पुरिन्द्र रावल | दृष्टिकोण | भदौ १५, २०७८
लोकतान्त्रिक व्यवस्थाभित्रका धेरै उत्तम प्रणालीमध्ये एक प्रणाली मानिन्छ संसदीय प्रणाली । यो प्रणालीको जननी बेलायत मानिन्छ । बेलायतमा सफल रहेको यस प्रणाली नेपालमा पनि विगत लामो समयदेखि प्रवेश पायो र त्यसको अभ्यास भइरहेको छ । बेलायतबाट सुरु भएको यो प्रणाली सिधै भन्दा भारत हुँदै नेपाल प्रवेश गरेको हो ।
नेपालको संसदीय प्रणालीको इतिहास धेरै लामो नभए पनि करिब ४-५ दशकदेखि अभ्यास भइरहेको छ । यो अभ्यासको क्रममा पटक पटक संसदीय व्यवस्थामाथि नै प्रश्न उठेका छन् । यसरी हेर्दा राजनीतिक नेतृत्वमा देखिएको चरम सत्तामोह र स्वार्थका कारण पनि विगतमा पटक पटक प्रश्न उठे भने अहिले पनि उठिरहेका छन् । अर्थात् नेपाली जनताले संसदीय प्रणालीको सौन्दर्यलाई उपयोग गर्न पाइरहेका छैनन् । अर्को भाषामा भन्ने हो भने उत्तम प्रणालीको रूपमा स्वीकार गर्न सकिरहेका छैनन् ।
कुनै पनि प्रणालीको राजनीतिक, सामाजिक र आर्थिक लक्ष्य हुन्छ । संसदीय प्रणालीले राख्ने गरेका राजनीतिक, सामाजिक र आर्थिक लक्ष्य हासिल हुन नसक्नासाथ प्रणालीमाथि प्रश्न उठ्नु स्वाभाविक हो । नेपालको अभ्यासमा संसदीय प्रणालीको प्रमुख विशेषता भनेको जनताप्रति उत्तरदायी सरकारलाई मानिन्छ ।
नेपालको सन्दर्भमा केलाई उत्तरदायी मान्ने कुरामा नै विवाद हुने गरेको छ । सरकारमा हुँदा उत्तरदायीको परिभाषा फरक हुने र सत्ताबाहिर हुँदा फरक देखिएका कारण पनि संसदीय व्यवस्थामाथि प्रश्न उठ्न सहयोगी भूमिका खेलिरहेको छ । जनता रोगले भन्दा भोकले मरिरहेका छन् । एक छाक टार्न र एक सरो नयाँ लुगा लगाउनका लागि हजारौँको संख्या प्रत्येक दिन देश छाड्न बाध्य छ ।
विश्वव्यापी महामारीका कारण जनताले सिटामोलसम्म सहज रूपमा नपाइरहँदा उत्तम व्यवस्थामाथि प्रश्न उठ्नु स्वाभाविक हो । अर्को कुरा, जनतामा आधारित सरकारका बारेमा पनि प्रश्न उठ्ने गरेका छन् ।नेपालको वर्तमान सरकारलाई 'जनादेश' कि 'परमादेश'को सरकार भन्ने विवादले लोकतन्त्रलाई नै गिज्याइरहेको छ । यस्तायस्ता धेरै कारण छन्, जसले संसदीय प्रणालीमाथि नै यक्ष प्रश्न जन्माइदिएका छन् । यसले उत्तम भनिएको प्रणाली र सौन्दर्यमाथि नै दाग लागिरहेको छ ।
प्रणाली माथि नै प्रश्न उठ्नुमा व्यवस्था भन्दा पनि नेतृत्व गर्ने पात्रको सोच व्यवहार, उसको संस्कृति र उसको भूमिका मुख्य त जिम्मेवार हुने गर्छ । समाज विकास क्रममा इतिहासमा यस्ता पात्रहरू कहिले बलवान् बन्दै उदाउने र कालान्तरमा अस्ताउने गरेका छन् ।
वर्षमा २-३ पटक सरकार परिवर्तनको बोझले थिलथिलो भएका नेपाली जनताले करिब दुई तिहाइ बहुमत दिँदा पनि पूरा कार्यकाल सरकार नटिक्दा पनि यो प्रणाली माथि प्रश्न जन्मिनु स्वाभाविक हो ।हामीले आजको राजनीतिक प्रणाली र मुल्यको चर्चा गर्दा यो हेक्का राख्न जरुरी छ कि कुनै पनि राजनीतिक मूल्य स्थिर, स्थायी र सार्वकालिक हुँदैनन् ।
समाजको विकास, जनताको चाहना र राष्ट्रियता आवश्यकताअनुसार मूल्यहरू पनि विकसित र परिवर्तन हुने गर्छन् । नेपालको सन्दर्भमा केवल संसदीय प्रणालीमा जेलाई उत्तम मानिएको हो । त्योभन्दा पनि अगाडि बढेर उत्कृष्ट मूल्यहरूको खोजी गर्न ढिला भएको त होइन ?
शिक्षा, स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी दिने मूल्य निर्माण आजको टड्कारो आवश्यकता हो । यसमा जबसम्म राज्यको ध्यान पुग्न सक्दैन, तबसम्म जतिसुकै उत्तम भनिएको प्रणाली भने पनि प्रश्न उठ्छ नै ।
प्रणालीमाथि नै प्रश्न उठ्नुमा व्यवस्थाभन्दा पनि नेतृत्व गर्ने पात्रको सोच व्यवहार, उसको संस्कृति र उसको भूमिका मुख्य त जिम्मेवार हुने गर्छ । समाज विकास क्रममा इतिहासमा यस्ता पात्रहरू कहिले बलवान् बन्दै उदाउने र कालान्तरमा अस्ताउने गरेका छन् ।
व्यक्ति असल, इमान्दार र नैतिकवान् हुने हो भने प्रणालीमा रहेका खराबीलाई न्यूनीकरण हुन जान्छ र प्रणालीमाथि कम प्रश्न उठ्ने गर्छ । यदि हुँदाहुँदै पनि पात्रका साथमा प्रणालीका पनि दोषहरू हुने गरेका छन् ।प्रणाली कि पात्रको दोष भन्ने कुरामा पनि समय समयमा बहस हुने गरेको छ । पात्रको भन्दा प्रणालीको दोष देख्नेहरूले पात्र प्रधान हुन्थ्यो भने विश्वका ठूलाठूला क्रान्ति, आन्दोलन र विद्रोहले किन सफलतालाई आधार मान्ने गरेका छन् ? दास युगदेखि सामन्ती र साम्राज्यवादी प्रणाली परिवर्तन गर्नुको कुनै औचित्य र आवश्यकता हुने थिएन भनेर तर्क अगाडि सार्ने गरेका पाइन्छ । निश्चय नै कुनै पनि प्रणालीभित्र विकास र सुधारका संभावना हुन्छन् तर जति नै सुधार गरे पनि प्रणालीले थेग्न नसक्ने भई सकेपछि रूपान्तरण वा परिवर्तनको आवश्यकता हुन्छ ।
आजसम्मका व्यवस्था परिवर्तनले यही कुरालाई प्रतिनिधित्व गर्छ । विश्वको कुरा छाडौँ, नेपालकै संसदीय प्रणालीको अभ्यासलाई हेर्दा पनि अनेकौँ प्रयोगका बाबजुद पनि संसदीय व्यवस्थामाथि यक्ष प्रश्न उठिरहेका छन् ।यो प्रणालीले असल पात्रलाई पनि निषेध गर्ने व्यवस्थाका रूपमा चित्रण गरेको छ ।
अतः प्रणालीको आधारभूत चरित्रमै आमूल परिवर्तनको आवाज उठ्न थालेको छ । जनताको चाहाना र देशको आवश्यकता प्रणालीको आधारभूत चरित्रमै आमूल परिवर्तन आजको आवश्यकता हो । लोकतान्त्रिक व्यवस्थामा मुख्य केन्द्र देश र जनता हुने आधारभूत चरित्र विकास गर्न जरुरी भइसकेको छ ।
मुख्य केन्द्र देश र जनता हुने आधारभूत चरित्र विकास नगर्ने हो भने यो प्रणालीले लोकतन्त्र र जनता आवश्यकतालाई धान्न सक्दैन । जनताले विकल्प खोज्न बाध्य हुनेछन् ।