लोकसंवाद संवाददाता | विदेश | साउन ३२, २०७८
केही दिनयता प्रान्तीय राजधानीमाथि एकपछि अर्को नियन्त्रण कायम गर्दै आएको तालिबान अन्ततः काबुल आइपुगेको छ । तालिबान लडाकु काबुल प्रवेश गरेसँगै राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन् । तालिबानले राष्ट्रपति कार्यालय नियन्त्रणमा लिएको दाबी गरेको छ । स्थानीय पत्रकार बिलाल सरवरीले तालिबानसँगको सिधा वार्तामा सहभागी दुई व्यक्तिलाई उदृत गर्दै सम्झौताअनुसार राष्ट्रपति भवनमा सत्ता हस्तान्तरण समारोह हुने तय भएको थियो । तर राष्ट्रपति र उनका सहयोगी छाडेर गए । सहयोगीहरुले कर्मचारीलाई राष्ट्रपति कार्यालय छाड्न भनिएको र खाली भइसकेको बताइएको छ। तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेको दाबी गरे पनि सरकारी अधिकारीले अझै पुष्टि भने गरिसकेका छैनन् ।
झण्डै २० वर्षअघि अमेरिकी सेनाले आक्रमण गरी तालिबानलाई सत्ताच्युत गरेको थियो । अब अमेरिकी सेना फिर्ता प्रक्रिया सुरु भएको दुई महिना नपुग्दै अफगानिस्तान तालिबानको नियन्त्रणमा पुगेको छ । यसअघि तालिबान सत्तामा आउँदा सन् १९९५ मा हेरात प्रान्त कब्जा गरेका तालिबानले करिब १ वर्षपछि काबुलमा नियन्त्रण कायम गरेका थिए । तर यसपटक करिब १० दिनमा नै अधिकांश प्रान्तका राजधानी कब्जा गरेर देशको राजधानी काबुलमाथि नियन्त्रण कायम गरेको बताइएको छ । आइतबार बिहानै एक गोली समेत नपड्काइ जालालाबाद कब्जा गरेपछि तालिबान सिधै काबुल पुगेका हुन् ।
आलोचनाबीच अमेरिका बोल्यो
तालिबानले तीव्र रुपमा कब्जा गरेपछि अमेरिकी दूतावास काबुल विमानस्थलमा सारिएको छ । अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ रस विल्सनले काबुल छाडेर विमानस्थलमा सरेका छन् । अफगानिस्तानमा २० वर्ष युद्ध गरेको अमेरिकाको फिर्तीलाई भियतनाम युद्धका समयमा भएको फिर्तीसँग तुलना गरिएको छ । ४६ वर्षअघि भियतनाममा अमेरिकाले सर्मनाक हार भोगेर फर्किएको थियो । विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिकाको अफगानिस्तान मिसन सफल भएको दाबी गरेका छन् । ४६ वर्षअघि भियतनाम युद्धका क्रममा अमेरिका साइगनबाट यसरी नै निस्किनुपरेको घटनासँग तुलना गरेपछि उनले भने, ‘यो साइगन होइन।’ लामो समयसम्म अफगानिस्तानमा युद्ध लडेको अमेरिकी सेनाको फिर्तीलाई लिएर आलोचना भइरहेको छ । अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि सेना फिर्ता गर्ने अमेरिकी निर्णयमाथि चर्को आलोचना भएको छ ।
पुरुषले दाह्री पाल्नुपर्ने र महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्ने नियम कडाइपूर्वक लागू गरे । टेलिभिजन, संगीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान रोक लगाए । अहिले तालिबानको कब्जासँगै फेरि यस्ता घटना दोहोरिने त्रास र सम्भावना त्यति नै कायम छ ।
अमेरिकाको हालै ‘लिक’ एक गुप्तचर रिपोर्टमा तीन महिनाभित्र अफगानिस्तानमा तालिबानको नियन्त्रण हुने उल्लेख थियो । तर त्यति समय नलगाइ तालिबान हाबी भएको छ । २० वर्षसम्म अमेरिका, बेलायतसहित नेटो सेनाले अफगानिस्तानको सुरक्षामा गरेको खर्च र अफगानी सेनालाई दिएको तालिममाथि प्रश्न तेर्सिएको छ। अमेरिकीसहित नेटो सेनाका कतिपय जनरलले शक्तिशाली अफगान सैनिक तयार पारेको दाबी गर्दै आएका थिए । तालिबानले उनीहरुको दाबी फिक्का साबित गरिदिएको छ ।
२० वर्षसम्म के गर्यो अफगान सरकारले ?
सत्ताबाट च्युत भएको २० वर्षमा तालिबानले गरेको हमलाका कुनै पनि स्थानमा अफगानी सरकारका तर्फबाट ठूला प्रतिवाद भएनन् । यसले अफगान सेना, त्यहाँको सरकार र यसले २० वर्षसम्म राष्ट्रिय सुरक्षामा गरेको प्रगतिको उदांगो रुपमा देखिएको छ । कागजी रुपमा अफगानिस्तानसँग सेना, एयरफोर्स र प्रहरी गरी तीन लाखभन्दा बढी सुरक्षा फौज छन्। अफगान सेनामा भर्ती हुन चाहने युवाहरुको संख्या कम थियो । जसमा फौजमा नाम भएको तर छाडिसकेको व्यक्तिको नाममा तलब भत्ता वितरण गरेर भ्रष्टाचार गरिएको विषयले अफगान सेनाको संख्या कागजमा भएजति वास्तविकतामा नभएको घटना केही समयअघि बाहिर आएको थियो । अमेरिकाको 'कम्याटिङ टेररिज्म सेन्टर'ले करिब ६० हजार तालिबान लडाकू रहेको अनुमान गरेको छ । तर सशस्त्र समूह र उनीहरुका समर्थक समेत गरी करिब २ लाखको संख्यामा लडाकू भएको अनुमान छ । तर तालिबान सरकारी फौजमाथि हाबी देखियो र सिंगो देशलाई निमेशभरका नियन्त्रणमा लिन सफल भयो ।
कसरी शक्तिशाली भयो तालिबान ?
दुई दशक लामो युद्धपछि अमेरिकी सेनाले आगामी ११ सेप्टेम्बरसम्म फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहेको छ। तर त्यसअघि नै तालिबान काबुलमा पुगिसकेको छ । सन् २०१८ मा तालिबानले अमेरिकासँग वार्ता सुरु गरेको थियो । सन् २०२० को फेब्रुअरीमा तालिबान र अमेरिकाबीच कतारको दोहामा शान्ति सम्झौता समेत भयो।
जसमा अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता हुने र तालिबानले उनीहरूमाथि आक्रमणहरू नगर्ने प्रतिबद्धता थियो । सम्झौतामा तालिबान नियन्त्रित क्षेत्रहरूमा अल–कायदा अथवा अरू समूहका गतिविधि गर्न नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रक्रियालाई अगाडि बढाउने उल्लेख थियो । तालिबानले त्यसपछि अमेरिकी सेनामाथि हमला नगरेपनि अफगान सुरक्षा फौज र सर्वसाधारणमाथि निशाना बनाउँदै आएका थिए ।
पश्तो भाषामा तालिबानको अर्थ ‘विद्यार्थीहरू’ भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट तालिबानको उदय भएको हो । मुख्यतः पश्तोन आन्दोलन सुरुमा धार्मिक संघसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ । जुन संघसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।
तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति–सुरक्षा पुनर्स्थापित गर्ने र मुस्लिम शरिया कानुन लागु गर्ने वाचा गर्यो। अफगानिस्तानमा तालिबानको प्रभाव तीव्र रुपमा बढ्यो । सन् १९९५ को सेप्टेम्बरमा इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे। त्यसको एक वर्षपछि नै राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे । उनी सोभियत संघको अतिक्रमणविरुद्ध अफगान मुजाहिदीन तयार पार्ने संस्थापकमध्ये एक थिए। सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेका थिए। सोभियतहरूलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलोपटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।
भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरू लोकप्रिय भए । तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने काम गरे । जस्तै हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने नियम लागू गरे ।
पुरुषले दाह्री पाल्नुपर्ने र महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्ने नियम कडाइपूर्वक लागू गरे । टेलिभिजन, संगीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान रोक लगाए । अहिले तालिबानको कब्जासँगै फेरि यस्ता घटना दोहोरिने त्रास र सम्भावना त्यति नै कायम छ ।