लोकसंवाद संवाददाता | लोकरञ्जन | भदौ ०७, २०७८
दीपाश्री निरौला लगातार सफल फिल्म दिने निर्देशकमा पर्छिन् । अभिनेत्री हुँदै निर्देशनमा लागेकी दीपाले ‘छक्का पञ्जा’मार्फत निर्देशनमा पाइला टेकेकी हुन् । यसअघि उनी ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताका रूपमा थिइन् ।
डेब्यु फिल्ममै उनले सफलता पाइन् । त्यसपछि ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ ले पनि सफलताको रेकर्ड बनाउँदै गए । नेपाली फिल्मको बजार तताउने श्रेय दीपासहित दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायतको टिमलाई जान्छ ।
२०५४ सालमा पहिलो पटक फिल्ममा अभिनय गरेकी दीपालाई ‘गाउँले’ चलचित्रमा समावेश गीत ‘गोली सिसाको...’ले चिनाएको हो । उक्त गीतमा राजेश हमालसँग नृत्य गरेकी दीपाले राम्रो चर्चा बटुलिन् । सो चलचित्र २०५५ सालतिर रिलिज भएको थियो ।
दीपाले यो सफलता सजिलै भने पाएकी हैनन् । विराटनगरको मध्यम परिवारकी सदस्य दीपाले काठमाडौंमा धेरै संघर्ष गरिन् । २०५० सालतिर उनको भेट दीपकराज गिरीसँग भएको हो । रेडियो नेपालमा कामका लागि पुगेकी दीपाले त्यहीँ प्रांगणमा दीपकलाई पहिलो पटक भेटेकी थिइन् । त्यसपछि यी २ जनाले सहकार्यको सुरुवात गरे ।
‘दीपकलाई धनियाँ क्यारेक्टर चाहिएको रहेछ र म तराईको भएकाले उसले काम गर्न अफर गर्यो र हामीले सहकार्यको सुरुवात गर्यौं’, दीपाले भनिन् । त्यही सहकार्यले 'तीतो सत्य' हुँदै ठूलो पर्दाको चलचित्रसम्म निरन्तरता पायो ।
तर, पनि चाडवाडमा दीपाले आफूलाई कहिलेकाहीँ एक्लो महसुस गर्छिन् । ‘चाडवाडमा सबै परिवारसँग हुन्छन्, म एक्लै हुन्छु त्यसैले आममान्छेझैँ मलाई पनि फिल हुनु स्वाभाविक नै हो’, दीपाले भनिन् । तर, पछिल्लो समय उनले आफ्नो जिम्मेवारीलाई अझ अगाडि बढाएकी छन् । दर्शकको विश्वासले गर्दा उनी झन् बढी मिहिनेती भएकी छन् ।
किन एक्लै छन् त उनी ? भन्छिन्, ‘सायद म करियरमा बढी फोकस भएँ । प्रेम पनि बसेको थियो तर मैले त्यो समयमा करियरलाई नै रोजेँ किनकि सानैदेखि मलाई अभिनय गर्छु भन्ने लागेको थियो ।’
उनको पहिलो प्रेम त बस्यो तर करियर बाधक बन्यो । उनी फिल्म नगरीमा आफूलाई देख्न चाहन्थिन् तर उनको प्रेमीको योजना अर्कै थियो । ‘मैले मलाई प्रयास गर्न देऊ भनेकी थिएँ किनकि म आफ्नो सपनालाई एक पटक यथार्थमा परिणत भएको हेर्न चाहन्थे । तर, उसले मलाई १-२ वर्ष पनि कुर्न सकेन । उसको आफ्नै बाध्यता थियो, मेरो आफ्नै’, दीपाले भनिन् ।
उनले प्रेमीसँग केही समय मागेकी थिइन् तर प्रेमीसँग पारिवारिक दायित्व थियो । घरमा आमाबुबा बिरामीलगायतका दायित्वका कारण त्यतिबेला जोडी संभव नभएको दीपाको भनाइ छ । तर पनि पहिलो प्रेम अझै उनलाई याद छ । ‘हाम्रो सामाजिक संजाल तथा फोनमा कुराकानी हुन्छ तर भेटघाट हुँदैन’, उनले भनिन् । भेटघाटले सामीप्य बढाउने भएकाले त्यसो नगरेको उनको भनाइ छ ।
दीपाश्रीले विवाह नगर्ने मनसाय नबनाएकी होइनन् तर अहिलेसम्म जुरेको छैन । ‘मेरो परिवारलाई पनि मेरो विवाह हेर्ने रहर छ तर कहिले हुन्छ, भन्न सकिँदैन’, उनले भनिन् । उनले दायित्व नभएकै कारण आफूले सफलता प्राप्त गरेको पनि बताउँछिन् । उनी भन्छिन्, ‘मैले एकाग्र भएर फिल्ममा काम गर्न पाएकी छु । अरू केही सोच्नुपरेको छैन, त्यसैले मिहिनेतको सफलता पाएकी छु ।’
जीवनसाथी नपाए पनि आफूले माया गर्ने साथी पाएको उनको भनाइ छ । जोसँगको सहकार्यले उनले आफ्नो सपनालाई मूर्त रूप दिन सफल भएकी छन् । ‘हाम्रो बीचमा माया छ तर त्यसमा मित्रता छ । हामीले यत्रो वर्ष सहकार्य गरेका छौँ अनि सफलता पनि सँगै पाएका छौँ । माया नहुने संभव भएन तर हाम्रो मित्रता निकै माथि छ’, दीपाले भनिन् । यिनै दीपाले आज आफ्नो जन्मोत्सव मनाउँदै छन् । आजदेखि उनी ४६ वर्षमा प्रवेश गरेकी छन् ।
(दीपाश्रीसँग गरिएको कुराकानीमा आधारित)