जे.बी. टुहुरे: राजनीतिक, सामाजिक र सांस्कृतिक जागरणका अगुवा

जे.बी. टुहुरे: राजनीतिक, सामाजिक र सांस्कृतिक जागरणका अगुवा

माधव प्रधान  |  दृष्टिकोण  |  भदौ ११, २०७८

यी माथिका कालजयी गीतहरू हजारौँ पटक जनताको बीचमा गाउँदै हिँड्ने जनताका गायक जुठबहादुर खड्गी उर्फ जे.बी. टुहुरेको १० भदौ २०७८ मा काठमाडौंको वयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको निधन भयो । 

टुहुरेको भौतिक शरीरले बिदा लिए पनि नेपाली जनताले, विश्वभर रहेका नेपालीहरूले उहाँले गाउनुभएको गीत ‘आमा, दिदी, बैनी हो’ सबैले सम्झना गरे । उहाँप्रति श्रद्धाभाव प्रकट गरे । टुहुरे गायन कलामा अब्बल हुनुहुन्थ्यो साथै जनवादी गीत रचनामा ठेट शब्दहरू सँगालेर गीत रचना गर्न सक्ने हुँदाहुँदै पनि बढी समय संगीतकै बारेमा सोच्नु र गाउनु उहाँको रुचि थियो । 

साह्रै मिजासिलो, मेलमिलाप गरेर बाँच्नुपर्ने स्वभावका जे.बी. दाइ सादा जीवन, उच्च विचारलाई व्यवहारमा लागू गरौँ भन्ने भावनाका हुनुहुन्थ्यो । प्रगतिशील सांस्कृतिक आन्दोलनमा जनताका बीचमा उहाँले ५४ वर्षजति बिताउनुभयो । 

वि.सं. २००१ सालमा जन्मिनुभएका जे.बी. दाइले आफ्नो जन्मस्थान धरान भन्नुहुन्थ्यो । उहाँले कक्षा ९ सम्म मात्र औपचारिक अध्ययन गर्नुभएको थियो तर संसार परिवर्तन गर्न सकिन्छ भन्ने स्वअध्ययनबाट ज्ञान प्राप्त गरेका व्यक्ति हुनुहुन्थ्यो । 

उहाँले सांस्कृतिक क्षेत्रमा आफूलाई समर्पित गर्दागर्दै पनि प्राथमिक विद्यालय स्तरको शिक्षकसमेत भएर काम गरेर बसेको अनुभव सुनाउनुहुन्थ्यो । 

टुहुरेले आफ्नो बाल्यकालमा रेडियो नेपालबाट प्रसारण हुने लोकगीतहरू, आधुनिक गीतहरू सुनेर आफू पनि त्यस्तै गीत गाउन थालेको सुनाउनुहुन्थ्यो । गाउँघरमा, मेला, हाट बजारमा सानोतिनो सांस्कृतिक कार्यक्रममा लोकगीतहरू गाउन थालेर विस्तारै धरान सुनसरीबाट रेडियो नेपालमा आएर गीत गाउने अवसर पाएपछि जे.बी दाइको रेडियोका गायक भनेर चर्चा हुन थालेको रहेछ । 

जे.बी. टुहुरेले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ सांस्कृतिक जागरण कार्यक्रम, मेचीकाली सांस्कृतिक जागरण कार्यक्रमको नेतृत्व गर्दै प्रगतिशील कलाकारहरूको अभिभावक भएर काम गर्नुभएको थियो । 

रेडियो नेपालले ‘जुठबहादुरको स्वरमा सुन्नुहोस् यो गीत’ भनेर प्रसारण हुँदा जे.बी. टुहुरे नाम प्रचलनमा थिएन रे ! जे.बी. दाइले २०२५ सालतिर रेडियो नेपालको गायक भनेर चर्चा बटुल्दाबटुल्दै धरान, बिराटनगर, झापातिर प्रगतिशील साहित्यिक चेतना प्रसार गर्ने अभियन्ताहरूले ‘अब गीत नै गाउँदा जनताको पक्षमा, जनतालाई जगाउने गीत गाउनुपर्छ’ भन्ने सल्लाह दिन थालेपछि जे.बी. दाइले रेडियोमा गाउने माया-प्रीतिका गीत गाउन छाडेर जनताका, शोषण, दमन र उत्पीडनका विरुद्धका, जनता जगाउने खालका, जनचेतना विकसित र विस्तारित गर्ने खालका प्रगतिशील गीत गाउनतिर लाग्नुभएछ । 

२०२७ सालमा काठमाडौंमा कीर्तिपुर क्याम्पसमा त्यसबेला अध्ययन गर्ने प्रगतिशील भावनाका विद्यार्थीहरूले उहाँलाई धरानबाट गीत गाउन निम्तो दिएछन् । कीर्तिपुर क्याम्पसको अडियोटोरियम हलमा आयोजना गरिएको कार्यक्रममा उहाँले,

‘किसानको मुटु छामेर हेरेँ
क्रान्तिको ज्वाला दन्केकै छ
मजदुरको मुटु छामेर हेरेँ
ज्वाला त यहाँ रन्केकै छ’
 
गीत गाएर फेरि काठमाडौंबाट फर्किएर झापातिर पुगेर क्रान्तिकारी गीत गाउँदै बढ्नुभएछ । त्यसबेला नेपाल कम्युनिस्ट पार्टी मेची कोशी प्रान्तीय कमिटीसँगको सम्पर्कमा जे.बी. दाइको राजनीतिक यात्रा सँगसँगै सांस्कृतिक यात्रा पनि रहेको सम्झना गर्नुहुन्थ्यो । 

नेपालको इतिहासमा कम्युनिस्ट आन्दोलनको पाटोमा झापा किसान आन्दोलन अथवा झापा संघर्ष भनेर २०२८ सालमा भएको राजनीतिक विद्रोहले पूर्वको झापा, मोरङतिरका जनता त्यहाँका सामन्तका व्यवहारको विरुद्ध संगठित हुने लहर उठ्दै गर्दा राजनीतिक चेतनाको प्रभावमा रहेका जनताको माझमा जे.बी. टुहुरे दाइ प्रगतिशील गायक एवं संगीतकार भएर स्थापित हुन थाल्नुभएछ । यसै सेरोफेरोमा जे.बी. टुहुरेको सिर्जनामा धामी गीत ‘हे नि बालाउ’ भनेर सुरु गरिने गीत जन्मिएछ ।

‘बिर्खे साहुको वारी नि 
तिते पो घारी हे नि साइँलाउ
च्यान्टी र भुन्टी नि बाघैको 
मुखमा पर्‍यो हो नि बालाउ’

भनेर गाउँघरका धामी-झाँक्रीले फलाक्दै गाउने गीत जे.बी. टुहुरेले गाउँदै हिँड्नुभएको रहेछ । मोरङ कानेपोखरीमा रहेको रमाइलो झोडामा सुकुम्बासीहरूलाई बसोबासको व्यवस्था गर्दा तत्कालीन सरकारको विरुद्ध सुकुम्बासीहरूले आन्दोलन चलाउँदा धेरै जनाको ज्यानसमेत हताहत भएको थियो । त्यस घटनालाई ‘कानेपोखरी रमाइलो झोडा काण्ड’ भनिन्छ । त्यहाँ पनि जे.बी. टुहुरेले गीत गाउँदै जनताको पक्षमा प्रगतिशील चेतना गठाउने काम गरेको सम्झना गर्नुभएको थियो । २०२८ सालमा जे.बी. टुहुरेसँगैका साथी गीतकार लभ प्रधानले लेख्नुभएको गीत ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतमा गीतको अन्तिम हरफमा,

‘हालत छ जुन तिम्रो स्वदेशमा
त्यही छ हालत विदेशमा
कति छन् त्यहाँ मागेर हिँड्ने
कति छन् त्यहाँ मस्तीमा’

भनेर नेपालबाहिरका गरिब जनताहरूको अवस्थाको चित्रण गरिएको गीत गाउँदै हिँड्ने जे.बी. टुहुरेले सांस्कृतिक जागरण यात्रामा २०२९ सालमा धरान, बिराटनगरमा जनवादी भावनाका साहित्यकार, संगीतकर्मीहरूसँग मिलेर ‘नयाँ लहर’ सांस्कृतिक समूह गठन गरेर अगाडि बढ्नुभएछ । नयाँ लहर समूहको सांस्कृतिक व्यानरमा एकदेव ज्ञवालीद्वारा रचना गरिएको सर्वाधिक चर्चामा रहेको गीत ‘आमा, दिदी, बैनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर...’ बोलको गीत तयार गरिएको रहेछ । 

‘नयाँ लहर’ अभियान बढिरहेकै परिप्रेक्ष्यमा जे.बी. टुहुरे २०३३ सालतिर पुष्पलाल समूहले गठन गरेको सांस्कृतिक मोर्चा ‘मुक्ति मोर्चा’मा समर्पित हुनुभएको उहाँले कुराकानी हुँदा बताउनुभएको थियो । मुक्ति मोर्चा सांस्कृतिक संगठनमा कवि युद्धप्रसाद मिश्र, मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रसित र पुष्पलाल स्वयं पनि सक्रिय रहेर भारतको वनारसमा स्थापना गरेर चलायमान गरिएको पार्टी दस्तावेजहरूमा उल्लेख छ । 

२०३५/२०३६ सालको विद्यार्थी आन्दोलनबाट स्वतन्त्र विद्यार्थी युनयिन खोल्न पाउने अधिकार प्राप्त भएपछि थोरै प्रचार प्रसार, आमसभा गर्न पाउने वातावरण हुँदा ‘नयाँ लहर’ र जे.बी. टुहुरेको अगुवाइमा काठमाडौं, बिराटनगर, धरानका प्रगतिशील कलाकारहरू मिलेर प्रगतिशील सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नुभएको रहेछ । 

नेपालको प्रगतिशील सांगीतिक अभियानमा ‘नयाँ लहर’ समूह जे.बी. दाइले जनताको शक्तिशाली सांस्कृतिक संगठन थियो भनेर ठान्नुहुन्थ्यो । २०३५/२०३६ सालपछिका दिनमा जे.बी. दाइले धरान, बिराटनगरका कलाकार टोलीसहित ‘हाम्रो गीत, हाम्रो आवाज’ व्यानरमा काठमाडौंमा प्रगतिशील सांस्कृतिक कार्यक्रम गर्नुभएको थियो, जुन कार्यक्रममा काठमाडौंमा सक्रिय रहेका प्रगतिशील कलाकारहरूले आयोजना गरेका थिए ।

जे.बी. टुहुरे र उहाँको सांगठनिक जीवनको चर्चा गरिएन भने उहाँलाई प्रगतिशील गायक तथा संगीतकार मात्र भनियो भने उहाँका बारेमा अपूर्ण नै रहन्छ । २०३६/२०३७ सालपछि जे.बी. टुहुरे प्रगतिशील लेखक कलाकार संघ कोशी अञ्चलका उपाध्यक्ष हुनुहुन्थ्यो । २०४४ सालमा प्रगतिशील लेखक कलाकार संघको केन्द्रीय सदस्य हुनुभयो । 

२०४४ सालमा स्थापना गरिएको नेकपा (माले)को सांस्कृतिक मोर्चा राष्ट्रिय जनसांस्कृतिक मञ्चको उहाँ केन्द्रीय सदस्य हुँदै २०४७ सालमा उक्त संगठनको केन्द्रीय उपाध्यक्ष हुनुभएको थियो । २०५२ सालमा जनसांस्कृतिक मञ्चको अध्यक्ष भएर नेतृत्व गर्नुभएको थियो । 

जे.बी. टुहुरेले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ सांस्कृतिक जागरण कार्यक्रम, मेचीकाली सांस्कृतिक जागरण कार्यक्रमको नेतृत्व गर्दै प्रगतिशील कलाकारहरूको अभिभावक भएर काम गर्नुभएको थियो । 

जे.बी. टुहुरे गोर्खा दक्षिणबाहुबाट सम्मानित हुनुभएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट पनि पुरस्कृत हुनुभयो उहाँ । साहित्य सन्ध्या पुरस्कार पनि प्राप्त गर्नुभएको छ उहाँले ।

उहाँ नेकपा (माओवादी)को समानुपातिक कोटामा दोस्रो संविधानसभा सदस्यसमेत हुनुभयो । जे.बी. टुहुरेलाई श्रद्धाञ्जलि दिइरहँदा उहाँले गाउनुभएको गीत ‘आमा, दिदी, बैनी हो...’ गीत सामूहिक स्वरमा सबै उपस्थित कलाकार, साहभागीहरूले गाएका थिए । श्रद्धाञ्जलिसभा जनसांस्कृतिक महासंघले आयोजना गरी पशुपति क्षेत्रको आर्यघाट नपुग्दैको विश्रामस्थलमा भेला भएका जनसमुदायले आँखाबाट आँसु झारेर अन्तिम श्रद्धाञ्जलि दिँदै बिदा गरेका थिए । 

जे.बी. दाइले नेपाली गीत मात्र गाउनुभएन, नेपाली राजनीतिमा, सामाजिक र सांस्कृतिक क्षेत्रमा रूपान्तरण र जागरणका ऋचा अर्थात् मन्त्रहरूसमेत गीतमार्फत दिएर जानुभयो । अलबिदा जे.बी. दाइ !