लोकसंवाद संवाददाता | समाचार | बैशाख २४, २०७६
काठमाडाैं । यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा सम्पत्ति राखेको अनुसन्धानमा खुलेको छ ।
उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठ छन् । सबैका नाममा अकुत सम्पत्ति राखेको पाइएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अधिकारीले सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतको नाममा पनि सम्पत्ति राखेकाले उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।
अधिकारीविरुद्ध दुई वर्षअघि ६१ करोड रुपैयाँ राजस्व हिनामिनाको अभियोगमा मुद्दा दायर भएको थियो । उनले वर्षाैंसम्म कार्यालयका अन्य कर्मचारीलाई प्रभावमा पारेर कागजमा राजस्व जम्मा भएको देखाएर आफैँले हिनामिना गर्दै आएका थिए । जसमा तीन उपसचिवसहित आठजनाविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यसरी कमाएको सम्पत्ति उनले मोजमस्तीमा सकाएका थिए । उनको विभिन्न ठाउँमा घरजग्गा रहेको आयोगले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।