१४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत

१४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ०७, २०७८

नेपाल कम्युनिस्ट पार्टी  (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् । 

ओली निवास बालकोटमा सोमबार भएको छलफलमा नेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन अध्यक्ष ओली सहमत भएको नेता याेगेश भट्टराईले जानकारी दिए । 

लामो समय नेपाल खेमामा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरूसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन र पार्टी एकताको वातावरण बनाउन सहमत भएको उनकाे भनाइ छ । यस विषयमा छलफल गरेर निर्णय गर्न भोलि मंगलबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

भाेलिकाे स्थायी समिति बैठकमा रावलसहितका 'तेस्रो धार'का भनिएका नेताहरू पनि सहभागी हुने बताइएकाे छ ।