिएनन्’ भनेपछि हुकुम प्रमाङ्गीबाट २०३९ सालमा बल्ल काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाल यातायात व्यवसायी संघ नामक संस्था दर्ता गर्ने काम गर्यो ।
त्यसपछि उक्त संघ विकास हुँदै २०५० सालमा महासंघ बन्यो । २०७५ सालमा सिण्डिकेट गरेको तथा कर नतिरेको भन्ने झूटो आरोप लगाएर संस्था खारेज गरेको उहाँको आरोप छ ।
खारेज हुनुअघि उहाँले २०६२ सालमा देशभरका सबै यातायात व्यवसायीको एउटै संघ बनाएर छाड्नुभएको हो ।
२०५० सालमा राजनीतिक आस्थाका आधारमा छुट्टै व्ययवसायी महासंघ चाहिन्छ भनेर कांग्रेसका नेता खुमबहादुर खड्काले योगेन्द्र कर्माचार्यको अध्यक्षतामा राष्ट्रिय यातायात व्यवसायी महासंघ खडा गर्नुभयो ।
पछि २ वटा महासंघको झगडा भयो अनि सर्वोच्च महासंघ गठन भयो । पछि सर्वोच्च महासंघ पनि यातायात व्यवसायी महासंघमा नै एकीकरण भयो र अन्त्यसम्म बाँकी रहेको नेपाल यातायात व्यवसायी महासंघलाई पनि सरकारले अन्तिममा खारेज गरेर कम्पनी ऐन अन्तर्गत यातायात व्यवसाय सञ्चालन गर्ने निर्णय गर्यो ।
त्यसपछि १५ असोज २०७५ मा कम्पनी महासंघ गठन भयो, जसको नाम सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल रहेको छ । यस अन्तर्गत हाल मुलुकभरका ८ सय वटा कम्पनी तथा व्यवसायी आवद्ध छन् ।
उहाँले यातायात व्यवसायी महासंघलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने कामसमेत गर्नुभयो । इन्टरनेसनल रोड ट्रान्सपोर्ट युनियन जेनेभाको सदस्य बनाउने काम गर्नुभयो महासंघलाई, जुन दक्षिण एसियाकै पहिलो हो । यो भनेको सन् १९८५ को कुरा हो ।
‘तर, यसलाई सरकारले खासै वास्ता गरेन अनि व्यवसायीले पनि यसको महत्त्व नबुझेका कारण यो अन्तर्राष्ट्रिय सदस्यको काम पनि खासै प्रभावकारी भएन’, उहाँ भन्नुहुन्छ ।
विवाह
उहाँको पहिलो विवाह २०२४ सालमा भएको हो । विवाहको ११ वर्षसम्म पनि कुनै जायजन्म नभएका कारण उहाँले २०३५ सालमा अर्को विवाह गर्नुभयो ।
पछि पहिलो श्रीमतीका तर्फबाट पनि एउटा छोराको जन्म भयो भने दोस्रो श्रीमतीका तर्फबाट २ छोरा तथा २ छोरी ।
छोराहरू सबै विदेशमा हुनुहुन्छ भने छोरीहरू विवाहपश्चात आफ्नै घरमा हुनुहुन्छ ।
प्रकाशन
अमेरिका, जापान, स्विट्जरल्याण्ड, चीन आदि देशको भ्रमण गरिसकेपछि उहाँले यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि ‘आलोपालो’ पुस्तकसमेत प्रकाशनमा ल्याउनुभएको छ ।
‘आलोपालो’को दोस्रो अंक पनि बजारमा आएको छ । पुस्तकका रूपमा ‘आलोपालो’ भए पनि विभिन्न सभा, सेमिनार तथा गोष्ठीमा उहाँले थुप्रै कार्यपत्र लेख्नुभएको छ ।
साहित्यका उहाँका सिर्जना पनि छिट्टै पुस्तकका रूपमा बजारमा आउँदै छन् ।
संघसंस्थामा संलग्नता
उहाँ संस्थापक महासचिव मात्र नभएर २५ वर्ष लगातार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिव हुनुभयो ।
३ वर्ष अगाडि उहाँ फेरि सार्वजनिक यातायात केन्द्रीय महासंघको अध्यक्ष हुनुभएको छ । भर्खर गत २३ जेठमा मात्र उहाँले सबै महासंघको एकता गरेर नेतृत्व अन्य युवालाई हस्तान्तरण गरेर सार्वजनिक यातायात केन्द्रीय महासंघको प्रमुख संरक्षक हुनुभएको छ, जुन पद उहाँलाई महाधिवेशनले निर्वाचनबाट पारित गरेर प्रदान गरेको हो ।
उहाँ नेपाल स्काउटको अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुनुहुन्छ साथै नेपाल रेडक्रसको पनि अन्तर्राष्ट्रिय प्रशिक्षक ।
रेडक्रसमा उहाँको संलग्नता करिब ५० वर्षको रह्यो । उहाँ रेडक्रस आजीवन सदस्यसमेत हुनुहुन्छ । सम्मान र पुरस्कारका कुरा गर्दा राष्ट्रिय रूपमा चर्चित पुरस्कार नभए पनि सामाजिक तथा सामुदायिक स्तरमा भने थुप्रै सम्मान तथा पुरस्कार प्रप्त गरिसक्नुभएकाे छ ।