लोकसंवाद संवाददाता | समाचार | साउन ३१, २०७८
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कमिटी बैठकमा ८ पृष्ठ लामो राजनीतिक र सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीति अवस्था सिर्जना हुनुको लामो पृष्ठभूमि उल्लेख गर्दै अहिले बनेको वाम–लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । बैठकमा ५२ पृष्ठ लामो विधान संशोधन प्रस्ताव समेत पेश गरिएको छ ।
नेकपा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा एमालेसँग चुनावी मोर्चा बनाउँदै पार्टी एकता गरेको थियो । प्रचण्डले आफ्नो दस्तावेजमा एमालेसँगको एकतालाई वस्तुतः सही भएको उल्लेख गरेका छन् । यद्यपि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसपर्मणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपामा फुट पैदा भएको उनको विश्लेषण रहेको छ ।
प्रचण्डले दस्तावेजमा भनेका छन्, ‘केपी ओलीले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि निरन्तर प्रहार गरेको, पार्टीलाई पूरै दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पूँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपयोग गर्ने, प्राप्त राजनीतिक उपलब्धी संघीयता, गणतन्त्र र संविधान माथि नै आक्रमण गर्ने काम गरेको कुरा उल्लेख छ । प्रतिनिधिसभा पुनः स्थापना भए पश्चात नैतिक रुपमा आफ्नो कमजोरी स्वीकार गर्दै राजीनामा दिनुको सट्टा केपी ओली गुट आफ्नो दक्षिणपन्थी, संकीर्ण, व्यक्तिवादी, गुटवादी र फुटपरस्त गतिविधिमा मात्र लागेन अपितु जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर निरंकुशता र प्रतिगमनको अझ नाङ्गो रुप प्रदर्शन गर्यो ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक र सांगठनिक प्रस्तावकाे पूर्णपाठ
उनले दोस्रोपटक प्रतिनिधिसभा विघटनपछि बनेको वाम लोकतान्त्रिक गठबन्धनको निर्माण सही भएको उनको दस्तावेजमा उल्लेख गरिएको छ । ‘प्रतिनिधिसभाका १४९ जना माननीय सदस्यहरुले नेपालको संविधानको धारा ७६ (५) शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा राष्ट्रपतिकै आह्वान अनुसार विधिसंगत ढंगले हस्ताक्षर बुझाइयो। राष्ट्रपतिबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको सट्टा सरल विधिको खिल्ली उड्ने गरी मध्यरातमा प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमनकै दोस्रो श्रृखला थियो,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘त्यसविरुद्ध पार्टीले बाम लोकतान्त्रिक शक्तिको संयुक्त मोर्चा निर्माण गरी अगाडि बढ्ने नीति लियो। यो नीति सही रहेको तथ्य घटनाक्रमले प्रमाणित गरिसकेको छ ।’
उनले अहिलेको सरकारलाई विगतमा भएको सरकारहरुको हेरफेरका सामान्य घटनाको रुपमा बुझनु गल्ती हुने समेत बताएका छन् । उनको प्रतिवेदनमा भनिएको छ, ‘नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने, संघीयताको पूर्ण कार्यान्वयन गर्ने, प्रतिगमनलाई पूर्णरुपले परास्त गर्ने, शान्ति प्रक्रियाको बाँकी कामहरु सम्पन्न गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै देशलाई संवैधानिक एबम लोकतान्त्रिक बाटोमा हिँडाउने गम्भीर जिम्मेवारी परिवर्तनकारी शक्तिहरुको काँधमा रहेको छ ।’
एमालेसँग एकताका क्रममा मालेमावाद छाडेका प्रचण्डले अहिले भने मालेमावादमा जोड दिएका छन् । उनको दस्तावेजमा भनिएको छ, ‘मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै समाजवाद निर्माणको दिशामा बढ्न सक्ने पार्टी निर्माण गर्न हाम्रो अहिलेको आवश्यकता हो। विधि र प्रणाली व्यवस्थित नबनाइकन पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन।
प्रचण्डले लामो राजनीतिक पृष्ठभूमिको चर्चा गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न राजनीतिक शक्तिलाई हेर्ने माओवादी केन्द्रको दृष्टिकोणबारे भने केही उल्लेख गरिएको छैन । विगतमा प्रस्तावमा उनले अन्य पार्टीलाई हेर्ने दृष्टिकोण राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका हुन्थे । विगतमा एमालेसँगको एकतालाई वस्तुतः सही भनेका उनले अब एमालेसँगको सम्बन्ध कस्तो हुन्छ र त्यो कस्तो राजनीतिक शक्तिमा रुपमा रहेको छ भन्नेबारेमा केही उल्लेख गरेका छैनन् । एमालेभित्र यतिबेला दुई चिरा परेको छ। माधवकुमार नेपाल र उनको समूहसँग प्रचण्ड लामो समयदेखि सहकार्यमा छन् भने केपी ओली समूहसँग तित्ततापूर्ण सम्बन्ध छ ।
उनको दस्तावेजमा ओली प्रतिगमनकारी एवं दलाल पुँजीवाद र विदेशीसामु आत्मसमर्पण गर्ने व्यक्तिका रुपमा उल्लेख गरिएको छ । एमालेको ओली समूहको आलोचना गरिएको दस्तावेजमा हाल सत्ताको नेतृत्व गरिरहेको र गठबन्धनमा रहेको नेपालाी कांग्रेसबारे केही उल्लेख गरिएको छैन । यसअघि स्थानीय तहको निर्वाचनमा कांग्रेससँग सहकार्य गरेका प्रचण्डले २०७४ को निर्वाचनअघि एमालेसँग गठबन्धन गरेका थिए ।
यतिबेला उनी फेरि कांग्रेससँगको सहकार्यमा छन् । यस्तै विगतमा माओवादीमै रहेका डा. बाबुराम भट्टराईको ठूलो समूह रहेको जनता समाजवादी पार्टीसँग कस्तो राजनीतिक सम्बन्ध छ र अब कस्तो हुन्छ भन्नेमा पनि दस्तावेज मौन देखिएको छ । यद्यपि उनको दस्तावेजनमा अहिलको गठबन्धनलाई निर्वाचनसम्म लैजाने उल्लेख गरिएको छ । अर्कोतिर नेकपाको विरासत बोक्दै वाम एकता गर्ने कुरा पनि उल्लेख छ ।
दस्तावेजमा अन्तर्राष्ट्रिय अवस्थाबारे पनि उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘विश्वमा साम्राज्यवाद एवं उत्पीडित राष्ट्र र जनताका बीच, साम्राज्यवादी देशहरु बीच, स्वयं, साम्राज्यवादी देशहरुभित्र पुँजीपति र मजदूरहरुका बीचका आधारभूत अन्तरविरोधहरु झन् तीव्र बन्न गएका छन्। पूँजीवादमा आएको संकटलाई व्यवस्थापन गर्न आफैं भित्र गरेका कथित सुधार र नवउदारवाद वारे स्वयं पूँजीवादीहरुमा नै विश्वास र भरोसा टुट्दै गएको छ। साम्राज्यवादी शाक्तिहरु बीचको अन्तरविरोधका कारण पुँजीवादको संकट गहिरिँदो रुपमा अभिव्यक्त भइरहेको छ ।’
तर उनको दस्तावेजमा राष्ट्रिय रुपमा भने सामन्तवादको अवशेष र दलाल पुँजीवादविरुद्ध संघर्ष गर्दै समाजवादको आधार तयार पार्ने कार्यदिशामा अघि बढ्ने उल्लेख गरिएको छ । तर, दलाल पुँजीवादी शक्तिबारे किटान गरिएको छैन ।
‘राजनीतिक पार्टी समाजमा रहेका वर्गहरुको प्रतिनिधित्व गर्ने संस्था हुन्,’ प्रचण्डको दस्तावेजमा भनिएको छ । उनी अहिलेका राजनीतिक शक्तिबारे मौन छन् । काँग्रेस, एमाले र जसपाले उनले उल्लेख गरेजस्तै गर्वमा परिभाषित गर्दा कुन वर्गको प्रतिनिधित्व गर्छन्, उनीहरु माओवादीका मित्र शक्ति हुन् वा शत्रु शक्ति हुन् ? यसबारे प्रचण्डको दस्तावेजमा केही उल्लेख छैन ।
उनको दस्तावेजमा अहिलेको गठबन्धनलाई निर्वाचनसम्म लैजाने भनिएको छ । यसको अर्थ उनी आगामी निर्वाचनमा कांग्रेस र जसपासहित एमालेको माधवकुमार नेपाल र जनमोर्चासँगै सहकार्य गर्ने पक्षमा देखिएका छन् । तर एमालेमा रहेको माधवकुमार नेपाल आगामी निर्वाचनसम्म एमालेमै हुन्छन् या अर्को पार्टी गठन गर्छन् भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । यद्यपि उनले वामपन्थीसँग सहकार्य गरेर समाजवादसम्म पुगिने कुरा उल्लेख गरेका छन् ।
दस्तावेजमा भनिएको छ, ‘समाजवाद निर्माणका लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं भन्ने ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक छ । नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न सक्दैनन् । मूलतः आफ्नै शक्तिमा भर पर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत स्वामित्वसमेत हाम्रो पार्टीले लिनुपर्दछ ।’
तर उनले केपी ओलीको प्रतिगमनविरुद्ध अहिलेको वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरेको उल्लेख गरेका छन् । यसको अर्थ अबको वाम गठबन्धन एमालेको केपी ओली समूहभन्दा अन्य शक्तिको हुनसक्छ भनेर सहज अन्दाज लगाउन सकिन्छ । उनले अहिले पनि माधवकुमार नेपाल समूहको अवस्था के हुन्छ भनेर टुंगो नलागेको र जसपाको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता नरेको अवस्थामा अहिलेको सरकार नै अल्पमतमा पर्ने समेत औंल्याइएको छ ।
यस्तै उनले दस्तावेजमा आगामी निर्वाचनमा माओवादी देशको प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । त्यसका लागि उनले माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको कुरालाई प्रमाणका रुपमा देखाउन खोजेका छन् । यद्यपि संगठनात्मक रुपमा अझै कमजोर रहेको स्वीकार गरिएको छ । संगठन अस्तव्यस्त भएको उल्लेख गर्दै उनले प्रतिवेदनमा माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको र अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।
एमालेसँग एकताका क्रममा मालेमावाद छाडेका प्रचण्डले अहिले भने मालेमावादमा जोड दिएका छन् । उनको दस्तावेजमा भनिएको छ, ‘मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै समाजवाद निर्माणको दिशामा बढ्न सक्ने पार्टी निर्माण गर्न हाम्रो अहिलेको आवश्यकता हो। विधि र प्रणाली व्यवस्थित नबनाइकन पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन। परिमार्जित विधानले उक्त आवश्यकतालाई संबोधन गर्ने नै छ।
आम जनसमुदायलाई पार्टीको उद्देश्य र कार्यक्रम मार्फत प्रशिक्षित र संगठित गर्ने कार्यलाई योजनाबद्ध रुपमा बढाउन आवश्यक छ। आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवम् प्रादेशिक निर्वाचन मार्फत देशको नेतृत्वदायी शक्तिको रुपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढाउन पर्दछ। नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागि राष्ट्रिय सम्मेलनको आयोजना गरिने प्रस्ताव गरिएको छ । उनले पार्टीको अवको बाटो २१ औं शताब्दीको वैज्ञानिक समाजवाद हुने र यस सम्बन्धमा आगामी पुस ११ मा हुने राष्ट्रिय सम्मेलनसम्म बहसमा लैजाने प्रस्ताव गरेका छन् ।