काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र

काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र

एजेन्सी  |  विदेश  |  भदौ ०२, २०७८

अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट बिस्थापित भएर आएकाको भीड लागेको छ ।

उनीहरू आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरू भागेर त्यहाँ आएका हुन् । 

तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यसलगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरू त्यहीँ रहेका छन् ।

अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले सो कुरा बताएका छन् । उनीहरूले काबुलका विभिन्न खुल्ला क्षेत्र र विमानस्थलमा हजारौँ नागरिकको भीडभाड रहेको छ । 

उता, अफगानिस्तानको राजधानी काबुल नै तालिबानले कब्जा गरेपछि विदेशी नागरिक पनि आफ्नो देश फर्किन काबुलको विमानस्थलमा जम्मा भएका छन् । 

आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । ती अफगान र विदेशी नागरिकलाई संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाइएको छ । उनीहरूलाई आवश्यक पर्ने खाद्यान्न तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको बताइएको छ । 

उपस्थित ठूलो संख्याका विदेशी नागरिक स्वदेश फर्किन चाहे पनि आवश्यक मात्रामा उडान नहुँदा समस्या भएको छ । केही मात्रामा विदेशी नागरिकको संख्या घटेको भए पनि अझै धेरै मानिस त्यहाँ रहेका राजधानी काबुलबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।