कृष्ण केसी | साहित्य | भदौ १२, २०७८
आमा ! ए आमा ! !
मलाई यस धर्तीमा पाइला टेकाउन
म गर्भाशयमा बसेको दिनदेखि नै
एकातिर कष्टपूर्ण पीडा र अर्कोतिर
सुन्दर कल्पनाका छालहरूमा तैरिँदै
कति भोको पेट सङ्घर्ष गर्यौ होला
कति प्यासले सुक्यौ होला
घाँस–दाउराको भारी र पानीको गाग्रीसँगै
झरीझैँ पसिनाका धारा कति बगे होला
आमा !
थुप्रै दुःखहरूको भारी बोकेर
कष्टहरूको पहाड चढेर
मलाई गर्भमा बास दिई पृथ्वीमा पदार्पण गराउने
मेरी आमा ! हजुरलाई कोटी–कोटि प्रणाम !
मेरी आमा साँच्चीकै साक्षात् देवी
करुणा र प्रेमकी प्रतिमूर्ति
आफू रोएर पनि मलाई हाँस्न सिकाएकी
मेरै लागि आफ्नो जीवनको कुर्बानी दिएकी
कसरी बिर्सूँ आमा !
भित्र बिमार लुकाएर सन्तानको लागि बाहिर हाँसेको
म कसरी भुलूँ आमा !
म निःशब्द भएको छु
आमासँगका सबै रमाइला क्षणहरू
आज इतिहासका पाना भएका छन्
प्रार्थनामा सीमित भएका छन् अब जीवनका चाहनाहरू
तपाईँ हुनुहुन्न भनेर म कसरी विश्वास गरूँ आमा !
आमाको न्यानो वात्सल्य छुटेको पीडा
कसलाई व्यक्त गरूँ आमा !