न्युज कारखाना | लोकरञ्जन | भदौ १४, २०७८
हिजोआज शुक्रबार र शनिबार आउन्नै हुँदैन, गोरखाको पालुङटार नगरपालिका- ६ का ९३ वर्षीय कुलबहादुर थापा, उनकी श्रीमती ८६ वर्षीया नन्दकुमारी र ५६ वर्षीया बुहारी सीतालाई घडीको सुई जति सक्दो छिटो घुमेर ९ बजिदिए हुन्थ्यो जस्तो लाग्छ ।
कारण- ‘अहिले प्रत्येक शुक्रबार र शनिबार राती ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन सिजन- २’ आउने गर्छ ।’
उनीहरू कमेडी खासै बुझ्दैनन्, कमेडी च्याम्पियन भनेको के हो ? अझै राम्ररी बुझेका छैनन् । तर, पनि कार्यक्रम नहेरी उनीहरूलाई शुक्रबार र शनिबार राती निद्रै लाग्दैन ।
उनीहरूका नाति/छोरा गोर्खाली कमेडियन (सन्तोष थापा) ‘कमेडी च्याम्पियन सिजन- २’ का प्रतिस्पर्धी हुन् । त्यसैले शुक्रबार सन्तोषलाई टिभीमा हेरेपछि मात्र उनीहरू आरामले निदाउने गर्छन् ।
सन्तोषकी आमा भन्छिन्, ‘सन्तोषको हजुरबुबा र हजुरआमा दुवै जना वद्धवृद्धा भइसक्नुभयो । हजुरबुबाले एउटा आँखा देख्नुहुन्न । कान अलिअलि सुन्नुुहुन्छ । दुवै जना नातिलाई टीभीमा हेर्न मन लागेर होला जतिखेरै आज के बार हो ? भनेर सोधिराख्नुहुन्छ । शुक्रबार त हामी छिट्टै खाना खाएर टिभी हेर्न थाल्छौँ ।’ सन्तोष अहिले ‘च्याम्पियनको उत्कृष्ट ४'मा पुगेका छन् । उनी ‘टप थ्री’मा पुग्ने बलियो प्रतिस्पर्धी हुन् ।
कहिल्यै खुलेर हाँस्न नसकेका सन्तोषले सबैलाई हँसाउन थाले
दिदीहरू शान्ता, सरिता र दाजु शिवपछि सन्तोष जन्मिए । उनी घरका कान्छो छोरा हुन् । उनको बाबु (तिलकबहादुर)ले लामो समय भारतमा काम गरे । त्यहीँको कमाइले उनीहरूको घर खर्च चल्थ्यो । २०५४ सालमा सन्तोष जन्मिए । तिलकबहादुरमाथि अर्काे जिम्मेवारी थपियो । अनि, धन कमाएर छोराछोरी र परिवारलाई सुख दिने आसमा २०५८ सालउनी मलेसिया हिँडे ।
तर, दुुर्भाग्य ! सन्तान र परिवारको उज्ज्वल भविष्यको झिनो आश बोकेर विदेशिएका उनी उतै विलीन भए । सपना बोकेर जहाज चढेका उनी, लास बनेर फर्किए । ४ वर्षकै उमेर हुँदा सन्तोषले बाबु गुमाए । २०६४ मंसिरमा तिलकबहादुरको मलेसियामै मृत्यु भयो । सन्तोषले राम्रोसँग बाबुको माया र स्नेह महसुस गर्नसमेत पाएनन् ।
‘कान्छो (सन्तोष) सानै थियो, उहाँ बित्नुभयो । बाबुसँग खेल्ने, रमाउने त परको कुरा, उसले त बाउलाई राम्ररी देख्न पनि पाएन’, सन्तोषकी आमा विगत सुनाउँछिन् । सँगै जिउने, सँगै मर्ने कसम खाएका श्रीमान् सुनौलो भविष्यको कल्पना गरेर धन कमाउन विदेशिए तर त्यसपछि कहिल्यै फर्केर आएनन् ।
श्रीमान्को मृत्युपछि परिवारको सबै जिम्मेवारी सीताकै काँधमा आयो । सबै सन्तान सानै थिए, सासूससुरालाई बुढेसकालले छोइसकेको थियो । खासै काम गर्न सक्दैनथे ।
जीवनसाथीको साथबाट सदाका लागि एक्लिएपछिको पीडा र त्यसपछिका समस्या सम्झँदा हिजोआज पनि सीताका आँखा रसाउने गर्छन् । उनी विगत सम्झँदै भन्छिन्, ‘उहाँको स्वर्गबास भएपछि छोराछोरी पढाउने, हुर्काउने, सासूससुरा स्याहार्ने सबै आफैँले गर्नुपर्ने भयो । मेलापात, खेती किसानी गरेरै हुर्काएँ । धेरै दुःख गरेँ, त्यो दिन सम्झँदा अझै विरक्त लाग्छ ।’
अहिले २ छोरी र जेठो छोराको बिहे भइसक्यो । जेठो छोरा वैदेशिक रोजगारीका लागि बहराइनमा छन् । सन्तोष कमेडी च्याम्पियनमा गएपछि ‘पपुलर’ भइसके । उनको कमेडी हेरेर गाउँका सबैले प्रशंसा गर्छन् । जब छोराछोरीको प्रगतिमा अरूले प्रशंसा गर्न थाल्छन्, सीता खुसीले गद्गद् हुन्छिन्, रमाउँछिन् ।
‘अहिले त गाउँका सबैले कमेडी च्याम्पियनको आमा भन्छन् । खुसी लाग्छ, छोरा फस्ट भइदिए हुन्थ्यो । भगवान्सँग कामना गरेकी छु, सबैको सधैँ राम्रो होस्’, खुसी हुँदै उनले भनिन् ।
नेपाल प्रहरीको जागिर, टिक्न नसकेको खुसी
सामान्य परिवारमा जन्मिएका सन्तोषलाई उनकी आमाले दुःखसुख गरेर गाउँकै स्कुलमा कक्षा १२ सम्म पढाइन् । २०७१ सालमा कक्षा १२ को परीक्षापछि सन्तोष कम्प्युटर सिक्न काठमाडौं गए । जेठी दिदीकोमा बसेर कम्प्युटर सिके ।
कक्षा १२ को परीक्षाफल आयो, उनी पास भए । सन्तोषले सानैदेखि आमाको दुःखलाई बुझेका थिए । १२ पास गरिसकेपछि अब कुनै जागिर खानुपर्छ, आमालाई सुख दिनुपर्छ भन्ने लाग्यो । नेपाल प्रहरीमा प्रयास गरे । १५ भदौ २०७३ मा उनी नेपाल प्रहरीमा छनोट भए । उनी ‘लाहुुरे’ बने । तालिम सकेर ड्युटी गर्न थाले । सन्तोष नेपाल प्रहरी भएकोमा परिवारका सबै सदस्य खुसी थिए । तर, उनको परिवारको यो खुसी पनि लामो समयसम्म टिक्न सकेन ।
नेपाल प्रहरीमा भर्ती भएको ३ वर्ष नबित्दै सन्तोष बिरामी भए । ‘प्रहरीमा जागिर खाएको ३ वर्ष नबित्दै कान्छोलाई (सन्तोषलाई) ढाडको समस्या आयो । बेस्सरी बिरामी पर्यो । ५-६ महिना त ओछ्यानको ओछ्यानमै बस्नुपर्यो अनि जागिर पनि छाड्नुपर्यो’, सन्तोषकी आमा सीता भन्छिन् ।
त्यसपछि कमेडी च्याम्पियनमा केन्द्रित
बिरामी भएर प्रहरीको जागिर छाडेपछि सन्तोष फेरि काठमाडौं गए । दिदीको पसल थियो, उनी सहयोग गर्न थाले । एक पटक हात पारेको खुसीलाई गुमाएका सन्तोषको दिनचर्या दिदीको काममा सहयोग गरेरै बित्न थाल्यो । यतिकैमा ‘कमेडी च्याम्पियन सिजन- २’ सुरु हुुने कुरा थाहा पाए ।
सन्तोष ‘कमेडी च्याम्पियन सिजन- १’ खुब हेर्थे । उनी सानैदेखि कमेडियन स्वभाव भएकाले पनि होला, कमेडी भन्नेबित्तिकै उनलाई रमाइलो लाग्थ्यो । अनि, ‘सिजन- २’मा भाग लिने सोच बनाए । आवश्यक प्रक्रिया पूरा गरे र भाग लिए । ‘म सानैदेखि स्कुलमा पनि क्यारिकेचर गर्थें, रमाइलो गर्नुपर्छ भन्ने लाग्थ्यो । सिजन- १ त पूरै गरेको छु अनि सिजन- २ सुरु हुने थाहा पाएपछि भाग लिऊँलिऊँ लाग्यो । अहिले यो ठाउँमा आइपुगेको छु’, उनी भन्छन् ।