प्रविधिले भत्काएको जातीय अहङ्कार, अझै बाँकी छन् पर्खालहरू

प्रविधिले भत्काएको जातीय अहङ्कार, अझै बाँकी छन् पर्खालहरू

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ ०२, २०७८

धादिङको केवलपुरमा जन्मिएका कवि केवलपुरे किसानले हलो क्रान्ति गरे प्रजातन्त्र आउनुभन्दा पहिले । सुवेदी परिवारमा जन्मिएर संस्कृत शिक्षा अध्ययन गरेका किसानले गर्नुपर्थ्यो पुरोहित्याइँ तर गरे हलो जोत्ने काम । 

अहिले आएर हेर्दा उनको काम त्यति महत्त्वपूर्ण नलाग्न पनि सक्ला तर जुन परिवेशमा उनले हलो समातेका थिए। साँच्चै नै त्यो क्रान्तिकारी कदम थियो । त्यतिबेलाको समाजलाई गतिलो झापड थियो उनको कदम । वर्णव्यवस्थाको सातपत्रेमा जमेको लादी पखाल्ने पहिलो पानीको फोहोरा थियो त्यो । जातिच्युत हुन सक्ने या समाजबाट बहिष्कृत हुन सक्ने उग्र खतराका बाबजुद पनि उक्त दिशातर्फ मोडिने उनको आँटका पछाडि अदम्य वैचारिकता लुकेको भान हुन्छ । 

संसारलाई आफ्नो पसिना र श्रमले पाल्ने किसानको सम्मानमा उनले आफ्नो उपनाम ‘किसान’ राखे । कवि केवलपुरे किसान बने । उनको कवित्वको भन्दा हलो क्रान्तिको चर्चा बढी हुन्छ । देशलाई पनि कविताको भन्दा क्रान्तिकै आवश्यकता भएर होला सायद ।

आखिर किसानले हलो समाउँदा क्रान्तिचाहिँ किन भयो त ? जनक राजाले हलो जोत्दा सीतालाई पाए तर उनलाई कसैले क्रान्तिकारी भनेन । बलरामको अर्को नाम नै हली र हलधर हो, उनको व्यक्तिगत आयुध अर्थात् हतियार नै हलो हो । जीवनभर हलो काँधमा बोकेर हिँड्ने बलरामलाई पनि क्रान्तिकारी भनिँदैन तर एक पटक हलो के समातेका थिए, केवलपुरे किसान क्रान्तिकारी भए । 

हलोलाई कसले बनायो अछूत ? कसले बनायो ब्राह्मणले छुन नहुने ? वा जोत्न नहुने ? हाम्रो समाजमा एउटा कुरीतिको थालनी भयो ब्राह्मणले हलो जोत्न हुँदैन भनेर । कहिलेदेखि यस्तो भन्न थालियो भन्ने विषयमा हलोको ऐतिहासिक अध्ययन नै गर्नुपर्छ ।

हलो मानिसलाई पशुपालनको युगबाट कृषियुगमा डोहोर्‍याउने विशिष्ट साधन हो । वर्षौंवर्षको परिमार्जनपश्चात् हलो छिटोछरितो र आकर्षक भयो होला । यति महत्त्वपूर्ण कृषि औजारलाई तत्कालीन मानिसले कृषि जीवनको भरपर्दो साथी माने । यथोचित सम्मान गरे पनि हलोको । खेतबारी मात्र होइन, यज्ञभूमि सम्याउन पनि हलोको आवश्यकता महसुस गरियो (डोजरले बाटो मात्र खन्दैन, घडेरी पनि खार्छ) र हलोमा पवित्रताको प्राण भरियो । 

घरमा रक्सी पारुन्जेल जातको ‘ट्रेडमार्क’ चाहिन्थ्यो । कम्पनी त बाहुनले पनि खोलेकै छन् । खुट्टाले चलाउने लुगा सिउने मेसिन आएपछि सूचीकार कर्ममा अरूले पनि आफ्नो दक्षता देखाएकै छन् । आरन चलाउन कामी चाहिन्थ्यो । वाइल्डिङ, लेथ मेसिन चलाउन जो भए पनि चलेकै छ । प्रविधिले नारा नलगाई, मान्छे नभड्काई पनि जातीयतालाई कमजोर बनाउने रहेछ ।

यसरी वैदिक एवं पौराणिक युगसम्म आइपुग्दा हलोमा जातीयता लादिएको थिएन । बिस्तारै जातहरूमा नयाँ लेप थपिँदै गयो । जातले नपुगेर वर्णको पुच्छर जोड्नुपर्‍यो । त्यसपछि नै हो कर्म अछूत भएको । कर्म अछूत हुन थालेपछि नै हो हाम्रो समाजले मानवता खोलामा सेलाएको । शास्त्र समातेर शासक (जयस्थिति मल्लहरू) आए । नर्कका काल्पनिक चलचित्रहरू धमाधम छायाङ्कन हुन थाले  । निर्देशकको भूमिकामा स्वाभाविक रूपमा समाजको बागडोर समातेको वर्ग नै उभियो ।

जीवनयापनका लागि नभई नहुने साधनरूलाई भाग लगाउन थालियो । सियोदेखि फालीसम्म भाग लाग्यो । घन, आरो, सियो, तरबार, गाढा, डुंगा सबैमा जातीयताको लोगो डामियो । 

राजाको छोरो राजा हुने समयमा बाहुनको छोरो बाहुन, कामीको छोरो कामी र माझीको छोरो माझी त  अनिवार्य नै हुनुपर्‍यो । अन्तर्जातमा हुन सक्ने विवाहलाई शास्त्रीय हिसाबले कठोरताका साथ दुरुत्साहन गरेपछि शुद्धताको रटान सुरु भयो । जातिच्युत हुने कुरामा शून्य सहनशीलता यसरी अपनाइयो कि बाहुनले बाहुनकै छोरी ल्याउँदा नि विवाह संस्कारका अभावमा सन्तान जैसी हुने स्थिति बन्यो । न राजाको छोरामा शूरता, वीरता हुनुपर्‍यो, न त ब्राह्मणपुत्रमा ब्रह्मज्ञान ! यही नियम अन्यत्र पनि लागू हुन्छ । 

यति मात्र होइन, अन्नमा, फलफूलमा, तरकारीमा पशुपक्षीमा समेत जातीयताको पावन्दी लगाइयो भने विचरा हलोको के कुरा ? हलो पनि ब्राह्मणले जोत्न नहुने जिनिस बन्यो ।

यसै कारण केवलपुरेले हलो जोत्दा क्रान्ति भयो । उनले हलो जोत्दैमा तत्काल हलीहरूप्रतिको विभेद सकियो भन्ने होइन । निश्चय पनि यस्तो कदम उठाएबापत उनले वा उनको खलकले प्रताडना खेप्नुपर्‍यो होला । समाजले बहिष्कार गर्न खोज्यो होला । तिनीहरू ‘हलो जोत्नेका खलक हुन्, हलो जोत्नेको खलकमा बिहे गर्नुहुँदैन’ भन्ने धारणा त हामीले थाहा पाउँदा पनि थियो । 

किसानले हलो जोते पनि त्यस आसपासका ‘शुद्ध बाहुन’हरूले हलो जोतेनन् । हलो जेतेर जातिच्युत हुन चाहेनन् । यमराजको तेलको कराही सम्झेर तर्से । छोरीचेली नबिक्लान् भनेर हच्किए । छोरा नागै बस्लान् भनेर डराए । घरमा गोरु पाले, हलो बनाएर राखे, हलो काँधमा हालेर खेतसम्म पुगे, मेलोमा गोरु नारी पनि दिए बाहुनले तर अनौ समातेर ‘ह ह’ भन्न दिएन जातीय अहंले ।

जातीयताले मानिसलाई ठूलाठूला आनन्दका अवसरबाट बञ्चित गरिदिन्छ, प्रेम र विवाहबाट मात्र होइन । साँच्चै भन्ने हो भने ब्राह्मणलाई प्याज, गोलभेँडा, भेन्टा, गान्टेमूलासमेत निषेध गरिदिन्छ  (यद्यपि, हाल यस्तो नहुन सक्छ कतैकतै) । 

दमाहा ठोकेर नाच्न मन लाग्ला । कर्नालमा फोक्सो फुलाउन मन लाग्ला । सहनाईँमा सुर लगाउन मन लाग्ला तर अहँ पाइँदैन । संगीत जस्तो आनन्दको सागरबाट क्षेत्री–ब्रह्मण च्युत । न आफ्नो घरको झ्याल आफैँ बनाउन पाइएको छ, न त आफ्नालागि लुगा सिलाउन । 

कथित तल्ला जातकालाई पनि महाभारत, रामायण पढ्न मन लाग्दो हो । मन्त्रपाठ गर्दा आनन्द आउँदो हो । आखिर गायत्री मन्त्रको सकारात्मक ऊर्जाले तिनलाई पनि ओजस्वी बनाउला नै । भात खाएर सबै जातका मानिस अघाउँछन् भने मन्त्रबलबाट सबै बलवान् हुन्छन् नै होला । तिनले हेर्नेबित्तिकै अक्षरहरू हावामा छु मन्तर हुने त होइनन् होला । कालिदासको कविताले दलितलाई मजा नाआउने भन्ने त छैन । भन्दा ‘साहित्य संगीतकलाविहीनस्साक्षात् पशुः पुच्छविषाणहीनः’ भन्ने अनि आफूबाहेक अरूलाई पशु नै बनाई राख्नेजस्तो कुराले त मानिसलाई खासै उन्नत बनाउँदैन । हलो जोत्नु पनि सामान्य कला वा सिर्जना मात्र होइन, त्यसबाट पनि मानिस निषिद्ध छन्, जसको कारण जातीयता नै हो ।

तर, एक दिन धार्के बजारमा चिनियाँ ट्याक्टरहरू देखिए । ती निर्जीव धातुका मेसिनमा क्रान्तिकारी शक्ति रहेछ । ट्याक्टरको मोहिनी रूपबाट सबै मोहित भए । 

ट्याक्टरले खेतबारी सजिलै जोत्छ भन्ने थाहा पाएपछि मानिसले भटाभट ट्याक्टर किनेर ल्याए । यसमा हलोमा जस्तो जातीयता लागू भएन । ट्याक्टर किन्ने चक्करमा जातभातका बारेमा सोच्ने फुर्सदै भएन । वर्षौंदेखि बाहुनले हलो जोत्नुहुँदैन भनेर बनेको विचारको ‘ग्रेट वाल’ चीनले थाहै नदिई भत्काइदियो । 

हलोको जमानामा हलीमा छुट्टै ‘ग्ल्यामर’ थियो । भर्खर पानी परेर भिजेको बारीमा भससस जोत्दै जान्थ्यो । बारीबाट हररर बास्ना आउँथ्यो । हामी केटाकेटी थैलोमा मकै बोकेर उसकै पछाडि भैलो खेल्थ्यौँ । अझ रमाइलो त रोपाइँको अवसरमा देखिन्थ्यो । गोरुको पुच्छर समातेर गराको ओल्लो छेउ र पल्लो छेउ गर्दा लाग्थ्यो– ऊ दाँदेको हली होइन कि टाइटानिकको क्याप्टेन हो (‘पढिनस् भने हली बन्छस्’ भनेर गरेको गाली पनि पुगे हुन्थ्यो जस्तो लाग्ने) । 

किसानको घरमा खेतबारीमा गोरु जोत्ने दिन पर्वै आएजस्तो हुन्छ । अझ खाजापानीलगायतमा विशेष ध्यान हुन्छ । मानिस चटाराले च्यापिएका हुन्छन् ।

तर, ट्याक्टरले हलो संस्कृतिलाई मात्र होइन, हली संस्कृतिलाई पनि प्रभावित पार्‍यो । आलो माटोमा आलो गोबरको गन्ध हरायो । डिजेल र पेट्रोलको औडाहा मिसियो । खेतबारी जोत्दाको आनन्द त घटेको छैन । हातले खाँदा गुलियो बढी हुने, चम्चाले खाँदा कम हुने त होइन रहेछ । आफैँले जोत्नुमा पनि बहुत मजा रहेछ नि, यत्रा वर्ष बाहुनले थाहा नै पाएनन् । गाउँ पालिकाले ५० प्रतिशत अनुदानमा ट्याक्टर दिएपछि आफैँले जोतियो । आहा ! त्यो माटोको सुगन्ध !

केही वर्ष पहिले हाम्रा गाउँठाउँमा ‘शुद्ध बाहुन’हरू हलो जोत्दैन थिए । गोरु पाले पनि जोत्न गैरबाहुनलाई लगाइन्थ्यो । जसको गोरु उसैलाई बोलाउँदा ऊ जैसी, खत्री, यस्तै ‘मिश्रित बाहुन’ या अरू कोही हुने भइहाल्यो । तर, अब अवस्था त्यस्तो रहेन । घरमा ट्याक्टर छ भने बाहुन पनि अरूको खेतबारी जोत्न जान्छन्, खान्छन् र पैसा कमाउँछन् । 

कुनै समयमा रथ चलाउने जिम्मा निश्चित जातलाई थियो । जब मोटर गाडी बने, सबैले चलाए । पाइलट बन्नु त जीवन सार्थक हुनु भइगयो । घरमा रक्सी पारुन्जेल जातको ‘ट्रेडमार्क’ चाहिन्थ्यो । कम्पनी त बाहुनले पनि खोलेकै छन् । खुट्टाले चलाउने लुगा सिउने मेसिन आएपछि सूचीकार कर्ममा अरूले पनि आफ्नो दक्षता देखाएकै छन् । आरन चलाउन कामी चाहिन्थ्यो । वाइल्डिङ, लेथ मेसिन चलाउन जो भए पनि चलेकै छ । प्रविधिले नारा नलगाई, मान्छे नभड्काई पनि जातीयतालाई कमजोर बनाउने रहेछ ।

‘ब्राह्मणले आफ्नो काममा अरूलाई छिर्न दिँदैन तर आफूचाहिँ कमाइ हेरेर जता पनि लाग्छ’ भन्नेहरू पनि छन् । त्यसको पनि छिनोफानो गर्नै पर्‍यो । ब्राह्मणको भागमा परेका दुइटा काम छन्–अध्यापन र पुरोहित्याइँ । शिक्षक को हुने भन्ने विषयमा विवाद नै छैन । सबै जात र धर्मका मानिसले अध्यापक हुन पाउँछन् र भएका पनि छन् । पेसाकै हिसाबले हेर्दा पुर्ख्यौली पेसा खतरामा पर्नेमा बाहुन् पनि हुन् । 

अर्को काम पुरोहित्याइँ हो ब्राह्मणको । यसमा भने सेवादाताभन्दा सेवाग्राही कठोर छन् । कर्मकाण्ड गराउन जान्दैमा पुरोहित बन्न पाइन्छ भन्ने छैन । यसको आधार संरचनाकै अध्ययन हुनुपर्छ । पुरोहित बन्ने प्रक्रिया सबै जातीय संस्कृतिमा छ । ज्योतिषी कर्मलाई त प्रविधिले अन्य जातमा लगिसक्यो । कर्मकाण्डमा के हुन्छ, हेर्दै जाऊँ ।

प्रविधि र परम्पराको सम्बन्ध अन्वयात्मक कम र व्यतिरेकी बढी देखिँदोरहेछ । प्रविधिले मानिसको जीवनशैलीलाई सहज मात्र बनाउँदैन, परिवर्तन नै गरिदिन्छ । परंपरागत संस्कृतिको जकडबाट निकालेर आधुनिकताको प्राङ्गणमा उभ्याइदिन्छ पनि । आधुनिक आविष्कारहरूले हामी जस्ता परंपरालाई अँगालो मारेर निदाउनेहरूलाई पनि जीवनको नयाँ पाठ पढाएको छ । यसका अध्यायहरू बाँकी नै छन् ।